मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षका लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । ‘हामीले हलोदेखि हाइड्रोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौं, सोही अनुरुप सबैभन्दा बढी चुक्तापुँजी र शेयरधनी भएको बैंकको रुपमा मेगा बैंक स्थापना भयो । त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रुपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका छौं,’ अध्यक्ष शाहले भने– ‘राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, उर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रबर्धन गर्ने, उत्पादनमुलक तथा रोजगारमुलक उद्योग व्यवसायमा मेगा बैंकको लगानी केन्द्रीत गर्छौं ।’
मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले संस्थापक, शेयरधनीहरु, संचालक समिति, ग्राहकहरु, नियामक निकाय, कर्मचारीवर्ग र सरोकारवालाहरुहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण ११ औं बार्षिकोत्सवसम्म आइपुग्दा मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रामा सफलता हासिल गरेको जनाइन् । छोटो समयमै वित्तीय बजारमा अलग्गै पहिचान र ब्राण्ड बनाउन सफल भएकोमा खुसी लागेको बताउँदै उनले बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण रहेको जनाइन् ।
आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै मेगा बैंकले ग्राहकहरुलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा प्रदान गरिरहेको सिइओ खुञ्जेलीले उल्लेख गरिन् ।
बितेको ११ बर्षमा बैंकको पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भएको छ । देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले छैठौं स्थानमा छ । २०७८ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रहेको छ । मेगा बैंकले १७ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका १ सय ७८ शाखा सञ्जाल, १ सय ३७ वटा एटीएम, ३३ वटा एक्टेन्शन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवामार्फत १२ लाख ४० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । छिट्टै नै बैंकका थप १४ वटा शाखाहरु सञ्चालनमा आँउदैछन ।
सिन्धुपाल्चोक र मनाङका बाढिपहिरो पीडितलाई आर्थिक सहयोग
बैंकले ११औं बार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैंया आर्थिक सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैंया र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैंया सहयोग गरेको हो । २०७८ असार १ गतेको बाढी पहिरोबाट ठूलो क्षति सहित प्रभावित बनेका चामे र हेलम्बुको प्रभावित क्षेत्रमा मेगा बैंकको पनि शाखा रहेकोले स्थानीय समुदाय एवं समाजप्रतिको उत्तरदायित्व बहन गर्दै सो क्षेत्रका समुदायलाई केही सहयोग होस् भन्ने उद्देश्य अनुरुप स्थानीय सरकारमार्फत आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ ।
