
चन्द्रमणि गाैतम
टोनी हागन (१९१७–२००३), स्वीस भूगर्भविद् । २००७ सालपछि अत्यन्त बिकट त्यस बखतको नेपालको १४ हजार किलोमिटर पूर्व–पश्चिम यात्रा गरेका, धेरैपटक नेपालका विकट गाउँमा पुगेर नेपालको भूगोल, भूगर्भ र सामाजिक संरचनाको अध्ययन गरेका लब्धप्रतिष्ठित व्यक्तित्व हुनुहुन्थ्यो । जीवन–सन्ध्यासम्म नै उहाँ नेपाल आइरहनु भयो ।
पत्नी, एक छोरा र २ छोरीलाई स्वीट्जरल्याण्डमै छोडेर महिनौँसम्म नेपालमा बिताउने गरेका टोनी हागेनलाई पत्नी गेरट्रुडले ठट्टाका साथै झर्केर भन्ने गर्नुहुन्थ्यो रे, “तिमीले मसँग होइन नेपालसँग बिहे गरेका रहेछौ । अनि मसँग तिमीलाई बस्न केको मन लागोस् ?”
म काठमाडौँ महानगरपालिकाको एक सल्लाहकारका रुपमा कार्यरत रहँदा एकदिन मैले तत्कालीन मेयर पी.एल.सिंहलाई टोनी हागेनलाई सम्मान दिने कार्यक्रम राखौँ भनी सुझाएको थिएँ । त्यो सुझाबलाई उहाँले यति सहर्ष लिनुभयो कि त्यसपछि टोनी कहाँ छन् भनी सोधखोज शुरू भयो । पछि थाहा भयो उहाँ जेठ २०५२को अन्त्यतिर बाँग्लादेशबाट काठमाडौँ आउनुहुने रहेछ । सोही महिनाका असार ५ गते काठमाडौँ महानगरपालिकाले काठमाडौँका लब्धप्रतिष्ठित नागरिकको रुपमा सम्मान गर्ने कार्यक्रम याक एण्ड यति होटलमा आयोजना हुँदा मेयर सिंहले बोल्ने क्रममा मलाई जस दिँदै सर्वप्रथम सुझाब दिएको उल्लेख गर्नुभयो, जसलाई प्रत्युत्तर भाषणमा टोनीले पनि मलाई धन्यवाद दिनुभयो ।
कार्यक्रम सकिएपछि उहाँले मलाई फोटो खिँच्न बोलाउनु भयो । त्यसपछि पनि टोनीसँग नेपाल आएका बेला २ पटक भेट भएको थियो । नेपाललाई १४ अञ्चलको प्रशासकीय विभाजनमा लैजाने सल्लाह उनैको हो भनिन्छ । नत्र राजा महेन्द्र प्रा. उपेन्द्रमान मल्लको सात अञ्चलको अवधारणातिर लागेका थिए रे।
सन् २००३ को अप्रिल १८ मा उहाँको निधन भयो ।
साभार - चन्द्रमणि गाैतमजीकाे वालबाट