बुधबार, भाद्र ३ गते २०८३

सहकारीमार्फत् अक्सिजन प्लाण्ट निर्माणको कार्य अघि बढेन, सहमित नहुँदा हतारको अपीलले गरेन काम

आषाढ १६, २०७८ बुधबार
सहकारीमार्फत् अक्सिजन प्लाण्ट निर्माणको कार्य अघि बढेन, सहमित नहुँदा हतारको अपीलले गरेन काम

काभ्रेका सहकारीहरु मिलेर बनेपास्थित शिर मेमोरियल अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्न शुरु गरिएको अभियान ओझेलमा परेको छ । जिल्ला सहकारी संघ काभ्रेको अगुवाईमा जिल्लामा भएका विषयगत संघहरु र कोअपरेटिभ म्यानेजर्स क्लबको प्रयासमा उक्त अस्पतालमा अक्सिजन प्लाण्ट स्थापनाका लागि संयुक्त रुपमा आव्हान गरिएको थियो । 

मुलुकभर कोभिड–१९ को दोश्रो लहर समुदयास्तरमा फैलिँन पुग्दा अस्पतालहरुमा अक्सिजनको अभावले संक्रमितहरुले सहज उपचार पाउन नसक्ने अवस्था सिर्जना भएको र कोरोनाको तेश्रो लहरसमेत आउन सक्ने प्रक्षेपण भइरहेकोले जिल्लाभरका सहकारी संस्थाहरुको सहभागितामा अक्सिजन प्लाण्ट स्थापनाका लागि वित्तीय सहयोग जुटाउन गरिएको आव्हान बीचमा नै रोकिन पुगेको छ । 

सहकारी अभियानकै ऐक्यवद्धताको अभाव, फितलो निर्णय र अस्पताल व्यवस्थापनसँग कुरा नमिल्दा अक्सिजन प्लाण्ट निर्माणको लागि रकम जुटाउने काम अलमलमा परेको हो । जिल्लामा रहेका सबै विषयगत संघहरुको सहभागितामा गरिएको निर्णय कार्यान्वयन नहुनुले संयुक्त अपीललाई हल्का बनाइदिएको छ । सहकारीकर्मीहरुको सोचमा एकता नहुँदाले पनि यो अभियान सफल हुन नसकेको कतिपय सहकारीकर्मीहरुको ठम्याई छ । यस्तो अवस्था सिर्जना हुनुमा अस्पताल आन्तरिक व्यवस्थापनसँगसँगै सहकारीकर्मी बीच पनि एकताको अभाव प्रमुख कारण रहेको देखिन्छ । 

अक्सिजन प्लाण्ट निर्माणका लागि अस्पतालबाट कुनै आर्थिक सहयोग माग भएको नभई सहकारी अभियानले नै प्रस्ताव लिएर गएको थियो । मिसन अस्पतालको रुपमा सञ्चालित उक्त अस्पतालमा सहकारी क्षेत्रबाट पनि व्यवस्थापनमा जानका लागि आकांक्षा बढ्दा प्लाण्ट निर्माणको कार्य अगाडि बढ्न रोकिएको बुझिएको छ । सहकारीका तर्फबाट सानो रकम लगानी गरेर अस्पतालको व्यवस्थापनमा नै जाने सोच राख्दा अभियन्ताबीच मै मतान्तर भएको बुझिन्छ । 

महामारीका बीचमा समुदायप्रतिको सामाजिक उत्तरदायित्व सम्झेर सहकारी क्षेत्रबाट अक्सिजन प्लाण्टमा निःस्वार्थ भावले सहयोग जुटाउनुपर्नेमा केहि सहकारीकर्मीको निहित स्वार्थका कारण योजनाले गति लिनु अगावै तुहिन पुगेको हो । 

प्रारम्भिक संस्थाहरुबाट उठाइने सहयोगमा संघका प्रतिनिधिहरुको आँखा लाग्दा अक्सिजन प्लाण्ट निर्माण धराशायी हुन पुग्यो । छाता संघहरुले संयुक्त रुपमा अपील गरेपछि कतिपय प्रारम्भिक संस्थाले आर्थिक सहयोगका लागि रकम दिने तयारी गरेको भएपनि माथिल्लो तहमा कुरा नमिल्दा चाहेको सहयोग पनि दिन नपाएको उनीहरुले जनाए । 

अस्पताल व्यवस्थापनमा सहकारी अभियानबाट पनि प्रतिनिधित्व गराइनुपर्ने, अस्पताललाई सामुदायिकीकरण गराइनुपर्ने र अस्पताल प्रशासनले बडापत्र राखी दिने सेवाका बारेमा उल्लेख गर्नुपर्ने जस्ता माग उठेको तर अस्पतालले एकल निर्णय गर्न नसक्ने, आफुहरुमाथि थप दुई तह रहेकोले माथि छलफल गर्नुपर्ने जनाएपछि कुरा अगाडि बढ्न नसकेको बुझिएको छ । 

जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा विषयगत संघहरु र म्यानेजर्स क्लब समेतको सहभागितामा शीर मेमोरियल अस्पतालमा अक्सिजन प्लाण्ट निर्माणका लागि सबै संस्थाहरुलाई आर्थिक सहयोग गर्न अपील गरिएको र बजार क्षेत्रमा रहेका संस्थाहरुलाई सहयोगका लागि पत्राचार समेत गरिसकिएको स्वीकार्छन् । 

अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण गर्न जिल्लाको सहकारी अभियानको तर्फबाट सहयोग गर्न सके ठोस योगदान देखिने र अक्सिजनको हाहाकार केहि मात्रामा भएपनि न्युनीकरण भई धेरैको ज्यान जोगाउन सकिन्छ कि भन्ने उद्देश्यकासाथ कार्य अगाडि बढाइएको उनले बताए । 

तर अस्पतालको आन्तरिक व्यवस्थापनका विषयमा व्यापक कुरा उठेको र ती सवालमा अस्पताल व्यवस्थापनसँग छलफल गर्दा ठोस निक्र्यौल नआएकाले हाललाई प्रक्रिया स्थगन भएको उनको भनाइ छ । संघको पहलमा विपद् व्यवस्थापन कोष खडा गर्ने र त्यस कोषमा डेढ करोडको हाराहारीमा रकम संकलन गरी आधा रकम प्लाण्ट निर्माणमा र बाँकी रकम यस्ता विपद आइपर्दा आपतमा परेका सहकारीकर्मीलाई सहयोग गर्ने उद्देश्य रहेको भएपनि कुरा नमिल्दा कार्यक्रम अगाडि बढ्न नसकेको उनले स्वीकारे । 

त्यसैगरी जिल्ला बहुउद्देश्यीय सहकारी संघ काभ्रेका अध्यक्ष विधान जोशी अक्सिजन प्लाण्ट निर्माणका लागि कुरा अगाडि बढेको तर अस्पतालले चासो नदेखाउँदा प्रक्रिया अघि बढ्न नसकेको बताउँछन् । ‘हामीले सदस्यबाटै संकलन गरेको पैसा सहयोग गर्ने हो ।’ उनले भने, ‘भोलि सदस्यले के के सेवा सुविधा पाउँछन् त्यो विषयमा पनि समझदारी हुनुपर्याे यो सहयोगको लागि सबै संस्थालाई अपील गरेको तर सबैले सहयोग गर्लान् नगर्लान् , त्यो संस्थाहरुको स्वेछा हो । हाम्रो तर्फबाट आफ्ना माग अस्पताल प्रशासनसँग राखेका छौं, उताबाट जवाफ आएपछि प्रक्रिया अघि बढ्न सक्छ ।’

उक्त अस्पतालमा अक्सिजन प्लाण्ट राख्न आर्थिक सहयोग गर्नुपूर्व अस्पतालका बारेमा पूर्ण जानकारी नलिइ हतारमा सहयोगका लागि अपील गर्नु अभियानको कमजोरी भएको कतिपय सहकारीकर्मीहरुको भनाइ छ । अन्य जिल्लाका सहकारी संघहरुले गरेको कामको देखासिखी गर्दा अहिले समस्या आएको उनीहरुले जनाए । एक सहकारीकर्मीले भने “व्यापक छलफल र अस्पताल व्यवस्थापन अगाडि नै आफ्ना एजेण्डाका बारेमा छलफल र सहमित जुटेपछि मात्रै सहयोगका लागि अपील गरेको भए कार्यक्रम सार्थक देखिन्थ्यो । अर्कोतर्फ महामारीका बेला राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न निस्वार्थ भावले सकेको सहयोग गरी सामाजिक उत्तरदायित्व वहन गर्दा सहकारी छवि अझ बढ्न जान्थ्यो ।”

call for kavre.jpg