बुधबार, भाद्र ३ गते २०८३

डेढ अर्बको लागतमा कागज उद्योग स्थापना हुँदैः दैनिक ७५ टन उत्पादन गर्ने लक्ष्य

श्रावण ११, २०७८ सोमबार
डेढ अर्बको लागतमा कागज उद्योग स्थापना हुँदैः दैनिक ७५ टन उत्पादन गर्ने लक्ष्य

 

 महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्ब पचास करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश भएको छ । आज आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिजको सुरुवात गरेका हुन । 

अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ वालीलगायतको सो उद्योगमा लगानी रहेको छ । उनीहरुले आज संयुक्तरुपमा उद्योग स्थापनाको शिलान्याश गरेका हुन । आइएमई समूहद्वारा प्रवद्र्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ । उद्योगलाई आवश्यकपर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम शुरु गरिने जनाइएको छ । 

उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमता रहने जानकारी पनि सो अवसरमा दिइयो । उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा एक सय जनाले तत्काल रोजगार पाउने बताइएको छ । सो समारोहमा उद्यमी ढकालले एक वर्षमा कारखाना भवन निर्माण भएसँगै उत्पादन थालिने जानकारी दिए । नेपालमा कागज उत्पादनको क्षेत्रमा काम गरिरहेका वरिष्ठ र अनुभवी व्यवसायीहरूको संलग्नतामा सञ्चालन हुने यस कारखानाबाट नेपालमा हुने कागजको आयातलाई प्रतिस्थापन गरिने बताए । 

नेपालमा ‘फिनिक्स प्रडक्ट’ नै दिने यस्तो खालको उद्योग पहिलो पटक स्थापना हुन लागेको छ । यसबाट नेपालमा अहिलेसम्म हुने गरेको कागजको आयातलाई प्रतिस्थापन हुने अपेक्षा गरिएको छ ।  
आफ्नो ठाउँमा नयाँ उद्योग स्थापना हुन लागेकामा रामनगरबासी उत्साहित देखिएका छन् । रामनगरमा यसअघिदेखि नै एभरेष्ट सुगर ऐण्ड केमिकल इण्ड्रष्ट्रिज सञ्चालनमा छ ।