बुधबार, भाद्र ३ गते २०८३

आर्थिक पुनरोत्थान र कोरोना विरूद्धको खोपमा प्राथमिकता दिन आग्रह

श्रावण ४, २०७८ सोमबार
आर्थिक पुनरोत्थान र कोरोना विरूद्धको खोपमा प्राथमिकता दिन आग्रह

 

अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल – स्वदेशी’ अभियान कार्यान्वयनमा सरकारकाे तर्फबाट साथ दिने जनाएका छन् ।

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको भन्दै निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ रहने उल्लेख गरेका हुन् ।  

‘मैले मन्त्री भएलगत्तै तथ्यांकहरू हेरेँ, हाम्रो आयात उच्च रहेको, निर्यात कमजोर रहेको र विदेशी मुद्रा सञ्चिति पनि कम रहेको देखेँ,’ मन्त्री शर्माले भने ,‘यो अवस्थामा अब परिवर्तन ल्याउन जरुरी छ, त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर नेपालमै उत्पादन वृद्धि गर्ने र आयात न्यूनीकरण गर्नेतर्फ सोच्नुपर्छ।’ 

अर्थमन्त्री शर्माले आर्थिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई सधैं साथमा लिएर अघि बढ्ने बताए । उनले औद्योगिक वातावरण सिर्जनाका लागि निजी क्षेत्रलाई सहयोग गर्न आफू सधैं तयार रहेको जनाए । 

परिसंघका अध्यक्ष सतिशकुमार मोरले अर्थमन्त्री पदमा नियुक्त भएकोमा शर्मालाई बधाई दिँदै सबै नेपाली नागरिकलाई खोप र आर्थिक पुनरोत्थानको   आवश्यकतामा जोड दिए । निजी क्षेत्रलाई खोपमा प्राथमिकतामा राख्न पनि अध्यक्ष मोरको आग्रह थियो ।

परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले घोषणा गरेका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कोभिड–१९ बाट कमजोर बनेको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिबाट पनि सम्बोधन हुने अपेक्षा निजी क्षेत्रले गरेको उनले उल्लेख गरे। 

भेटमा परिसंघका निवर्तमान् अध्यक्ष हरिभक्त शर्मा एवं उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डे तथा महानिर्देशक यादवप्रसाद पौड्यालको सहभागिता रहेको थियो ।