शनिबार, आश्विन १७ गते २०८३

आमा बिरामी परिन्  

श्रावण १६, २०७८ शनिबार
आमा बिरामी परिन्   

acharyatrilocha.jpg

त्रिलोचन आचार्य

 (कमरेड पुष्पलालको ४३औं स्मृति दिवसको उपलक्षमा आयोजित कबिता बाचन कार्यक्रममा श्रावण १५ गते पढिएको कबिता) 

भन्छिन् दुख्दछ लम्पिया जिउभरी काँडा उमारीकन

भन्छिन् साँध बनेर ऐँठन बस्यो दुख्दैछ मेरो तन

कैले माथ समेत दुख्दछ भनी चिन्ता असाध्यै गरिन्

घट्ला भन्छु व्यथा घटेन कहिल्यै, आमा बिरामी परिन् ।

                     ।१।

भोका सन्तति छन् भनेर कहिले चिन्ता लिने बेसरी

बाढीले घरबार बग्छ ननिको पीडा दिने यो झरी

रातो बाकस आउँदा सकस भै मुर्छा नराम्रो परिन्  

भन्छिन् खान्छ कटक्क यो मुटु सधैँ, आमा बिरामी परिन् ।

                        ।२।

मागेरै घर धान्नुपर्छ सहने, यो लाज मैले कति ?

ए ! ल्यायौ भिख माग्न गैकन कठै,  भन्छिन् दिँदा ओखति

देखेरै झगडालु मानिसहरू धिक्कार भन्दै झरिन्

छन् बेहोस बढेर दर्द दिलमा, आमा बिरामी परिन्   ।

puspalal kabita.jpg

                     ।३।

नानी पढ्न भनी गए पर परै मान्छिन् नियास्रो उनी

तन्नेरी दरबान बन्न दगुरे गर्छिन् गुनासो उनी

यस्तो भो उपचार छैन कि कसो, साह्रै निराशा भरिन्

कैल्यै हुन्न मुहार झल्ल बहुतै, आमा बिरामी परिन् ।

                     ।४।

आफ्ना तीन करोड छन् तर सबै मागेर खाने भए

सुर्को खेत छ त्यै समेत रिपुले खोसेर लाने भए

नामर्दी अनुहार छन् घर भरी भन्दै दु:खेसो छरिन्

कैले हो उपचार खै ? गलित झन्, आमा बिरामी परिन् ।

                     ।५।