नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनामा आर्थिक वस्तुस्थिति सार्वजनिक गरेको छ । एघार महिनाको अवधिमा मुलुक भित्रिने रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको देखिएको छ । यस अवधिमा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो ।
तर यस अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५९.९ प्रतिशतले भने घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समेत समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको छ ।