शनिबार, आश्विन १७ गते २०८३

कमरेड पुष्पलालको सही नीतिले मात्र कम्युनिष्ट आन्दोलनको रक्षा र बिकास गर्न सकिने

श्रावण ८, २०७८ शुक्रबार
कमरेड पुष्पलालको सही नीतिले मात्र कम्युनिष्ट आन्दोलनको रक्षा र बिकास गर्न सकिने

कम्युनिष्ट आन्दोलनको रक्षा र बिकास कमरेड पुष्पलालको मार्गदर्शनमा मात्र हुनसक्ने अनुभवले सिध्द गरेको नेपाल कम्युिनष्ट पार्टीका नेताहरूले बताएका छन् । कमरेड पुष्पलालको ४३औं स्मृति दिबसको सन्दर्भमा २०७८ श्रावण ७ गते आयोजित जुम स्मृति सभामा उनीहरूले यस्तो धारणा ब्यक्त गरेका हुन् । उनीहरूले पुष्पलालको सही बाटो छोड्दा कम्युनिष्ट आन्दोलनमा बिकृति र बिसंगति आएको निष्कर्श निकाल्दै दक्षिण या उग्रपन्थको बाटो हिड्ने सबै प्रत्यक्ष परोक्षरूपमा कमरेड पुष्पलालको बिरूध्द रहेको र तिनीहरू देश र जनताका समस्या हल गर्न असफल भएको आजको परिदृष्यले प्रष्ट पारेको पनि उनीहरूले औंल्याएका छन् । 

plplpl.jpg
स्मृति सभामा बोल्दै नेकपाका संयोजक ऋषिराम कट्टेलले कमरेड पुष्पलालले अख्तियार गरेको सही बाटोबाट बिचलित हुँदा नै  नेपालमा शुरूदेखिनै यस आन्दोलनमा  कहिले दक्षिणपन्थी त कहिले उग्रपन्थी भड्काव देखिएको र अन्ततोगत्वा अबसरबाद र यथास्थितिमा पत्तन हुने गरेको दर्शाउँदै कमरेड पुष्पलालको सही बाटो सही किसिमले दृढताकासाथ पक्रेर मात्र नेपालको कम्युनिष्ट आन्दोलन सही दिशामा लान सकिने, जनता र रष्ट्रको हितमा यसको रक्षा र बिकास गर्न सकिने र यसका लागि सबै क्रान्तिकारी धारका कम्युनिष्टहरू एक हुनुपर्ने कुरामा जोड दिए ।


नेकपाका सह–संयोजक लोकनारायण सुबेदीले नेपाल र नेपाली जनताका मूख्य तीन समस्या रहेको जुन कुरा कमरेड पुष्पलालले पार्टीको स्थापना कालदेखिनै अघि सारेको थियो र २०२५ सालको  तेश्रो सम्मेलनले नेपालको समस्या भनेको देशीय सामन्तबाद, बैदेशिक साम्राज्यबाद र भारतीय एकाधिकार पूँजीवाद हो भनेर सुस्पष्ट पारेको थियो ती तीन समस्याबाट मुक्त नभै नेपाल र नेपाली जनताको मुक्ति र प्रगति हुन नसक्ने यथार्थ आजसम्मको स्थितिले प्रष्ट पारेको बताएका थिए । उनले नयाँ जनबादी क्रान्तिले हल गर्नुपर्ने समस्या हल नभइ देश बैज्ञानिक समाजबादको चरणमा प्रबेश गर्ने कुरा अबस्तुबादी मनोगत कुरा मात्र हो  भन्ने औल्याएका थिए ।
सचिवालय सदस्य रामबहादुर भण्डारीले पुष्पलालको सादा जीवन र उच्च बिचारको क्रान्तिकारी सरल जीवनशैली र सैध्दान्तिक दृढता र कार्यनीतिक चलकताको आचरण सुनउँदै उहाँ सबै क्रान्तकारीहरूको प्रेरणाको श्रोत भएको उल्लेख गरेका थिए ।
कमरेड पुष्पलालले प्रतिपादन गरेको संयुक्त जन आन्दोलको सही नीति बिद्यार्थी आन्दोलनको ब्यबहारमा परिलक्षित गराउन पाउँदा आत्म गौरब महसुश भएको सुनाउदै पार्टीका सचिवालय सदस्य कमरेड शरणबिक्रम मल्लले कमरेड पुष्पलालको सही नीतिनै नेपाली जन आन्दोनलको मूलबाटाे हो भन्ने प्रष्ट पारेका थिए ।

Netahoinniti.jpg
कार्यक्रममा सचिबालय सदस्यहरू रामदुलार महतो, सीता सुबेदी, डा मिश्री मण्डल, महेन्द्र जोशी तथा पार्टीका केन्द्रिय सम्मेलन तयारी समितिका सदस्यहरू अर्जुन कार्की, प्रबीण जोशी,बद्रीनाथ अधिकारी र सागरबीर कडारी र सहयोध्दा कमरेड एकलाल श्रेष्ठहरूले कमरेड पुष्पलालको नीति र बिचारलाई आत्मसात गर्न सकेमा मात्र कम्युनिष्ट आन्दोलनले सही दिशा पाउने र सफल हुने बताउदै यस आन्दोलनमा ब्यापक क्रान्तकारीहरूलाई समेट्नुपर्ने आवश्यकता रहेको औल्याएका थिए ।
कार्यक्रममा कमरेड पुष्पलालको सामिप्यमा लामो समय बनारसमा  रहँदाका आफ्ना अमूल्य अनुभवहरू सुनाउँदै नेकपाका बयोबृध्द सल्लाहाकार शिव भटराइले दृष्टिकोण, बिचार, सिध्दान्त र ब्यबहार हर किसिमले पुष्पलाल देश र जनताप्रति अत्यन्तै समर्पित, दृढ निश्चयी र अदम्य साहस भएका दूरदर्शी नेता  थिए भन्ने कुरा उल्लेख गरे र  उहाँबाट धेरै कुरामा प्रेरणा लिन सकिने बताएका थिए ।