बुधबार, भाद्र ३ गते २०८३

साइबर हमलाको चेतावनीले बैंक तथा वित्तीय क्षेत्रमा सनसनी

श्रावण ७, २०७८ बिहीबार
साइबर हमलाको चेतावनीले बैंक तथा वित्तीय क्षेत्रमा सनसनी

 

नेपाल राष्ट्र बैंक र अन्य १५ वाणिज्य बैंकमाथि साइबर हमलाको चेतावनी आएपछि वित्तीय क्षेत्रमा सनसनी मच्चिएको छ । बुधबार विभिन्न बैंकहरुलाई अनलाइनमार्फत बैंकहरुमा साइबर हमला गरी पैसा चोर्ने धम्की सहितको पत्र आएको थियो । बिहीबार बिहान राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई नम्बर नखुलेको अन्तर्राष्ट्रिय कलमार्फत फोन आयो । त्यसपश्चात् नेपाल राष्ट्र बैंक लगायत बैंक तथा वित्तीय संस्थाका आइटी विभागमा निगरानी बढाइएको छ । प्रवक्ता ढकालले सबै वित्तीय संस्थाहरुलाई सतर्क रहन सूचित गरिसकिएको जनाएका छन् । 

ह्याकिङको धम्की दिने पक्षले बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने कुरालाई मजाकको रुपमा नलिन भनेको छ। ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख छ। 

बिहीबार अपरान्हसम्म कुनैपनि बैंक तथा वित्तीय संस्थाले आफ्नो प्रणालीमा कुनै पनि किसिमको अवाञ्छित गतिविधि नभेटिएको जनाएका छन् । उनीहरुले आफ्नो सिस्टममा सशक्त फायरवाल रहेको र  कहीँकतै असहज कारोबार हुने बित्तिकै त्यसलाई ट्रयाक गर्न सकिने गरी सबै सक्रिय रहेको जनाएका छन् ।