कमरेड पुष्पलालले गठन गरेको नेपाल कम्युनिष्ट पार्टी दिवसबारे भ्रम सिर्जना गर्ने, पुष्पलालले अंगीकार गरेको सही नीति, बिचार र सिद्धान्तलाई छोड्ने, उनलाई गद्दार, साम्राज्यबादका दलाल, कँग्रेसको पुच्ँछर भनेर अनेकौं आधारहीन फत्तुर लगाएर खाशगरी निर्दलीय निरंकुश सामन्ती अधिनायकबादी ब्यवस्थाका बिरुद्ध बामपन्थी एकता, संयुक्तमोर्चा र संयुक्त जन आन्दोलनको निम्ति निरन्तर अबिचलरुपमा नेतृत्व प्रदान गर्दै क्रियाशील रहेका कामरेड पुष्पलालप्रति भ्रम सिर्जना गर्नेहरुले अहिले पनि उनीप्रति ओठे भक्ति देखाएर फोटो पूजा गर्ने तर उनले अघि सारेको नीति र कार्यम छोड्ने जुन काम गरिरहेको छन् त्यसले कम्युनिष्ट आन्दोलनलाई संसदीय घेरामा राख्ने र गुमराह गर्ने काम गरिरहेको छ । क्रान्तिकारी कम्युनिष्ट एकताका भाँजो हालिरहेको छ । कम्युनिष्ट आन्दोनलका मूल मुद्दाबाट जनताको ध्यान अन्यत्र मोड्न खोजिरेको छ । आज यस स्थितिलाई तोड्न आवश्यक छ ।
कमरेड पुष्पलालको ४३औं स्मृति दिबसको उपलक्षमा नेपाल कम्युनिष्ट पार्टी स्कुल बिभागले आयोजना गरेको ‘कमरेड पुष्पलाल, कम्युनिष्ट आन्दोलन र आजको अबस्था’ बिषय बिचार मन्थन जुम कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक कमरेड ऋषिराम कट्टेलले उक्त गम्भीर कुरा ब्यक्त गरेका हुन् । कम्युनिष्ट आन्दोलनलाई सही दिशा र गति दिने हो भने कमरेड पुष्पलालले दिएको नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनबाद, बामपन्थी एकता, संयुक्त मोर्चा र संयुक्त जन आन्दोलनको नीतिलाई दृढतासाथ पक्रिदै र समयानुकूल समृद्ध पार्दै क्रान्तिकारी कम्युनिष्टहरु एकजुट भएर अघि बढ्नुको कुनै बिकल्प छैन भन्ने कुरा उनले स्पष्ट पारे । यसो गर्न सकेमा मात्रै कमरेड पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हुने भावना उनले ब्यक्त गरे ।

उक्त कार्यक्रम सञ्चालन गर्दै नेपाल कम्युनिष्ट पार्टीका सह–संयोजक तथा स्कूल बिभाग प्रमुख लोकनारायण सुबेदीले कमरेड पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोनलले हल गर्नु पर्ने तीनवटा मूख्य मुुद्दा—सामन्तबाद, साम्राज्यबाद र भारतीय एकाधिकार पूँजीवादबाट नेपालको मुक्तिको समस्या हल नभइकन क्रान्ति सम्पन्न भयो भन्ने जुन ठूलो भ्रम र भ्रान्ति सिर्जना गर्ने गरिएको छ गरिदैछ यो देश र जनताालई यथास्थितिमा अल्मल्याउने र कम्युनिष्ट आन्दोलनलाई गुमराह गर्ने कुरा हो । यस्तो भ्रम र भ्रान्तिबाट मुक्त नभई कम्युनिष्ट आन्दोलन सही दिशामा कीमार्थ अघि बढ्न सक्तैन भन्ने कुरा प्रष्ट पारे । उनले देशको मूख्य उत्पादक शक्ति किसान क्रान्तिको मूख्य सहायक शक्ति हो, मजदुर बर्गको नेतृत्वमा किसान–मजदुर एकताको आधारमा सम्पूर्ण शोषित पीडित बर्ग र बर्ग स्तरलाई गोलबन्द गरेर बर्ग संघर्ष बिकसित नगरी नेपालको आधारभूत समस्या हल गर्ने दिशामा कम्युनिष्ट आन्दोनललाई गन्तब्यमा पुर्रयाउन सकिदैन भन्ने कमरेड पुष्पलालको बिचारलाई आजको सन्दर्भमा अझ बिकसित गरी बर्गीय शोषण र सामाजिक उत्पीडनमा परेका सम्पूर्ण शोषित पीडित जन समुदायको ब्यापक जन आन्दोलन उठाउनु पर्ने आबश्यकता औंल्याए ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)सँग आबद्ध अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का अध्यक्ष तथा मार्क्सबादी अर्थशास्त्र र दर्शनका बिशेष अध्येता कमरेड सीताराम तामाङ्गले लिखितरुपमा तथ्य तथ्यांक सहीत आफ्ना कुरा राख्दै र नेपाली समाजको चरित्रको ब्याख्या बिश्लेषण गर्दै नेपाली समाज नयाँ जनवादी क्रान्ति हुन नसकेको स्थितिमा अर्ध सामन्ती तथा अर्ध औपनिबेशिक स्थितिमा रहेको कमरेड पुष्पलालले जुन ब्याख्या गरेको थियो त्यस परिधिबाट बाहिर निस्कन नसकेको कुरा प्रष्ट पारेका थिए । तामाङ्गले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न पर्ने आवश्यकतामाथि प्रकाश पार्दै २००६ साल बैशाखमा जारी गरिएको पर्चा १५ सेप्टेम्बर १९४९ मा पार्टी स्थापना भएपछि जारी भएको घोषणपत्र लगायत त्यसपछि जारी भएका दस्ताबेजहरु र खाशगरी कमरेड पुष्पलाले नेपाली क्रान्तिका निम्ति प्रस्तुत गरेको नयाँ जनवादी कार्यक्रमबाट उद्धरण दिदै मार्क्स,एंगेल्स लेनिन, स्तालिन र माओबाट सही शिक्षा लिएर कमरेड पुष्पलालले नेपाली समाजका लागि दिएको नयाँ जनबाद, बैज्ञनिक समाजबाद र कम्युनिष्ट आन्दोलनप्रतिको मननीय र अनुकरणीय दृष्टिकोण र बिचार कसरी बनेको थियो भन्ने कुरा सुस्पष्ट उल्लेख गरेका थिए ।

बाम बिश्लेषक तथा कम्युनिष्ट आन्दोलन भित्रका बिकृति र बिसंगति बिरुद्ध खबरदारी गर्ने र औंला ठड्याउने गर्दै आएका ब्यक्तित्व कमरेड नरेन्द्रजंग पिटरले नेतृत्वप्रतिको अन्ध भक्ति र अज्ञानताका कारण बिगतमा आफुले पनि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाललाई गद्धार भन्न पुगेकोमा सहृदय गम्भीर पश्चाताप र आत्म आलोचना गर्दै ती क्रान्तिकारी नेताप्रति लगाइएको गलत र गम्भीर आरोपले कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुर्याएको बास्तबिकता दर्शाउँदै यतिबेला नेपालको कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा र यो आन्दोलनको पुनर्निर्माण गरिनु पर्ने र यसलाई सही धरातलमा खडा गरिनु पर्ने आबश्यकता औंल्याए । यसो नगरीकन नेपाली जनता र राष्ट्रप्रतिको जिम्मेवारी र कार्यभार यसले पूरा गर्न सक्तैन भन्ने कुरा औंल्याए ।
अर्का बाम बिश्लेषक तथा पूर्ब संबिधान सभासद कमरेड श्याम श्रेष्ठले कमरेड पुष्पलालमाथि लगाइएका अनर्गल र आधारहीन आरोपहरु गलत थिए र अन्ततः मिथ्या साबित भए भन्दै जसले नेपाल कम्युनिष्ट पार्टी गठन गर्यो, जसले तुफानी किसान आन्दोलन उठायो, जसले नेपाली क्रान्तिको कार्यक्रम दियो, जसले संशोधनबादी धारबाट पार्टीलाई जोगाउन संघर्ष गर्यो र पार्टीको क्रान्तिकारी प्रतिमालाई बचाउने काम गर्दैै पार्टीलाई जोगायो आन्दोनलको सही दिशा तय गर्यो उसमाथि आक्रमण गर्दा कसलाई सहयोग पुग्यो प्रष्ट छ भन्ने प्रश्न उठाए । उनले पुष्पलालाई सही परिप्रेक्षमा नबुझ्दा आन्दोनललाई नोक्सान भएको कुरा उठाए ।
पुष्पलाल अध्ययन समाजका अध्यक्ष कमरेड लोककृष्ण भटराईले समाज परिर्बनको सुस्पष्ट बिचार र नीति भएको कमरेड पुष्पलाल जस्तो अर्को कुनै नेता नेपालमा नभएको आफुलाई लागेको कुरा राख्दै नेपालको कम्युनिष्ट तथा बामप्रजातान्त्रिक आन्दोलनमा उनले खेलेको अतुलनीय भूमिका कसैले ढाकछोप गर्न सक्दैन भन्ने कुरा दर्शाए । उनले किसान आन्दोनल उठाएर आमूल सामाजिक परिबर्तन नल्याएसम्म पुष्पलालको सपना साकार हुँदैन भन्ने कुरा पनि औंल्याए ।
नेपाल प्रगतिशील बिद्यार्थी यूनियनका पूर्ब अध्यक्ष, बरिष्ठ अधिबक्ता तथा प्रेस काउन्सिलका पूर्ब अध्यक्ष कमरेड बोर्ण बहादुर कार्कीले कमरेड पुष्पलालको सन्तुलित क्रान्तिकारी बिचारले गर्दा नै उहा मुलुको जन आन्दोनल र कम्युनिष्ट आन्दोलनलाई पनि निरन्तर सही दिशा दिन र कस्तै कठिन परिस्थितिमा पनि अडिग र अबिचलित रहन सक्नु भएको हो भन्ने कुरा सदर्शाउदै नेपाली कम्युनिष्ट आन्दोलनको सिद्धान्त, संगठन र संघर्ष तीनै क्षेत्रमा कमरेड पुष्पलालको अतुलनीय योगदान रहेको कार्कीले उल्लेख गरे ।