काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन–२०२६ : भविष्यका लागि फरक ढंगले पुनःनिर्माण’ मा रसुवाकाे भाेटेकाेशीमा गत भदाै १० गतेकाे बाढीबाट भएको पूर्वाधार क्षतिले आर्थिक गतिविधिमा तत्काल दबाब सिर्जना गर्ने उल्लेख गरेको छ। बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनःनिर्माण र पुनःस्थापना अघि बढेपछि भने आर्थिक वृद्धिदर आगामी आर्थिक वर्ष २०८४/८५ मा ५.२ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ।
बाढीको असर विशेषगरी उद्योग क्षेत्रमा बढी पर्ने विश्व बैंकको आकलन छ। जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको क्षतिले उत्पादन र वस्तु आवागमन प्रभावित हुने तथा व्यापार, यातायात, पर्यटन र वित्तीय गतिविधिमा आएको अवरोधले सेवा क्षेत्रसमेत प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ। कृषि उत्पादनमा समग्र प्रभाव तुलनात्मक रूपमा सीमित भए पनि प्रभावित क्षेत्रका नागरिकको रोजगारी र जीविकोपार्जनमा उल्लेखनीय असर पर्न सक्ने जनाइएको छ।
विश्व बैंकले बाढीपछि हुने पुनःनिर्माणलाई भविष्यका विपद् जोखिम र जलवायु परिवर्तनलाई ध्यानमा राखेर अघि बढाउन सुझाव दिएको छ। सडक, ऊर्जा, सञ्चार, खानेपानी, स्वास्थ्य र शिक्षाजस्ता पूर्वाधारमा उत्थानशीलता बढाउनुका साथै महत्त्वपूर्ण सञ्जालमा वैकल्पिक व्यवस्था र प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने उसको सुझाव छ।
नेपालपत्र संवाददाता