‘विश्वेश्वर प्रसाद कोइराला’ वीपी, नेपालमा राजा महेन्द्र पछिकै सर्वाधिक सुपरिचित नाम हो । युनिभर्सिटिमा पढ्दा राष्ट्रिय विकास सेवा अन्तर्गत म मुगु जिल्लामा गएको थिएँ । यो विसं २०३४ सालको कुरा हो । त्यो दुर्गम ठाउँमा पनि तत्कालका प्रधानमन्त्री कीर्तिबाबु भन्दा वीपी जनचर्चामा हुनुहुन्थ्यो । यद्यपि उहाँ सत्तामा हुनुहुन्नथ्यो। नेपाली प्रजातन्त्रको लडार्ईमा उहाँ आफ्नो किसिमले अग्रणी हुनुहुन्थ्यो र राजाकै हारहारीमा चिनिनुहुन्थ्यो। जब पञ्चायती व्यवस्थाको बैंश चढ्दै गयो राजालाई राष्ट्रनायकको रुपमा बेलाकुबेला प्रचारित गराइयो । ठीक यसै बेला नेपाली काँग्रेसले आफ्नो सान्दाई (वीपी) लाई जननायकको रुपमा प्रचार गर्न पछि परेन।
यसरी नै नेपाली जनताबीच बहुचर्चित ‘क.पुष्पलाल’ अर्को नाम हो । आफ्ना परिवारका माईला छोरा, अमर शहीद गङ्गालालका सहोदर माहिला भाई, सारा पार्टी कार्यकर्ताका सहोदर माइल्दाइको रुपमा प्रिय हुनुहन्थ्यो । उहाँलाई पनि आम कार्यकर्ताले सार्वजनिक ठाउँमा जननेताको रुपमा सम्मान दिन्थे ।
जेहोस् बीपीका सार्वजनिक भाषण जनमत संग्रहताका धेरै पटक सुन्न पाए पनि मेरो प्रत्यक्ष भेट एक पटक मात्र भएको छ, त्यसबखत २०३५-०३६ सालको संयुक्त ऐतिहासिक विद्यार्थी आन्दोलनले विद्यार्थीका सांगठानिक, शैक्षिक लगायत विद्यार्थी हितसंग जोडिएका सर्वाधिक महत्वका माग पूरा गराई सफलता प्राप्त गरिसकेको थियो । "समान लक्ष्य र साझा उपलब्धी प्राप्तिका लागि एक भएर लड्नु पर्दछ"- भन्ने क. पुष्पलालको नीति सार्थक भएको थियो । र मेरा विद्यार्थी आन्दोलनका सहकर्मी, ने.वि.संघका नेता बलबहादुर के.सी.ले प्रायः भन्ने गर्थे–"वास्तवमा तिमीहरुको नीति सफल भयो !” किनकि त्यसताका काँग्रेस र कम्युनिष्टहरु एक पाईलासम्म पनि संगसँगै हिड्ने अवस्थामा थिएनन् । पुष्पलालको संयुक्त जनआन्दोलनको नीति विरुद्ध दरबारद्वारा धेरै स्वनामधन्य क्रान्तिकारी र प्रजातान्त्रिकहरु दुवै धुरीबाटहरु परिचालित भइरहेका थिए र नेविसंघसँग मिलेर आन्दोलन गरिने कुरा उठ्दा साथ् कांग्रेसको पुच्छर भनी प्रचारबाजी गरिरहन्थे, यसरी नै चीनमा पानी पर्दा यहाँ छाता ओढ्ने" भने हल्ला गर्न चुक्दैनथे।
२०३५ साल चैत्र २७ गते संयुक्त संघर्ष समिति गठन गरी २४ सुत्रिय शैक्षिक लगायत स्वतन्त्र विद्यार्थी युनियनको गठन गर्न पाउने माग राखी आन्दोलनको घोषणा गरियो। यसले उपत्यकाका तत्कालिन २५ वटै क्याम्पसमा पठनपाठन स्वतस्फुर्त ठप्प भयो। यसको संदेश देशब्यापी फैलने पक्का थियो। यसबाट आत्तिएर संयुक्त आन्दोलनलाई अप्रिय मान्ने, आफुलाई प्रजातन्त्रवादी, प्रगतिशील र पंचायती व्यवस्थाका पक्षमा उभिन रुचाउने त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरु एकैसाथ् भइ सर्वश्री युगलकृष्ण मल्ल, दयानन्द बज्राचार्य, त्रिलोक चन्द्र मजुरिया, वासुदेव त्रिपाठी, नारायणहरि जोशी, देवेन्द्रराज मिश्र, राममान श्रेष्ठ, योगरत्न स्थापित, राजेश्वर प्रकाश मानन्धर, शंकरराज पन्त, डा माधवराज पाण्डे, प्रेमरमण उप्रेती, कृष्णकान्त अधिकारी, मंगलसिद्धि मानन्धर, चन्द्रबहादुर श्रेष्ठ, नरेशमान सिंह, लोकराज बराल, उपेन्द्रमान मल्ल, चुडामणि बन्धु 'नेपाली', डा. छविलाल गजुरेल, डा. शिव प्रसाद धौमडेल, ध्रुवमान सिंह, हरिदेव मिश्र, शारदाप्रसाद भट्ट, ताराहाडा चौधरी, युगेश्वर प्रसाद वर्मा,बल्लभमणि दाहाल र हितनारायण झा २८ जनाले -"केही अवाञ्छनीय हेतुले प्रेरित व्यक्तिहरुले बिद्यार्थी हितप्रति दुराग्रही प्रबृत्ति राखी फैलाएको भ्रमपूर्ण गतिविधिलाई बिद्यार्थीहरुले समयमै बुझ्नु आवश्यक छ" भन्दै पढाई चालु राख्न आग्रह गरी बक्तब्य निकालेका थिए। (नेपालको राजनीतिक दर्पण,जनमत संग्रह र त्यसपछि-ग्रीष्म बहादुर देवकोटा,पृष्ठ ८ )
यद्यपि २०१७ साल पछि काँग्रेस कम्युनिष्ट समर्थित विद्यार्थीहरुले दर्जनौ आन्दोलन उठाए, आन्दोलनलाई सफलताको संघारैसम्म पनि पुर्याए तर "गोबरे र खरानी", "भारतका र चीनका दलाल" भनी एकअर्कालाई आरोप लगाई आपसमा लडेर 'हात लाग्यो फुस्स' भएर आन्दोलनले कटु शिक्षा दिइसकेको थियो। यस अर्थमा पनि २०३६ सालको विद्यार्थी आन्दोलन कमरेड पुष्पलालले प्रतिपादन गरेको संयुक्त आन्दोलनको सफल र कारगर परिणति थियो। आन्दोलनलाई पंचायतवादीहरुले पचाउन सकेनन् । संयुक्त विद्यार्थी आन्दोलनले, संयुक्त संघर्ष समितिका नेताहरु बल बहादुर केसी, कैलाश कार्की, शरण विक्रम मल्ल र शाही आयोग बीच भएको जेठ ७ गतेको सम्झौताले राष्ट्रिय स्तरमा स्वतन्त्र विद्यार्थी संगठन गठन गर्ने अधिकार मात्र प्राप्त गरेन कि सरकारी संरक्षणमा एकक्षत्र पुल्पुल्याएर हुर्क्याईएको राष्ट्रवादी विद्यार्थी मण्डल नाम गरेको संगठनलाई पनि विघठन गरिदिएको थियो। यसको परिणाम विघठित मण्डलका देशव्यापी रुपमा रहेका सक्रिय ५० हजार सदस्यहरु रातारात क्रान्तिकारी नारा उचालेर, संयुक्त आन्दोलका विरोधी रहेका, संयुक्त आन्दोलनले केवल कांग्रेसीलाई फाईदा दिन्छ, बरु हाम्रा अधिकार प्राप्त नहोस् भनी सोचाई राख्ने, परोक्षरुपमा अधिनायकवादी पंचायतलाई नै मलजल गरिरहने, तर आफुलाई क्रान्तिकारी भन्न रुचाउनेहरुको छाता मुनि ओत लिन पुगे । यी सबै उग्र क्रान्तिकारी बनेर नेविसंघका नेता बल वहादुर केसी र मलाई विक्रम संवत २०३६ साल जेठ ९ गते बुधवार, कालोमोसो दली अमृत साईन्स कलेजबाट निकाली ठमेल, ठहिटी, किलागल, ईन्द्रचोक, जुद्धसडक हुँदै नयाँसडक गेटमा पुर्याएपछि मात्र प्रहरीले लाठी चार्जगरी हामीलाई हुलबाट बचाएको नाटक गर्यो । यो घटना परिचालन शुरुदेखि अन्त्यसम्म पूर्व मण्डलकी नेत्री, युवा पंच उर्मिला श्रेष्ठ, नेगुविका असई युवराज बेलबासे र नेपाल ल क्याम्पसमा सर्टिफिकेटका विद्यार्थी वलराम समाल नामकाले गरेका थिए । केही वर्ष पछि वेलवासेको मोटरसाइकल एक्सिडेण्ट र समालको सुस्त मनोरोगी भै यी दुईकॊ दुर्दान्त र रहस्यात्मक मृत्यु भयो, यसमा सत्य केहो कसैको ध्यान गएन।
विद्यार्थी आन्दोलन देशव्यापीरुपमा चर्केर जाँदैगर्दा आन्दोलनको बहिष्कार गरेर आएका शक्तिलाई औडाहा चल्यो। संयुक्त संघर्ष समितिमा बस्न नमानी बहिस्कार गरि हिँडेका, कांग्रेसीलाई मात्र फाइदा पुग्छ भनी सोचाई राख्ने तर आफुलाई क्रान्तिकारी भन्न रुचाउने यिनीहरुले पनि समानान्तर संघर्ष समिति बनाएका थिए। बिद्यार्थी आन्दोलनको सम्वन्धमा आवश्यक छानबिन र आन्दोलनकारीसँग वार्ता गर्न राजा बिरेन्द्रबाट बैशाख १९ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश घनेन्द्रबहादुर सिंहको अध्यक्षतामा सर्वोच्चका न्यायाधीश सरदार ईश्वरीराज मिश्र, राष्ट्रिय पंचायतका तत्कालिन उपाध्यक्ष लोकेन्द्र बहादुर चन्द, भू.पू. मन्त्री सुरेन्द्र बहादुर बस्नेत, तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति सूर्य बहादुर शाक्य सहित पाँच सदस्य शाही जाँचबुझ आयोग गठन भइसकेको थियो। शाही आयोगको गठनपछि यस कथित संघर्ष समितिले २०३६ साल बैशाख २६ गते पाटन मंगलबजारमा एक सभाको आयोजना गरि वक्ताहरुले आफ्ना कुरा राख्नुका साथै पर्चा समेत वितरण गरे-"शाही आयोगसँग वार्ता गर्नु जरुरी छ। नाराबाजी र संघर्षबाट समस्या जटिल बनाउँदै जानु भन्दा कुराकानी गरि समस्या सुल्झाउन बान्छनीय हुनेछ। "(जनदूत दैनिक, २०३६ बैशाख २७, बिहिवार) सरकारी ईशारामा, यिनीहरुले जसरी भए पनि मीठा कुरा गरेर आन्दोलनलाई गुमराह गराउन असफल प्रयत्न गरिरहेका थिए।
आज सम्म विद्यार्थीलाई आपसमा नै जुधाई आन्दोलनलाई बिचैमा तुह्याउन सफल सत्ताधारीहरु यस पटकको संयुक्त विद्यार्थी आन्दोलनबाट तर्सनु स्वभाविक थियो। र भोलिका दिनमा फेरि संयुक्त आन्दोलन कसैले नउठाओस् – यो चेतावनी दिन पनि यो घटना घटाइएको प्रष्ट थियो । यस सन्दर्भमा हामी माथि गरिएको प्रयोगबाट प्रतिगामी तत्व केही हदसम्म सफल पनि भयो । हाम्रो पनि कमजोरी रह्यो, सावधानी पनि पटक्कै लिइएको थिएन। त्यस दिन हामी एक्लाएक्लै नगई दश-बीस जनामात्र आफ्ना साथीहरु लिएर गएको भए, हाम्रा कुरा राख्न कसैले रोक्न सक्ने स्थिति हुने थिएन र यो घटना घट्ने थिएन, राजनीतिले शायद अर्कै बाटो लिन्थ्यो होला । मुलत हामीमा बेशी आन्दोलनको उपलब्धी "न भूतो न भविष्यति" जस्तो भएकोमा अति विश्वासको कारण नै पनि मण्डलेहरुले यो घटना घटाउन सफल रहे । एउटै संघर्ष समितिमा रहेका नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसनका नेता कैलाश कार्कीले प्रशासन र मण्डले विधार्थीको यो घटना गराउने षड्यन्त्रको पूर्वसूचना पाएकाले त्यस ठाउँमा उपस्थित नै भएनन्।
जेठ ९ को घटना पछि मण्डलेहरु रातारात क्रान्तिकारी बनी 'अखिल छैठौं' र 'एकताको पाचौं' बनी नेकपा मसाल र मालेमा समाहित भए। जनमत संग्रहमा 'बहुदलनिर्दल एकै ड्याङ्गका मूला हो' भनि बहिष्कारको कार्यनीति लिँदै देशब्यापी रुपमा बहुदलबादीहरू माथि सांघातिक हमला गर्न उद्यत रहे। तथाकथित सुधारिएको पंचायतलाई विजयी बनाउन महत्वपूर्ण भूमिका निभाए, यावत हत्कण्डा र जालझेल गरी जनमत संग्रहमा बहुमत ल्याउन सफल निर्दलीय व्यवस्थामा जनपक्षीय उम्मेदवारको नाममा भाग लिएर समर्थन र निर्दलीय व्यवस्थालाई टिकाइराख्ने काम यिनीहरुले गरे। यिनीहरुको यो कलंकको सम्वन्धमा भोलिको इतिहासले कठोर-निर्मम मूल्यांकन अवश्य गर्नेछ। यसैले पनि नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोईरालाले माले-मसाले-मण्डले एकैहुन् भनिरहे।
यो घटना पछि जति मेरो विरुद्ध राष्ट्रव्यापी रुपमा प्रचार पंचायती मेशिनरीले गर्यो त्यति बल बहादुरको भने भएन, कैलाश कार्कीको त कतै चर्चासम्म भएन। मेचीदेखि महाकालीसम्म “गद्धार शरणे” लेखेर भित्ता रंगाए । यसको उत्तरमा हाम्रा साथीहरुले पनि “टाटस्कीको नजरमा लेनिन गद्धार, ख्रुष्चोभको नजरमा स्टालिन गद्धार, च्याङकाईसेकको नजरमा माओत्सेतुङ गद्धार, मोहनविक्रमको नजरमा पुष्पलाल गद्धार, यसरी नै मण्डलेको नजरमा शरण विक्रम गद्धार” भनेर आक्रमक बन्न पछि परेनन्। त्यो सबै कमरेड पुष्पलालको "मूल अन्तरविरोध पहिचान गर, यसको विरुद्ध न्यून अन्तरविरोध भएकाहरुकाबीच तालमेल गरीआक्रमण तीब्र पार। संयुक्त जन आन्दोलनको कार्यनीति अपनाउ र विजय प्राप्त गर" भन्ने नीतिमाथि प्रतिक्रियावादीहरुको हमला थियो भन्ने कुरामा कुनै शंका छैन।
जेठ ९ को घटनाको लगतै बीपीले मलाई भेट्न मनलाग्यो भनी खबर पठाउनुभयो । यस बेला क. पुष्पलालको देहावसान भैसकेको थियो । र २०३५ साल भाद्र ३० (१५ सेप्टेम्बर १९७८ ) नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा सम्पन्न संकटकालीन सम्मेलनले हाम्रो पार्टीको नेतृत्व अब सामुहिक रुपमा क. बलराम उपाध्याय(बराउती), क. चित्रबहादुर गुरुङ्ग, क. गुणबहादुर घले, क. सहाना प्रधान (इरोज), क. दुःखी चौधरी क. भीमप्रसाद सेढाइ, क. गोविन्द ज्ञवाली, क. बोधराज काफ्ले, क. भदेश्वर साह, क. हरिहर यादव, क. ओमराज कोइराला, क. आरसी चापागाई, क. आरबी भण्डारी, क. तिलक पराजुली, क. एकराज पाण्डे (जितेन्द्र)को हातमा गएको थियो। सबै साथीहरुबाट कमरेड बलराम उपध्याय तिमिल्सिना(बराउती)लाई पार्टी महासचिवको लागि प्रस्ताव राखिएको थियो । तर उहाँले माईल्दाई (पुष्पलाल) को स्थान लिन आफु योग्य नभएको र पार्टी प्रवक्ता बनी उहाँले देखाउनुभएको बाटोमा हिँड्ने प्रतिज्ञा गरे पछि पार्टी प्रवक्तानै पार्टीको हाइकमाण्ड हुने सर्वसम्मत निर्णय भइ नेपाल कम्युनिष्ट पार्टीको गतिविधि बढिरहेको थियो, यस अवधिमा हाम्रा धेरै नेता सहकर्मीहरु निर्वासन, भूमिगत र जेलमा थिए।
जनमत संग्रहको घोषणा भैसकेकोले चावहिल स्थित वि.पी. निवासमा निष्ठावान र सुकिलो घाम ताप्नेहरु दुवै थरीको हुल लागेको थियो, घर कम्पाउण्डमा मानिसहरु खचाखच थिए। वि.पी., अगाडि पर्ने जतिको सामुहिक अभिवादन फर्काउदै हामी उभिएकै ठाउँमा आईपुग्नु भयो–‘सान्दाजु ! शरण विक्रम उहाँ नै हुनुहुन्छ ।’–बल बहादुरले मलाई चिनाउदै भने।
"नमस्कार दाई!"–मैले त्यस माहौलमा अभ्यस्त हुने प्रयत्न गर्दै अभिवादन गरे । उहाँ टक्क रोकिनु भयो । मेरो पाखुरामा ठ्याप्प समाएर अलि पर जहाँ मानिसको हुल कम छ त्यहाँ लैजानु भयो ।
"तिमीहरु माथि जुन दुर्व्यवहार भयो, एकदमै जङ्गली व्यवहार गरियो, म तीब्र विरोध गर्दछु, तर हिम्मत पटक्कै हार्नै छैनौं, बुझ्यौं । यस्ता घटना नाघ्दै गएर मात्र लक्ष्यमा पुग्न सकिन्छ ।" – उनले मेरो पिठ्युँमा थप्थपाए पनि । उनले भन्दै थिए –“अनि मनमोहनसँग तिमीहरुको कस्तो सम्बन्ध छ? उनले भेटे तिमीलाई ? हुन त उनी भन्छन् शरणहरु हाम्रा विद्यार्थी हुन् । तर यो कुरा मैले राम्रै बुझ्दछु”–यसो भन्दा केही मुस्कुराए । किनकि हाम्रो पार्टी क. मनमोहनको नेतृत्वमा त्यति बेलासम्म थिएन । “मनमोहनको कन्सिस्टेन्सी भने पटक्कै छैन । यो मैले बुझेको छु । तापनि अब उनी पनि बुढो भैसके, तिमीहरुले उनलाई स्वीकार्नु पर्छ । यसबाट नोक्सान हुँदैन, यो पार्टी बलियो हुँदा भावी प्रजातन्त्रको लागि ठूलो सहयोग हुनेछ ।” र उहाँले आफ्नो कुरालाई टुङ्ग्याउँदै भन्नुभएको थियो । “अस्तिको घटनाले मलाई ज्यादै आक्रोशित तुल्यायो । तिमीलाई भेटन मन लाग्यो र बल बहादुरलाई भनेको थिएँ । तिमी एक क्रान्तिकारी विचार बोकेको युवाको नाताले कत्ति पनि बिचलित हुने छैनौं, आउँदै राख्नु ।”– फेरि मेरो काँधमा थपथपाए, मैले नमस्कार गरेँ उहाँ हुलमा मिसिनुभयो । यसबेला मलाई लाग्यो यदि माईल्दाई भएको भए मलाई कति हिम्मत र ढाडस दिनु हुँदो हो? जसको म कार्यकर्ता हुँदै होइन र पनि उनले हिम्मत दिए र भविष्य उज्यालो छ भन्ने क्षीतिज देखाइदिए ।
नेपालपत्र साप्ताहिक, अकं १३ पृष्ट ८ (२०४७ साउन ४ बिहिवार) "प्रसंगवशबाट" साभार
cpnsharan@gmail.com