बदलिँदो अर्थ–सामाजिक सम्बन्ध, पुँजीवाद र मानव समाजको नयाँ पारिवारिक संरचनाका महत्वपूर्ण बिषयमा छलफल हुनु र सही निश्कर्षमा पुग्नु आवश्यक छ
लोकनारायण सुवेदी
विश्व मानव समाज आज एउटा गहिरो अर्थ–सामाजिक तथा सांस्कृतिक संक्रमणबाट गुज्रिरहेको छ। यस संक्रमणको प्रभाव राज्य, अर्थव्यवस्था, उत्पादन प्रणाली, श्रम सम्बन्ध, सामाजिक मूल्य र मानवीय जीवनशैलीमा मात्र सीमित छैन; मानव समाजको सबैभन्दा पुरानो र आधारभूत सामाजिक संस्था मानिँदै आएको परिवारको स्वरूप, संरचना र सम्बन्धमा समेत तीव्र परिवर्तन भइरहेको छ। कुनै समय रगतको नाता, साझा आवास, सामूहिक सम्पत्ति, पारस्परिक दायित्व, भावनात्मक निकटता र पुस्तान्तरणको निरन्तरतामा आधारित परिवार आज क्रमशः नयाँ आर्थिक, सामाजिक, सांस्कृतिक र प्राविधिक परिस्थितिको प्रभावमा पुनर्गठित हुँदै गएको छ।
परिवारको परम्परागत संरचना विघटन हुँदै जानु र त्यसको ठाउँमा नयाँ प्रकारका पारिवारिक सम्बन्ध तथा जीवनपद्धतिको विकास हुनु समकालीन विश्वको एउटा महत्त्वपूर्ण सामाजिक यथार्थ बनेको छ। दाजुभाइ, दिदीबहिनी, मातापिता, काकाकाकी, हजुरबा–हजुरआमा र अन्य नातेदारबीचको स्वाभाविक निकटता, सहअस्तित्व र पारस्परिक उत्तरदायित्व क्रमशः कमजोर हुँदै गएको देखिन्छ। कतिपय अवस्थामा यी सम्बन्धहरू भावनात्मक र जीवन्तभन्दा पनि औपचारिक, अवसरजन्य र सम्पर्कमा सीमित हुन थालेका छन्। यसले परिवारको परम्परागत अर्थ र सामाजिक भूमिकामाथि नै नयाँ प्रश्न खडा गरेको छ।
तर यो परिवर्तनलाई केवल पारिवारिक विघटनका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। यसले पुरानो पारिवारिक संरचनाका कतिपय असमानता, रूढि र विभेदलाई चुनौती दिँदै नयाँ सम्बन्ध, स्वतन्त्रता र सामाजिक व्यवस्थाको सम्भावना पनि खोलिरहेको छ। त्यसैले प्रश्न केवल पुरानो परिवार किन विघटन हुँदैछ भन्ने होइन; त्यसको ठाउँमा कस्तो परिवार र कस्तो सामाजिक सम्बन्ध विकसित हुँदैछ भन्ने पनि हो।
परिवार : एउटा ऐतिहासिक तथा आधारभूत सामाजिक संस्था
परिवार मानव सभ्यताको विकासक्रममा निर्माण भएको सबैभन्दा पुरानो र आधारभूत सामाजिक संस्थामध्ये एक हो। यसले सन्तान जन्माउने र हुर्काउने काम मात्र गर्दैन; मानिसको सामाजिक पहिचान, संस्कार, भाषा, संस्कृति, सम्पत्ति, श्रम विभाजन, भावनात्मक सुरक्षा र पुस्तान्तरणको निरन्तरतासमेत सुनिश्चित गर्दै आएको छ।
परिवारको परिधि र संरचना समाजअनुसार फरक–फरक भए पनि यसको मूल आधार पारस्परिक सम्बन्ध र सामाजिक उत्तरदायित्व हो। कतिपय समाजमा परिवार पति, पत्नी र तिनका सन्तानमा सीमित रहेको हुन्छ भने कतिपयमा आमाबाबु, छोराछोरी, दाजुभाइ, दिदीबहिनी, हजुरबा–हजुरआमा र अन्य नातेदारसमेत समेटिएका हुन्छन्। अझ कतिपय समुदायमा रक्तसम्बन्धभन्दा बाहिरका मानिससमेत साझा जीवन, संस्कृति, श्रम र सामाजिक उत्तरदायित्वका आधारमा परिवारको सदस्य बन्ने गरेका छन् ।
पूर्वीय समाजमा परिवारको अवधारणा तुलनात्मक रूपमा विस्तृत र सामूहिक रहँदै आएको छ। ‘वसुधैव कुटुम्बकम्’ अर्थात् समस्त विश्वलाई एउटै परिवारका रूपमा हेर्ने मान्यता यसै व्यापक सामाजिक तथा मानवीय दृष्टिकोणको अभिव्यक्ति हो । यस अवधारणामा परिवार केवल रक्तसम्बन्धमा सीमित हुँदैन; मानवता, सहअस्तित्व, सद्भाव र पारस्परिक सहयोगसमेत यसको आधार बन्न पुग्छन् ।
परम्परागत पूर्वीय परिवारको अर्को महत्वपूर्ण विशेषता यसको स्थायित्व थियो। एउटा घर, साझा आँगन, सामूहिक भान्सा, खेतीपाती, पशुपालन, पारिवारिक व्यवसाय र सामाजिक व्यवहारले परिवारका सदस्यलाई एउटै जीवनपद्धतिमा बाँधेर राख्थे। परिवार व्यक्तिभन्दा लामो समयसम्म टिक्ने सामाजिक संस्था हुन्थ्यो। पुस्ता फेरिन्थ्यो, सदस्य जन्मन्थे र बित्थे, तर घर, परिवार र खानदानको निरन्तरता कायम रहन्थ्यो। मानिसको परिचय उसको व्यक्तिगत नामबाट मात्र होइन, परिवार, वंश, समुदाय र सामाजिक सम्बन्धबाट समेत स्थापित हुने गर्दथ्यो । त्यसैले परिवार एउटा निजी आवास वा रगतको सम्बन्ध मात्र थिएन; यो आर्थिक उत्पादन, उपभोग, सामाजिक संरक्षण, संस्कार, संस्कृति र सामूहिक जीवनको आधारभूत इकाइसमेत थियो ।
पुँजीवादी विकास र पारिवारिक संरचनामा आएको परिवर्तन
परिवारको परम्परागत संरचनामा आएको परिवर्तनलाई बुझ्न आधुनिक अर्थव्यवस्थाको विकासक्रमलाई अलग राख्न सकिँदैन। विशेषतः औद्योगिक क्रान्ति, पुँजीवादी उत्पादन प्रणाली, बजार अर्थतन्त्र र श्रमको व्यापक गतिशीलताले परिवारको परम्परागत आधारलाई क्रमशः परिवर्तन गर्दै लगे।
कृषिप्रधान समाजमा परिवार नै उत्पादन र उपभोगको महत्त्वपूर्ण केन्द्र हुन्थ्यो। खेतीपाती, पशुपालन, घरेलु उद्योग र पारिवारिक व्यवसायमा परिवारका सदस्यहरूको सामूहिक श्रम परिचालित हुन्थ्यो। परिवारको आर्थिक जीवन र सामाजिक जीवन एकअर्कासँग अभिन्न रूपमा जोडिएका हुन्थे। तर औद्योगिक पुँजीवादको विकाससँगै उत्पादनको केन्द्र घर र गाउँबाट कारखाना, उद्योग, कार्यालय तथा बजारतिर सर्न थाल्यो। मानिसहरू आफ्नो जीविकाका लागि पारिवारिक उत्पादन प्रणालीबाट अलग भएर ज्यालादारी श्रममा निर्भर हुन थाले।
यसले परिवारको आर्थिक एकतालाई कमजोर बनायो। उत्पादन र रोजगारीका लागि परिवारका सदस्य अलग–अलग स्थानमा जानुपर्ने अवस्था सिर्जना भयो। औद्योगिक सहरहरूको विस्तार, ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइँसराइ, महिलाको श्रमबजारमा बढ्दो सहभागिता र व्यक्तिगत आम्दानीमा आधारित जीवनपद्धतिले संयुक्त परिवारको ठाउँमा सानो वा एकल परिवारको विकासलाई प्रोत्साहित ग¥यो ।
मार्क्स र एङ्गेल्सले परिवार, निजी सम्पत्ति र राज्यको ऐतिहासिक विकासबीचको सम्बन्धलाई महत्वपूर्ण ढङ्गले विश्लेषण गरेका छन्। एङ्गेल्सले आफ्नो प्रसिद्ध कृति ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ मा परिवारको स्वरूपलाई ऐतिहासिक उत्पादन सम्बन्ध, निजी सम्पत्ति र वर्गीय समाजको विकाससँग जोडेर व्याख्या गरेका छन्। यस दृष्टिले परिवारलाई शाश्वत र अपरिवर्तनीय संस्था मान्न सकिँदैन। यसको स्वरूप र भूमिका समाजको भौतिक तथा आर्थिक संरचनासँगै बदलिँदै जान्छन् ।
आजको वित्तीय पुँजीवाद, नवउदारवाद र भूमण्डलीकृत अर्थव्यवस्थाले यस परिवर्तनलाई अझ तीव्र बनाएका छन्। रोजगारीको असुरक्षा, बढ्दो महँगी, आवासको महँगो लागत, उपभोगवादी जीवनशैली, प्रतिस्पर्धा र व्यक्तिगत आर्थिक अस्तित्वको दबाबले परिवारका सदस्यलाई साझा जीवनभन्दा अलग–अलग आर्थिक इकाइका रूपमा बाँच्न बाध्य पारिरहेको छ। यसरी बजार अर्थतन्त्रको विस्तारसँगै पारिवारिक सम्बन्धमाथि पनि बजारको तर्क र उपभोक्तावादी संस्कृतिको प्रभाव बढ्दै गएको छ।
संयुक्त परिवारबाट एकल परिवारतर्फको यात्रा
परम्परागत संयुक्त परिवारमा धेरै पुस्ताका सदस्य एउटै घर वा एउटै सामाजिक परिवेशमा बस्ने गर्दथे। आमाबाबु, छोराछोरी, दाजुभाइ, दिदीबहिनी र हजुरबा–हजुरआमाबीच दैनिक सम्पर्क, साझा जिम्मेवारी र पारस्परिक सहयोगको सम्बन्ध हुन्थ्यो। बालबालिकाको लालनपालन, वृद्धवृद्धाको हेरचाह, घरायसी काम, खेतीपाती र पारिवारिक सम्पत्तिको व्यवस्थापन सामूहिक रूपमा गरिन्थ्यो।
यस व्यवस्थाका आफ्नै सकारात्मक र नकारात्मक पक्ष थिए। एकातिर यसले सामाजिक सुरक्षा, भावनात्मक निकटता, श्रमको साझेदारी र पुस्ताबीच ज्ञान तथा अनुभवको हस्तान्तरण सुनिश्चित गथ्र्यो। अर्कोतिर कतिपय अवस्थामा पितृसत्तात्मक नियन्त्रण, महिलामाथिको असमान श्रमभार, व्यक्तिगत स्वतन्त्रताको सीमितता, सम्पत्तिमा असमान अधिकार र पुस्तागत हस्तक्षेपका समस्या पनि विद्यमान थिए ।
आधुनिक शिक्षा, रोजगारी, सहरीकरण, व्यक्तिको स्वतन्त्रता र आर्थिक आत्मनिर्भरताको विस्तारले मानिसलाई परम्परागत संयुक्त परिवारको सीमाबाट बाहिर निस्कने अवसर दियो। पति–पत्नी र उनीहरूका सन्तानमा आधारित एकल परिवारको प्रचलन बढ्दै गयो। यसले व्यक्तिको निजी जीवन, निर्णय गर्ने स्वतन्त्रता र व्यक्तिगत आकाङ्क्षालाई महत्त्व दिएको छ। तर यससँगै परिवारको सामूहिक संरक्षण र पारस्परिक सहयोगको परम्परागत आधार पनि कमजोर हुँदै गएको छ ।
आज संयुक्त परिवार पूर्णतः समाप्त भइसकेको छैन। नेपाल, भारतलगायत दक्षिण एसियाका धेरै समाजमा अझै पनि संयुक्त तथा विस्तारित परिवारको अस्तित्व छ। तर यसको स्वरूप बदलिएको छ। एउटै घरमा नबसे पनि परिवारका सदस्यहरू आर्थिक सहयोग, सामाजिक सञ्जाल, नियमित सम्पर्क र पारिवारिक दायित्वका माध्यमबाट जोडिइरहेका छन्। यसरी भौतिक दूरी बढे पनि सम्बन्धको निरन्तरता कायम राख्ने नयाँ प्रयास भइरहेको छ।
आप्रवासन, भूमण्डलीकरण र छरिएको परिवार
समकालीन पारिवारिक विघटनको एउटा प्रमुख कारण श्रम आप्रवासन र विश्वव्यापी जनसङ्ख्या गतिशीलता हो। रोजगारी, शिक्षा, व्यवसाय, सुरक्षा र राम्रो जीवनको खोजीमा मानिसहरू आफ्नो जन्मस्थान, गाउँघर र देशसमेत छोडेर अन्यत्र जान थालेका छन । नेपालजस्ता विकासशील देशमा यो प्रक्रिया झन् व्यापक छ । लाखौँ नेपाली युवा वैदेशिक रोजगारीमा छन् । कतिपय परिवारका पति–पत्नी अलग–अलग देशमा बस्न बाध्य छन्। कतिपय बालबालिका आमाबाबुबाट टाढा हजुरबा–हजुरआमा वा अन्य आफन्तको संरक्षणमा हुर्किरहेका छन् । कतिपय परिवारका सदस्य वर्षौंसम्म भेट्नसमेत पाउँदैनन् । उनीहरूले मोबाइल, इन्टरनेट र भिडियो संवादका माध्यमबाट सम्बन्ध कायम राख्ने प्रयास गरे पनि भौतिक उपस्थिति र प्रत्यक्ष भावनात्मक निकटताको विकल्प प्रविधिले पूर्ण रूपमा दिन सकेको छैन ।
यसरी एउटा नयाँ प्रकारको ‘छरिएको परिवार’ विकसित भइरहेको छ। परिवार एउटै घर, गाउँ वा देशमा सीमित छैन। यसका सदस्यहरू विभिन्न देश, सहर र महादेशमा छरिएका छन्। उनीहरूको आर्थिक जीवन, सामाजिक अनुभव र सांस्कृतिक परिवेश फरक–फरक हुँदै गएको छ। रेमिट्यान्सले परिवारको आर्थिक अवस्था सुधार्न सहयोग गरे पनि भावनात्मक दूरी, बालबालिकाको अभिभावकीय संरक्षण, दाम्पत्य सम्बन्ध र वृद्धवृद्धाको हेरचाहका प्रश्न जटिल बन्दै गएका छन् । यसले एउटा गम्भीर प्रश्न खडा गरेको छ—परिवारको एकता के एउटै घरमा बस्नुसँग मात्र सम्बन्धित छ, कि साझा जिम्मेवारी, भावनात्मक निकटता र पारस्परिक सहयोगसँग पनि उत्तिकै सम्बन्धित छ ?
विवाह, लैङ्गिक सम्बन्ध र परिवारको बदलिँदो परिभाषा
परिवारको परम्परागत स्वरूप परिवर्तन हुनुमा विवाह र लैङ्गिक सम्बन्धमा आएको परिवर्तनको पनि महत्त्वपूर्ण भूमिका छ। कुनै समय विवाहलाई मुख्यतः सामाजिक, धार्मिक र पारिवारिक संस्थाका रूपमा हेरिन्थ्यो। विवाहपछि पति र पत्नीले जीवनभर सँगै रहनुपर्ने मान्यता सामाजिक तथा सांस्कृतिक रूपमा बलियो थियो। तर आधुनिक समाजमा विवाहलाई व्यक्तिगत इच्छा, पारस्परिक सहमति, प्रेम, समानता र व्यक्तिगत स्वतन्त्रतासँग जोडेर हेर्ने प्रवृत्ति बढेको छ ।
महिलाको शिक्षा, रोजगारी, सम्पत्तिमा अधिकार, राजनीतिक सहभागिता र आर्थिक आत्मनिर्भरताले परम्परागत पितृसत्तात्मक पारिवारिक संरचनालाई चुनौती दिएको छ। महिलाहरू अब केवल घरायसी श्रम र सन्तान पालनपोषणमा सीमित रहन चाहँदैनन्। उनीहरू समान अधिकार, सम्मान, निर्णय प्रक्रियामा सहभागिता र आफ्नो जीवनबारे स्वतन्त्र निर्णय गर्ने अधिकारको माग गरिरहेका छन् ।यो परिवर्तन सामाजिक प्रगतिका दृष्टिले महत्त्वपूर्ण छ। तथापि महिलाको बाह्य रोजगारी बढे पनि घरभित्रको अवैतनिक श्रमको ठूलो हिस्सा अझै महिलाकै काँधमा रहेको छ। त्यसैले वास्तविक लैङ्गिक समानता स्थापित गर्न पारिवारिक श्रम, बालबालिकाको हेरचाह र घरेलु जिम्मेवारीको न्यायपूर्ण बाँडफाँट आवश्यक छ ।
अर्कोतिर सम्बन्धविच्छेद, पुनर्विवाह, एकल मातृत्व, एकल पितृत्व र सन्तानविहीन जीवन रोज्ने प्रवृत्ति पनि कतिपय समाजमा बढ्दै गएको छ। समलिङ्गी जोडी, सहजीवन र अन्य प्रकारका साझेदारीमा आधारित परिवारले पनि परम्परागत परिवारको परिभाषामाथि नयाँ बहस सिर्जना गरेका छन्। यस्ता सम्बन्धको सामाजिक तथा कानुनी मान्यता देश र समाजअनुसार फरक छ ।यसको अर्थ परम्परागत विवाह संस्था पूर्णतः समाप्त हुँदैछ भन्ने होइन। बरु विवाह र परिवारका स्वरूपहरू विविध हुँदै गएका छन्। मानिसले परिवार निर्माण गर्ने आधार र तरिका बदलिरहेका छन् ।
जैविक प्रविधि र मातृत्व–पितृत्वको नयाँ आयाम
विज्ञान र प्रविधिको विकासले पनि परिवारको परम्परागत अवधारणामा नयाँ प्रश्नहरू थपेको छ। सहायक प्रजनन प्रविधि, कृत्रिम गर्भाधान, इनभिट्रो फर्टिलाइजेसन (क्ष्ख्ँ), सरोगेसी अर्थात् अरू महिलाको गर्भाशय प्रयोग गरी सन्तान जन्माउने प्रक्रिया र प्रजननसम्बन्धी अन्य प्रविधिले मातृत्व तथा पितृत्वको परम्परागत जैविक परिभाषालाई फराकिलो बनाएका छन्। अब सन्तान जन्माउने, गर्भधारण गर्ने र अभिभावक बन्ने प्रक्रियामा जैविक सम्बन्ध, सामाजिक सम्बन्ध र कानुनी जिम्मेवारीबीच नयाँ प्रकारका सम्बन्ध स्थापित हुन थालेका छन्। कतिपय मानिस जैविक सन्तानबिना पनि परिवार निर्माण गरिरहेका छन् भने कतिपयले दत्तक ग्रहण तथा अन्य माध्यमबाट अभिभावकत्व स्वीकार गरिरहेका छन्।
यसले मातृत्व र पितृत्वलाई केवल जैविक प्रक्रियाका रूपमा मात्र बुझ्न नसकिने बनाएको छ। सन्तानको संरक्षण, माया, शिक्षा, सुरक्षा र व्यक्तित्व विकासको जिम्मेवारी स्वीकार गर्नु पनि अभिभावकत्वको महत्त्वपूर्ण आधार बन्दै गएको छ ।
तर यी प्रविधिसँगै नैतिकता, आर्थिक असमानता, महिलाको शरीरमाथिको अधिकार, प्रजनन सेवाको व्यापारीकरण र बालबालिकाको हितसम्बन्धी गम्भीर प्रश्न पनि जोडिएका छन्। विशेषगरी सरोगेसीको व्यावसायीकरणले आर्थिक रूपमा कमजोर महिलाको शारीरिक तथा प्रजनन क्षमतामाथि धनी वर्गको नियन्त्रण बढाउन सक्छ। त्यसैले प्रविधिको विकासलाई केवल वैज्ञानिक उपलब्धिका रूपमा होइन, वर्गीय, लैङ्गिक र मानवीय न्यायका दृष्टिले पनि मूल्याङ्कन गर्नुपर्छ ।
डिजिटल प्रविधिः नजिकको दूरी र टाढिँदो आत्मीयता
सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासले परिवारका सदस्यबीच सम्पर्क कायम राख्ने तरिका बदलिदिएको छ। मोबाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल र भिडियो संवादले भौगोलिक रूपमा टाढा रहेका परिवारका सदस्यलाई निरन्तर सम्पर्कमा रहन सम्भव बनाएका छन् । तर प्रविधिले मानिसलाई जोड्ने मात्र होइन, कतिपय अवस्थामा अलग्याउने काम पनि गरिरहेको छ। एउटै घरमा बस्ने परिवारका सदस्यहरू पनि आ–आफ्ना मोबाइल, सामाजिक सञ्जाल र डिजिटल संसारमा व्यस्त रहने प्रवृत्ति बढेको छ। प्रत्यक्ष संवाद, सामूहिक भोजन, पारिवारिक छलफल र साझा समय बिताउने संस्कार कमजोर हुन थालेको छ ।
डिजिटल सम्पर्कको विस्तारसँगै भावनात्मक सम्बन्धको गहिराइ स्वतः बढ्दैन। हजारौँ किलोमिटर टाढाको मानिससँग अनलाइन संवाद भइरहँदा एउटै घरमा बस्ने मानिसबीच संवादहीनता हुन सक्छ । यसले आधुनिक परिवारको एउटा विरोधाभास देखाउँछ—सम्पर्कका साधन बढिरहेका छन्, तर आत्मीयताको अनुभूति कतिपय अवस्थामा घटिरहेको छ ।कृत्रिम बुद्धिमत्ता, डिजिटल सेवा र भविष्यमा विकसित हुने रोबोटिक प्रविधिले बालबालिकाको शिक्षा, वृद्धवृद्धाको हेरचाह र घरायसी काममा नयाँ सम्भावना खोल्नेछन्। तर मानव सम्बन्धको भावनात्मक पक्षलाई प्रविधिले कति हदसम्म सम्बोधन गर्न सक्छ भन्ने प्रश्न अझै खुला छ ।
बालबालिका, वृद्धवृद्धा र असहाय नागरिकको नयाँ सामाजिक प्रश्न
परम्परागत संयुक्त परिवारले सामाजिक सुरक्षाको एउटा अनौपचारिक प्रणालीका रूपमा काम गर्दै आएको थियो। बालबालिकाको लालनपालन, वृद्धवृद्धाको हेरचाह, बिरामी र अपाङ्गता भएका सदस्यको संरक्षण तथा आर्थिक सङ्कटमा परेका परिजनलाई सहयोग गर्ने काम परिवारभित्रै सम्पन्न हुने गर्दथ्यो । तर एकल परिवारको विस्तार, श्रम आप्रवासन र व्यक्तिगत जीवनपद्धतिको विकाससँगै यी जिम्मेवारीहरू जटिल बन्दै गएका छन्। आज बालबालिकाको हेरचाहका लागि शिशु स्याहार केन्द्र, विद्यालय र अन्य संस्थामा निर्भर हुनुपर्ने अवस्था बढिरहेको छ। वृद्धवृद्धाका लागि वृद्धाश्रम, हेरचाह केन्द्र र व्यावसायिक सेवाको आवश्यकता विस्तार हुँदै गएको छ।
यो परिवर्तनलाई केवल परिवारको कमजोरीका रूपमा हेर्न मिल्दैन। बरु यसले समाज र राज्यको जिम्मेवारीसम्बन्धी नयाँ प्रश्न खडा गरेको छ। बालबालिकाको सुरक्षित विकास, वृद्धवृद्धाको सम्मानजनक जीवन र असहाय नागरिकको संरक्षण केवल उनीहरूका परिवारको निजी दायित्व मात्र हुन सक्दैन। यो राज्यको सामाजिक उत्तरदायित्व र सार्वजनिक कल्याणको पनि विषय हो।यस सन्दर्भमा सार्वभौम स्वास्थ्य सेवा, सार्वजनिक शिक्षा, सामाजिक सुरक्षा भत्ता, सुलभ बाल स्याहार सेवा, वृद्धवृद्धा संरक्षण, अपाङ्गता भएका व्यक्तिका लागि सहयोग प्रणाली र सामुदायिक हेरचाह संस्थाको विकास अपरिहार्य बन्दै गएको छ।
नेपालमा पारिवारिक विघटन र नयाँ सम्बन्धको चुनौती
नेपालको पारिवारिक संरचनामा पनि यी परिवर्तनहरू तीव्र रूपमा देखिन थालेका छन्। परम्परागत कृषिप्रधान समाजमा आधारित संयुक्त परिवार क्रमशः कमजोर हुँदै गएको छ। शिक्षा, रोजगारी, शहरीकरण, वैदेशिक आप्रवासन, उपभोक्तावादी संस्कृति र आधुनिक जीवनशैलीले नेपाली परिवारको संरचना बदलिरहेका छन् ।
पहाडबाट तराई, गाउँबाट शहर र नेपालबाट विदेशतर्फ भइरहेको जनसङ्ख्या पलायनको गतिशीलताले परिवारलाई भौगोलिक रूपमा छिन्नभिन्न बनाएको छ । कतिपय गाउँमा युवा जनशक्तिको अभाव छ । खेतीयोग्य जमिन बाँझिँदै गएको छ । वृद्धवृद्धा र बालबालिका मात्र रहेका घरहरू बढिरहेका छन्। कतिपय परिवारमा वैदेशिक रोजगारीबाट आएको आम्दानीले भौतिक जीवनस्तर सुधारिएको भए पनि पारिवारिक आत्मीयता र सामूहिक जीवनमा चुनौती थपिएको छ ।
नेपालको सामाजिक संरचनामा जातीय, भाषिक, सांस्कृतिक र सामुदायिक सम्बन्धको पनि महत्वपूर्ण स्थान छ । परिवारको दायरा घरभित्र मात्र सीमित नभई छिमेक, गुठी, कुल, समुदाय, गाउँ र सामाजिक सहकार्यसम्म फैलिएको थियो। तर शहरी जीवनको तीव्रता, व्यक्तिगत प्रतिस्पर्धा र उपभोगवादी संस्कृतिले यी सामुदायिक सम्बन्धलाई पनि प्रभावित पारिरहेको छ ।
अर्कोतिर महिलाको शिक्षा, राजनीतिक चेतना, आर्थिक सहभागिता र कानुनी अधिकारको विस्तारले पनि परिवारभित्रको शक्ति सम्बन्धमा परिवर्तन ल्याएको छ। पुराना सामाजिक रूढि र विभेदलाई चुनौती दिने यो सकारात्मक प्रक्रिया हो। तर यसबाट सिर्जित नयाँ आवश्यकतालाई सम्बोधन गर्न परिवार र राज्य दुवैले आफ्नो भूमिका पुनर्परिभाषित गर्नुपर्ने भएको छ ।
नेपालमा विशेषगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवार, एकल अभिभावक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र संरक्षणविहीन बालबालिकाका लागि व्यवस्थित सामाजिक सुरक्षा प्रणालीको आवश्यकता बढ्दै गएको छ । परिवारको विघटनलाई रोक्ने नाममा व्यक्तिगत स्वतन्त्रता र समानताको अधिकार कुण्ठित गर्नु उचित हुँदैन। बरु परिवारका सदस्यबीच समानता, सम्मान, सहयोग र उत्तरदायित्वको नयाँ आधार निर्माण गर्नु आवश्यक छ।
नयाँ परिवारको प्रादुर्भावः विघटनपछि कस्तो सामाजिक संरचना ?
आजको विश्वमा परिवारको परम्परागत संरचना कमजोर हुँदै गएको छ भने त्यसको ठाउँमा विविध स्वरूपका नयाँ पारिवारिक सम्बन्ध विकसित भइरहेका छन्। एकल परिवार, एकल अभिभावक परिवार, पुनर्गठित परिवार, भौगोलिक रूपमा छरिएका परिवार, सन्तानविहीन दम्पती, सहजीवनमा आधारित सम्बन्ध र दत्तक सन्तानसहितका परिवार यसका उदाहरण हुन्।
यसरी परिवारको स्वरूपमा विविधता आउनु आफैँमा सामाजिक संकट होइन। परिवारको मूल्याङ्कन यसको आकार, सदस्य सङ्ख्या वा परम्परागत स्वरूपबाट मात्र गर्न सकिँदैन। त्यसको वास्तविक मूल्य सदस्यबीचको समानता, आत्मीयता, पारस्परिक सम्मान, स्वतन्त्रता, सुरक्षा र उत्तरदायित्वमा निहित हुन्छ ।तर नयाँ परिवारको विकाससँगै एउटा अर्को खतरा पनि बढिरहेको छ। बजार अर्थतन्त्रले मानिसलाई स्वतन्त्र उपभोक्ता र प्रतिस्पर्धी व्यक्तिका रूपमा परिभाषित गर्न थालेपछि पारिवारिक तथा सामाजिक सम्बन्धसमेत आर्थिक उपयोगिताका आधारमा मूल्याङ्कन हुने जोखिम बढेको छ। सम्बन्धमा प्रेम, सहयोग र आत्मीयताको ठाउँमा सुविधा, स्वार्थ र व्यक्तिगत लाभ हाबी हुन सक्छन् ।
यसैले नयाँ परिवारको विकास केवल व्यक्तिगत स्वतन्त्रता र निजी जीवनको विस्तारमा सीमित हुनु हुँदैन। त्यसले सामाजिक न्याय, लैङ्गिक समानता, पुस्ताबीचको एकता, सामूहिक उत्तरदायित्व र मानवीय संवेदनालाई पनि आत्मसात गर्नुपर्छ ।परिवारको भविष्य केबल प्रविधि, बजार र व्यक्तिवादले निर्धारण गर्ने विषय होइन। यसलाई समाजको उत्पादन सम्बन्ध, आर्थिक न्याय, सार्वजनिक सेवा, सांस्कृतिक चेतना र राज्यको सामाजिक नीतिले समेत प्रभावित गर्नेछन् ।
निश्कर्ष : परिवारको आकार होइन, सम्बन्धको गुणस्तर महत्वपूर्ण
आज मानव समाज एउटा नयाँ पारिवारिक युगको सङ्घारमा उभिएको छ। परम्परागत परिवारको विघटन र नयाँ परिवारको प्रादुर्भाव कुनै एक देश, संस्कृति वा सभ्यतामा सीमित घटना होइन। यो विश्वव्यापी अर्थ–सामाजिक रूपान्तरणको एउटा महत्त्वपूर्ण पक्ष हो। औद्योगिकीकरणदेखि भूमण्डलीकरणसम्म, श्रम आप्रवासनदेखि डिजिटल क्रान्तिसम्म र पितृसत्तात्मक संरचनादेखि लैङ्गिक समानताको सङ्घर्षसम्मका अनेक प्रक्रियाले परिवारको स्वरूपलाई बदलिरहेका छन्।
तर परिवार बदलिँदैमा मानवीय सम्बन्धको आवश्यकता समाप्त हुँदैन। मानिसलाई प्रेम, आत्मीयता, सुरक्षा, सहकार्य, सामाजिक पहिचान र भावनात्मक सहाराको आवश्यकता हिजो पनि थियो, आज पनि छ र भविष्यमा पनि रहनेछ। बदलिने कुरा ती आवश्यकता पूरा गर्ने सामाजिक संरचना र सम्बन्धका स्वरूप हुन्।
त्यसैले पुरानो परिवारका सबै पक्षलाई आदर्श मानेर त्यसैमा फर्किन खोज्नु यथार्थपरक हुँदैन। त्यस्तै आधुनिकताको नाममा पारस्परिक उत्तरदायित्व, सामूहिकता, ज्येष्ठ पुस्ताप्रतिको सम्मान र बालबालिकाको संरक्षणजस्ता मानवीय मूल्यलाई परित्याग गर्नु पनि उचित हुँदैन। पुरानो परिवारमा रहेका सहयोग, आत्मीयता र सामूहिक जीवनका सकारात्मक पक्षलाई जोगाउँदै त्यसमा विद्यमान पितृसत्तात्मकता, विभेद, असमानता र रूढिलाई हटाउनु आवश्यक छ।
अन्ततः परिवारको भविष्य कस्तो हुने भन्ने प्रश्न केवल पति–पत्नी र छोराछोरी कसरी बस्ने भन्ने प्रश्न होइन। यो समाजले आफ्ना बालबालिका कसरी हुर्काउँछ, वृद्धवृद्धाको कसरी संरक्षण गर्छ, महिलालाई कस्तो समानता दिन्छ, श्रमिकलाई कस्तो जीवन सुनिश्चित गर्छ र आर्थिक तथा सामाजिक सुरक्षाको जिम्मेवारी कसरी बाँड्छ भन्ने व्यापक प्रश्नसँग जोडिएको छ ।
परिवारको वास्तविक शक्ति त्यसको विशाल आकारमा होइन, त्यसका सदस्यबीचको आत्मीयता, समानता, विश्वास र पारस्परिक उत्तरदायित्वमा निहित हुन्छ। नयाँ परिवारको प्रादुर्भावले यही मानवीय सारलाई अझ उन्नत र न्यायपूर्ण सामाजिक आधारमा स्थापित गर्न सक्नुपर्छ ।
यस अर्थमा आजको आवश्यकता परम्परागत परिवारको यान्त्रिक पुनःस्थापना होइन, बरु स्वतन्त्रता र सामूहिकता, व्यक्तिगत अधिकार र सामाजिक उत्तरदायित्व तथा आधुनिकता र मानवीय आत्मीयताबीच सन्तुलन कायम गर्न सक्ने नयाँ पारिवारिक संस्कृतिको निर्माण हो । परिवारको विघटनलाई सामाजिक विघटनमा परिणत हुन नदिई त्यसलाई अझ समानतामूलक, मानवीय र न्यायपूर्ण सामाजिक सम्बन्धको विकासमा रूपान्तरण गर्नु नै आजको ऐतिहासिक चुनौती र सम्भावना दुवै हो।