बुधबार, कार्तिक १९ गते २०८३

जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा आँखा शिविर


कार्तिक १६, २०८३ आइतबार
जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा आँखा शिविर

 सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै जिल्ला सहकारी संघ लि.काभ्रेले मण्डनदेउपुर नगरपालिका–९, लाकुरेधारामा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरेको छ। शिविरबाट १५० भन्दा बढी नागरिकले आँखा परीक्षण तथा स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्राप्त गरेका छन्।

श्री पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभासँगै  आयोजित कार्यक्रममा रेयुकाई मासुनागा आँखा अस्पताल, बनेपाले प्राविधिक सहयोग गरेको थियो। शिविरमा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सेवाग्राहीहरूको आँखाको परीक्षण गरी दृष्टिसम्बन्धी समस्या तथा आँखाका विभिन्न रोगको पहिचान गरिएको थियो। परीक्षणपछि आवश्यक उपचार र स्वास्थ्य सावधानीबारे परामर्शसमेत प्रदान गरिएको थियो। ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने अवस्थालाई कम गर्दै स्थानीय तहमै सेवा उपलब्ध गराउनु शिविरको प्रमुख उद्देश्य रहेको थियो।

त्यसैगरी, परीक्षणका क्रममा मोतिबिन्दु पहिचान भएका बिरामीहरूका लागि निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ। जिल्ला सहकारी संघ लि। काभ्रे र रेयुकाई मासुनागा आँखा अस्पतालबीचको सम्झौताअनुसार सम्बन्धित बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिनेछ। यसले उपचारमा आर्थिक कठिनाइ भोगिरहेका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

जिल्ला सहकारी संघ काभ्रेका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले सहकारी संस्थाहरूले आर्थिक कारोबारसँगै समुदायको आवश्यकता र सामाजिक हितलाई पनि ध्यान दिनुपर्ने बताए । उनले सदस्य सहकारी संघरसंस्थाहरूसँगको सहकार्यमा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य तथा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । 

श्रेष्ठले आँखा स्वास्थ्यमा सचेतना र नियमित परीक्षणको महत्व उल्लेख गर्दै शिविर सञ्चालनमा सहयोग गर्ने पञ्चकन्या सहकारी संस्था तथा प्राविधिक सेवा उपलब्ध गराउने रेयुकाई मासुनागा आँखा अस्पतालप्रति धन्यवाद व्यक्त  गरे । 

 संघले आगामी दिनमा पनि सदस्य संस्थाहरूसँगको सहकार्यमा समुदायको आवश्यकता पहिचान गरी सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यस्ता कार्यक्रमले सहकारी अभियानलाई समुदायसँग थप नजिक बनाउनुका साथै स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
ः