सार्थक र समुन्नत असार पन्ध्रको नेपाली किसानले अनुभूति गर्न पाउन् !
आज असार पन्ध्र । गएका बर्षमा जस्तै यस बर्ष पनि महामारी कोरोनाको कहरले किसानहरुले धान रोपाईको खुशियालीमा दही चिउरा खाने दिन पनि खुशियालीको दिन बन्न सकेको छैन । आजको दिनलाई रोपाई जात्राको रुपमा पनि मनाउने गरिन्छ । आजभोली यो रोपाई जात्रालाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउन थालिएको छ । यो राम्रै कुरा हो । तर सबै कुरा नेपाली किसान र कृषिको स्थितिमा गएर अडिन्छ । मौसमका अनुकूलता या प्रतिकूलतामा गएर किसानहरुको उत्पादनमा तलमाथि पर्छ । तर सकारात्मक मौसम भए पनि 'बजारले मूल्य निर्धारण गर्ने' बजारमुखी अर्थतन्त्रका कारण किसानले भने लाभ लिन सक्ने स्थिति राज्यले बनाइदिएको छैन । फौबञ्जार अर्थात् बिचौलियाले नै फाइदा उठाउने गरेकोले गाउँका किसानले कम मूल्य पाउने र शहरी उपभोक्ताले बढी मूल्य तिरेर खाद्यान्न खाशगरी चामल, तरकारी लगायत सबै बस्तुहरु उपभोग गरिनु पर्ने स्थिति छ । यसरी किसान र उपभोक्ता दुबै ठगिने स्थिति बिद्यमान रहँदै आएको छ ।
यस प्रकार किसानले उत्पादन लागत अनुसार मूल्य पाउन नसकेर मार्कामा परेको गुनासो देशै भरीका र खाशगरी तराईका किसानहरुको गुनासो धानबाली सप्रिएको बेला निकै बढेको कुरा पनि प्रकाशमा आउने गरेको छ । किसानले लाभकारी र उचित मूल्य पाउने प्रवन्ध गर्न राज्यले 'न्यूनतम समर्थन मूल्य' निर्धारण गरिदिनु पर्ने हो । तर राज्यले किसानलाई बजारमै छाडिदिएको छ फलतः उत्पादक किसानले कम मूल्य पाउने, बिचौलियाले फाइदा उठाउने र किसान तथा चामल क्रेताहरु भने जहिले पनि मार्कामा पर्ने स्थिति कायम रहेको छ । यस कुरामा कृषि सहकारीले पनि किसानको मर्का कम गर्न सरकारलाई आवश्यक दबाव दिन सकेको छैन । न बिभिन्न किसान संगठनहरुले नै किसानको पक्षमा उनीहरुको लागत उठ्ने गरी मूल्य निर्धारण गर्न कुनै प्रभावकारी दवाव दिन सकेका छन् । अनि जहिले पनि किसानहरु मूख्य बालीनाली लगाउने बेलामा मलखाद नपाएर बालीनाली नसप्रिने कुराले चिन्तित रहने छन् ।
अर्कोतिर किसानले भने बीऊ मल, कषि औजार, सिँचाई सबैको बढ्दो लागतलाई सकिनसकी ब्यहोर्नु परिरहेको छ । जसले गर्दा कृषि उत्पादन बढ्दा पनि किनी खानुपर्ने सहरी उपभोक्ताहरुले चर्को मूल्य तिर्नु परिरहेको छ । धान बढी उत्पादन हुँदा पनि चामल चिउरा कुनै बस्तुको पनि मूल्य घटेको छैन । उत्पादक किसान र उपभोक्ता भने सँधै मारमा परिरहने स्थिति बिद्यमान छ । त्यसमाथि भारतीय बजारसँग कडा प्रतिस्पपर्द्धा गर्नु पर्ने र सरकारले त्यसबारेमा पनि कुनै वास्ता गर्ने नगरको स्थितिले किसानले चित्त बुझाउन सक्ने कुनै ठाउँ छैन । यसरी कृषि ब्यवसाय र खाशगरी अन्न उत्पादन अनाकर्षक भइरहेको छ । वास्तवमा उत्पादन बढ्दा पनि घटदा पनि दुबै स्थितिमा उत्पादक किसान भने सँधै मार्कामा परिरहने स्थितिलाई तोड्ने सरकारले ठोस नीति नल्याएसम्म यही क्रम दोहोरिरहने बाहेक अरु केही नहुने प्रष्टै देखिएको छ ।
वास्तवमा जबसम्म हामीसँग प्रष्ट राष्ट्रिय कृषि नीति हुदैन, कृषि उत्पादनलाई बढावा दिने सकारात्मक कदमहरु चालेर किसानको भबिष्य सुनिश्चित हुने उत्साहप्रद बातावरण सिर्जना गरिदैन जीवनको प्रमुख आधार कृषि र किसान बर्ग यसरी नै उपेक्षित र अनाकर्षक रहीरहने कुरा निश्चित छ । यस स्थितिमा कृषिमन्त्रालय, कृषिबिभाग, कृषि अनुसन्धान सम्बन्धि बिभभिन्न माहाशाखाहरु तथा केन्द्रहरु केवल यान्त्रिक किसिमले औपचारिकता पूरा गर्नका लागि मात्र खडाभएका ठहरिन पुग्दछन् । कृषि क्षेत्रमा एकातिर आवश्यक जनशक्तिको कमी र अभाव देखिन्छ भने अर्कोतिर भएको जनशक्तिले पनि काम पाएको छैन । जसले पाएको छ त्यसका लागि आवश्यक उत्साहप्रद बातावरणको पनि अभाव देखिन्छ । त्यसमा पनि खडा भएका संस्थाहरुका बीच आवश्यक समन्वयको अभाव निरन्तर खट्किने गरेको छ । यी सबै कुराको प्रत्यक्ष असर भने कृषि उत्पादन र किसानको जीवनमाथि पर्न जान्छ । अनि अन्य बैकल्पिक उपायहरु पनि नभए पछि किसानका छोराछोरी ऋण-पान गरेर, जग्गाजमिन बेचेर कामको खोजीमा बिदेशिन बाध्य हुनुपर्ने स्थिति कायम रहिरहन्छ र रहिरहेकै छ ।
त्यसैले नयाँ नेपाल निर्माण गर्ने सन्दर्भमा साच्चै ब्यबहारमा खरो उतार्ने हो भने कृषि क्षेत्रका खाशगरी जमिन र जमिनको स्वामित्व, त्यसको उत्पादकत्व बृद्धि र किसानले पाउनु पर्ने लाभकारी मूल्य जस्ता समस्या हल नगरीकन र यी समस्याहरुलाई आत्मसात गरेर तिनको सही समाधानको सही उपाय अबलम्बन नगरिकन जतिसुकै नयाँ नेपालको हो हल्ला गरिए पनि त्यसको कुनै सार्थकता नहुने कुरा निश्चित छ । त्यसैले जिम्मेवार निकायका जिम्मेवार मानिसहरुले समय छँदै यी किसान र कृषि बिकासका लागि ध्यान दिनुपर्ने गम्भीर कुरामा ध्यान केन्द्रित नगर्ने हो भने यो असार पन्ध्र या धान दिवस या रोपाई जात्रा मनाउने या दही चिउरा खाने कुरा पनि केवल एउटा परम्परा धान्ने कुरा मात्र भएर रहन्छ । यस यथार्थप्रति सम्बद्ध सबैको समय मै ध्यान जाओस् । सार्थक र समुन्नत असार पन्थ्रको नेपाली किसानले अनुभूति गर्न पाउन् !