आर्थर शोपेनहावरले उल्लेख गरेको ‘दुम्सीको द्विविधा’ (Porcupine's Dilemma) ले ठ्याक्कै नेपालका पुराना नेतालाई प्रतिबिम्बित गर्छ । जाडोको चिसोबाट बच्न दुम्सीहरू न्यानोको खोजीमा एक-अर्काको नजिक आउन र टाँस्सिन खोज्छन्, तर के गरून् बिचरा ? आफ्नै शरीरका तिखा काँडाहरूले एकअर्कालाई नराम्रोसङ्ग घोच्छन् अनि पुनः टाढा भाग्छन्।
नेपाली राजनीतिका पुराना, असफल र अहङ्कारी नेताहरूको नियति पनि ठ्याक्कै यही वृत्तमा घुमिरहेको छ।
यहाँ 'देश विकास'को नारा केवल आफ्ना असीम स्वार्थ, सत्ताको भोक र व्यक्तिगत सङ्कट छिपाउने एउटा वैचारिक आवरण वा छद्मभेष मात्र हो। चिसो जाडोमा न्यानो खोज्ने दुम्सीजस्तै तिनलाई एक्लैबस्न सम्भव हुन्न। आफ्नो अस्तित्व वा स्वार्थ सङ्कटमा पर्दा तिनीहरू एकाएक 'देशलाई जुरुक्कै उचाल्न' भन्दै अप्राकृतिक गठबन्धन र एकताका ढोंग रच्न पुग्छन्।
तर, उनीहरूको मूल चरित्र नै काँडामय छ। तिनका दम्भ, ईर्ष्या, अविश्वास र अहङ्कार नै ती तिखा काँडा हुन्, जसले अरूलाई त आहत पार्छन् नै, सँगै बस्नै नसक्ने वातावरण पनि बनाउँछन्। नजिकिँदा स्वार्थको काँडाले एक-अर्कालाई क्षत-विक्षत बनाउँछ, अनि पीडाले रन्थनिएर पुनः अलगिन्छन्। तर, चिसो र एक्लोपनले फेरि पिरोल्छ, अनि पुनः तिनै घोच्ने काँडाहरू बोकेर अङ्कमाल गर्न आइपुग्छन्।
यो अनन्त र निरर्थक सङ्गम र विभाजनको दुष्टचक्र कुनै सिद्धान्त वा निष्ठाको उपज होइन, केवल पतनशील अहङ्कार र विवश स्वार्थको एउटा सैद्धानिक जलपको नाटक मात्र हो। परिणामतः, देश र जनता भने तिनकै अहङ्कारको यो निरन्तर घर्षण र चक्रव्यूहमा पिसिन बाध्य छन्।
बाबुलाल भण्डारी