सिवाईसी बचत तथा ऋण सहकारी संस्था ले आर्थिक वर्ष २०७८।०७९ को प्रस्तावित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्षको पहिलो दिन नै संस्थाले नीति कार्यक्रम सार्वजनिक गरेको हो ।
सहकारीको आर्थिक बर्ष २०७८।०७९ को प्रस्तावित नीति तथा कार्यक्रम संस्थाका कोषाध्यक्ष सितादेवी सापकोटा कडेलले प्रस्तुत गरेकी थिइन् । सहकारीले वित्तीय व्यवस्थापन, सदस्य सेवा, संस्थाको आन्तरिक व्यवसायिकीकरण, सिकाई एवं वृद्धि व्यवस्थापन र महामारि, संक्रमण तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमहरुलाई नीति तथा कार्यक्रममा समावेश गरेको उनले बताइन् ।
सहकारीले गत आव २०७७/०७८ मा १८ हजार ४ सय ३० शेयर सदस्यहरुमार्फत २ अर्व ४ करोड कूल सम्पत्ति परिचालन गरेको सहकारीले चालु आव २०७८/०७९ मा कूल सम्पत्ति ३ अर्ब ५ करोड र सदस्य संस्ख्या २८ हजार ५ सय पु¥याउने लक्ष्य राखेको छ ।
चालु वर्षसम्ममा ३० वटा विभिन्न प्रकृतिका सहकारीहरु एकीकरण गरिसकेको सहकारीले बागलुङ, पर्वत र म्याग्दीबाट २३ वटा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएकोमा थप १३ वटा सेवा केन्द्र तथा स्याटेलाइट कार्यालय वृद्धि गरी विकेन्द्रित सेवा प्रवाह गर्ने र काश्की जिल्लामा समेत कार्यक्षेत्र विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सहकारीले कृषक, न्यून आय भएका, रोजगारी गुमाएका सदस्य तथा बागलुङमा सक्रिय सञ्चारकर्मीहरुलाई लक्षित गरी नीति तथा कार्यक्रममा समेटेको छ ।
विदेशवाट फर्केका, कोभिडका कारण रोजगार गुमाएका उत्साहित युवाका लागि व्यवसाय प्रवद्र्धन, कृषि उद्यम संचालन गर्नको लागि ५० जनालाई सहुलियत दरमा ऋण प्रवाहको लागि १ करोड ५० लाख विनियोजन गरेको छ ।

सहकारीका शेयर सदस्य भएका पत्रकारलाई संचार साधन खरिद गर्न ५० हजार ऋण सहुलियत ब्याजमा दिने कार्यक्रम सार्वजनिक गरेको छ । त्यस्तै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले संचालन गरेको एक पत्रकार एक ल्यापटप कार्यक्रम लाई ५० हजार सहयोग गर्ने कार्यक्रममा उल्लेख छ । त्यस्तै बागलुङको मानव सेवा आश्रमको भवन निर्माणको लागि ५१ हजार तथा समुदायमा सिवाईसी कार्यक्रम अन्तर्गत सेवा क्षेत्र भएका ठाउँमा सामाजिक उत्तरदायित्वका कामहरुलाई समेत समेटेर जाने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कार्यक्रमको अवसरमा संस्थाले प्रकाशनमा ल्याएको 'सिवाईसी सन्देश' नामक डिजिटल पत्रिकाको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले विमोचन गरेका थिए । सहकारी सम्बन्धी शिक्षा, सूचना तथा जानकारीका सामग्रीहरु समेटी तयार गरिएको पत्रिकालाई संस्थाको सामाजिक सञ्जाल तथा वेबसाइट मार्फत अध्ययन गर्न सकिने व्यवस्था मिलाएको अध्यक्ष पौडेलले जानकारी दिए ।
एटिएम, मोबाइल बैकिङ, क्युआर कोड लगायतका डिजिटल प्रविधिहरुमार्फत बैकिङ सेवा दिंदै आएको सहकारीले सूचना प्रवाह गर्ने उद्देश्यले डिजिटल पत्रिका प्रकाशनमा ल्याएको हो । संस्थाले चौमासिक डिजिटल पत्रिका प्रकाशन गर्दै जाने छ ।
संस्थाका सहसचिव सुवास आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले गरेका थिए ।
संस्थाले जेष्ठ नागरिक पेन्सन, जेष्ठ नागरिकलाई औषधि उपचारको लागि शुल्क, सुत्केरी पोषण सुविधा, आफन्त गुमाएका परिवारमा मृत्यु राहत, नव दुलही स्वागत लगायतका समुदायमा आधारित कार्यक्रमहरु गर्दै आएको छ ।