शनिबार, आश्विन १७ गते २०८३

जुलाईमा आए ७१ हजार ७७५ पर्यटक, बढे चिनियाँ पर्यटक


श्रावण १८, २०८३ सोमबार
जुलाईमा आए ७१ हजार ७७५ पर्यटक, बढे चिनियाँ पर्यटक

 

काठमाडौं । नेपालमा सन् २०२६ को जुलाईमा ७१ हजार ७७५ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो गत वर्षको जुलाईको तुलनामा २.३ प्रतिशत बढी हो । गत वर्ष जुलाईमा ७० हजार १९३ पर्यटक नेपाल आएका थिए ।

जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट २३ हजार ४९० आएका छन् । चीनबाट ११ हजार ९९ पर्यटक आएका छन्, जुन गत वर्षको ६ हजार ८९० को तुलनामा ६१.०९ प्रतिशत बढी हो । चिनियाँ पर्यटकको आगमन सन् २०१९ को कोभिडपूर्व जुलाईको तुलनामा समेत ८.६५ प्रतिशत बढी पुगेको छ ।

त्यसैगरी अमेरिकाबाट ७ हजार ७५४, बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ पर्यटक आएका छन् ।

क्षेत्रगत रूपमा सार्क मुलुकबाट २९ हजार ७५५ पर्यटक आए पनि यो गत वर्षको तुलनामा ११.९३ प्रतिशत कम हो । यद्यपि, अन्य एसियाली मुलुकबाट १७ हजार ४२४ पर्यटक आएका छन्, जुन गत वर्षभन्दा ३३.०५ प्रतिशत बढी हो । युरोपबाट ९ हजार २७९, अमेरिकी मुलुकबाट ८ हजार ८२४, ओसियानियाबाट २ हजार ६०७, मध्यपूर्वबाट ७३६ र अफ्रिकाबाट ३२४ पर्यटक नेपाल आएका छन् ।