काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १२ लाख नाघेको छ। नेपाल पर्यटन बोर्ड (एनटीबी)का अनुसार गत आवमा हवाईमार्गबाट कुल १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक नेपाल आएका छन्, जुन पछिल्ला वर्षहरूमा पर्यटन क्षेत्रको निरन्तर सुधारको संकेत हो।
गत आवमा सबैभन्दा धेरै भारतबाट तीन लाख ११ हजार ५३१ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २५.७६ प्रतिशत हो। त्यसपछि अमेरिकाबाट एक लाख ११ हजार ३२५ र चीनबाट एक लाख नौ हजार ८९२ पर्यटक नेपाल आएका छन्। बङ्गलादेश, बेलायत, अस्ट्रेलिया, श्रीलङ्का, भुटान, म्यान्मार, जर्मनी, थाइल्यान्ड, जापान र मलेसिया पनि प्रमुख स्रोत बजारका रूपमा रहेका छन्।
महिनागत रूपमा कात्तिक सबैभन्दा व्यस्त महिना रह्यो, जसमा एक लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल आएका थिए। त्यसपछि चैतमा एक लाख १९ हजार ३९०, फागुनमा एक लाख १४ हजार १५२ र असोजमा एक लाख ११ हजार ७८० पर्यटक भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्द्धन, हवाई पहुँचको विस्तार र निजी क्षेत्रसँगको सहकार्यका कारण पर्यटन क्षेत्र पुनरुत्थानबाट दिगो वृद्धितर्फ उन्मुख भएको बताए। उनका अनुसार चीन, अमेरिका, अस्ट्रेलिया र बङ्गलादेशजस्ता उच्च सम्भावना भएका बजारमा नियमित ‘सेल्स मिसन’ सञ्चालन गरी चालु आर्थिक वर्ष २०८३/८४ मा पर्यटक आगमन थप बढाउने योजना अघि बढाइएको छ।
नेपालपत्र संवाददाता