स्मरणमा पुष्पलाल

इन्द्रनारायण सुबेदी
(मन्दाक्रान्ता)
जन्मे धेरै यस मुलुकमा क्रान्तिका अग्रदूत।
श्रद्धा निष्ठा अनुपम हुने वीर योद्धा सपूत।
त्यस्तो यौटा युग पुरुष हो चेतनाको हिमाल।
बोकी हिँड्ने गति मुलुकको शैल झैँ पुष्पलाल।१।
कैल्यै आफ्नो अडिग पथमा हार मान्दै नमानी
नेपालीको प्रगति हितमा मात्र विश्वास ठानी।
दायाँबायाँ वरिपरि हुने विघ्न बाधा कराल।
निल्दै हिँड्ने युग पथिकको नाम हो पुष्पलाल।२।
अत्याचारी अहितकर ती देशघाती व्यवस्था ।
सत्ताधारी सुखसयलमा तैरिएको अवस्था ।
तोड्दै जाने अनय सब ती लक्ष्य बोकी विशाल।
जोधा योद्धा अथक बटुवा दक्ष हो पुष्पलाल।३।
होचा अग्ला अनधिकृत ती भिन्नता भेदभाव।
मान्छे मान्छे सरह नहुने वर्गभेदी प्रभाव ।
फ्याँकी कालो कसर जनमा लादिने झेल जाल।
बाटो खोज्दै गतिमय हुने दीप हो पुष्पलाल।४।
भोका नाङ्गा कठिन दिनका जिन्दगी झेलिएका।
भ्रष्टाचारी कटु दमनका गर्तमा हेलिएका।
खोजी गर्ने अवतरणको ज्योति यौटा विशाल ।
ज्यूँदो जाग्दो अमर धरती पुत्र हो पुष्पलाल।५।
जोत्ने खन्ने श्रमिक अथवा जोसुकै कामदार।
ज्यालादारी मजदुरहरू पिल्सिँदा बारबार।
खोजी गर्ने हित र हकको कालका निम्ति काल।
नेपालीका मन हृदयको ज्योति हो पुष्पलाल।६।
पुरानो डायरीबाट