शनिबार, आश्विन १७ गते २०८३

किसानकाे संयुक्त संघर्ष उठाउने कुरामा जाेड दिदै किसान भर्च्यूअल अन्तरक्रिया सम्पन्न 

आषाढ १७, २०७८ बिहीबार
किसानकाे संयुक्त संघर्ष उठाउने कुरामा जाेड दिदै किसान भर्च्यूअल अन्तरक्रिया सम्पन्न 

 

काठमाडौँ । “कोभिड–१९ ले किसानमाथि परेको असर र राज्यको दायित्व” विषयमा चार किसान सङ्गठनले हिजो एउटा महत्वपूर्ण भर्चुअल अन्तरक्रिया सम्पन्न गरेका छन् ।

अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घको आयोजनामा गरिएको अन्तरक्रियामा वक्ताहरुले किसानहरुले भोग्नुु परेका तमाम समस्या समाधानका लागि बृहत् संयुक्त आन्दोलनको आँधिबेहरी सृष्टि गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदीले गर्नुभएको थियो ।

कार्यक्रमको सुरुमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले चार किसान सङ्गठनको तर्फबाट आधारपत्र प्रस्तुत गर्नुभएको थियो । तत्पश्चात् त्यसमाथि विभिन्न संगठनका नेताहरु र विज्ञहरुले क्रमशः आ–आफ्नो धारणासहितको मन्तव्य राख्नुभएको थियो ।

Banner.png

नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले व्यापारघाटाको नाममा नदीजन्य पदार्थ निर्यात गर्ने अवधारणा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाकै पालमा आएको, तर अहिले मात्रै बजेटमा समेटिएको बताउनुभयो । उहाँले कालीगण्डकी डाइभर्सन योजनालाई गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भारतीय स्वार्थमा आएको बताइसकेको स्मरण गर्नुभयो । उहाँले किसान र मजदुरहरुका समस्याहरुको वास्तविक समाधानका लागि सबै एकताबद्ध भएर आवाज उठाउन सुझाब दिनुभयो ।

कुखुरा पालक किसान एकलाल श्रेष्ठले सबै किसानहरू एकजुट भएर सशक्त आन्दोलन नगर्दासम्म सरकारले किसानको पक्षमा ठोस काम गर्न सक्ने स्थिति नरहेको बताउनुभयो । किसानहरू छरिएर रहेकाले उनीहरू शक्ति एकीकृत हुन नसकेको उहाँको भनाइ थियो ।
अखिल नेपाल किसान यूनियनका सल्लाहाकार प्राध्यापक बद्री अधिकारीले  किसानका समस्या भनेकाे राष्ट्रकै मूलभूत समस्या भएकाेले यसकाे हल गर्न नयाँ जनबादी क्रान्तिकै जरूरी हुन्छ भन्नु भएकाे थिथाे ।
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का महासचिव धनेश्वर पोखरेलले सरकारले सरकारी अनुदान आफ्ना आसेपासेलाई मात्रै बाँडेको बताउनुभयो । उहाँले दक्षिणी सिमानामा रहेका किसानको समस्याबारे सरकार उदासिन रहेको आरोप लगाउनुभयो । अब किसानका समस्याहरु सम्बोधन गर्न राज्यलाई बाध्य बनाउनका निम्ति आन्दोलनको विकल्प नरहेको र अब बृहत् रुपमा आन्दोलनको आँधिबेहरी सृष्टि गरेर जानुपर्नेमा जोड दिनुभयो ।

अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसी सापकोटाले नेपाल विश्व व्यापार सङ्गठनमा समावेश भएका कारण कृषि परनिर्भर बन्दै गएको बताउनुभयो । उहाँले भारतसितको खुल्ला सिमानाका कारण पनि नेपाली किसानले जमिन, प्रविधि र बजारको उचित प्रतिफल पाउन नसकेको बताउनुभयो ।

धानविज्ञ डा. भोलामान सिंह बस्नेतले कृषि विषय पढेर र व्यवहारमा त्यसलाई प्रयोग गरेर विज्ञ बनेका कृषिविज्ञलाई प्रत्येक गाउँपालिकामा पठाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले कृषिमा उत्पादन बढाउनका लागि आमसञ्चार र सुरक्षाकर्मीको समेत सहयोग लिनुपर्ने अवधारणा प्रस्तुत गर्नुभयो । चैतेधानको उत्पादकत्व बर्खेधानको तुलनामा बढी भएकाले त्यसप्रति केही बढी ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

कृषिविज्ञ डा. उम्मेद पुनले कृषिसम्बन्धी अनुसन्धान गराउनका लागि न्यूनतम रूपमा प्रत्येक गाउँपालिकासित आफ्नै स्वामित्वको १०० रोपनी जमिनको व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले कृषि कलेजलाई साधनश्रोतयुक्त बनाउनुपर्ने तथा केन्द्रीयस्तरमा कृषि काउन्सिलको स्थापना हुनुपर्ने विषयमा जोड दिनुभयो ।

कृषि तथा वन विशेषज्ञ कृष्ण पोखरेलले निजी वन र कृषि वन दुवैलाई संरक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले नीतिगत रूपमै यी दुवै प्रकारका वनको माझमा सामञ्जस्यता उल्लेख गर्नुपर्ने बताउनुभयो ।

विज्ञ बद्रिनाथ अधिकारीले ६५ प्रतिशत किसान कृषिमा निर्भर रहेको भनिए पनि नेपालमा उनीहरू आवश्यक साधनश्रोतबाट वञ्चित भएको बताउनुभयो । उहाँले राज्यको गैरजिम्मेवार नीतिका कारणले नेपाली किसान आवश्यकतानुसारको उत्पादन गर्न असक्षम रहेको बताउनुभयो ।

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी–केन्द्र) का चित्रबहादुर श्रेष्ठले राज्यकै कृषिसम्बन्धी गैरजिम्मेवार नीतिका कारणले किसानका सामु चुनौती थपिएको बताउनुभयो । किसानले मल, बिउ, किटनासक औषधि समयमै नपाएको प्रसङ्ग उठाउँदै यस्तो अभिव्यक्ति दिनुभएको थियो । उहाँले चार किसान संगठनहरुको मोर्चालाई अझ वृहत् बनाएर किसान आन्दोलनलाई सशक्त रुपमा उठाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कृषिविज्ञ उद्धव अधिकारीले पछिल्लो समयमा किसानहरू पलायन हुँदै गइरहेकोतर्फ सबैको ध्यानाकर्षण गराउनुभयो । उहाँले ८० प्रतिशत साना तथा मझौला किसानको अवस्था गम्भीर रूपले खस्कँदै गइरहेको बताउनुभयो ।

किसान सञ्जालका नहेन्द्र खड्काले कार्यक्रममा मन्तव्य राख्दै सरकारले भूमि बैङ्कमार्फत जमिन एक ठाउँमा ल्याउँदै दलाल पुँजीपति र बहुराष्ट्रिय कम्पनीलाई सो जमिन सुम्पिन कन्ट्रयाक्ट फार्मिङ र कृषिमा विदेशी निवेशको नीति अगाडि सारेको बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल प्रगतिशील किसान युनियनका महासचिव धर्मेन्द्र चौधरी र फ्याक्ट नेपालकी गङ्गादेवी राईले पनि मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

आधारपत्र र विज्ञका मन्तव्यमाथि आधारित रहेर फ्लोरबाट टङ्क प्रसाद, मेघराज ढकाल, भागिरथ शर्मा, माधव आचार्य, शिवहरि खनाल, गङ्गाधर शर्मा, ठाकुर खनाल, निलगोविन्द महर्जनलगायतले टिप्पणी गर्नुभएको थियो ।