शनिबार, आश्विन १७ गते २०८३

नेपाली राजनीतिक आकाशका सधैं चम्किरहने ‘क्रान्तिकारी लालतारा’ कमरेड पुष्पलाल


आषाढ १३, २०८३ शनिबार
नेपाली राजनीतिक आकाशका  सधैं चम्किरहने ‘क्रान्तिकारी लालतारा’ कमरेड पुष्पलाल

लोकनारायण सुबेदी
क्रान्तिकारी चिन्तन, चरित्र र ब्यबहारकासाथ अबिचलितरूपमा क्रान्तिको मूलबाटोमा निरन्तर लागिरहने र कस्तै कठिन परिस्थितमा पनि त्यसबाट दायाँ बाँया नगर्ने  क्रान्तिकारी नेताहरू बिश्वमा बिरलै पाइन्छन् । नेपालको सन्दर्भमा कमरेड पुष्पलाल त्यस्तै उच्च कोटीका नेता हुनु हुन्थ्यो । यस अर्थमा कमरेड पुष्पलाल नेपाली राजनीतिक आकाशका एक चम्किरहने ‘क्रान्तिकारी लाल तारा’ हुुनुहुन्थ्यो र हुनुहुन्छ ।
वास्तवमा हामीले यथार्थपरकरुपमा हेर्न र केलाउन सक्यौ भने नेपालको समकालीन राजनीतिमा पुष्पलालको दृष्टिकोण, बिचार, नीति, निष्ठा र समर्पण नेपाली जनताको मुक्ति र समुन्नतिका निमित्त केन्द्रित रहेको प्रष्टै देखिन्छ । उहाँले ग्रहण गरेको मार्क्सबाद, लेनिनवाद र माओ बिचारधारा आजका चालु नेताहरुको जस्तो सस्तो नेतागिरी छाट्न, निक्कै जानेको छु भन्ने आडम्बर देखाउन र पाँण्डित्याई प्रदर्शन गर्नका निमित्त पटक्कै थिएन, बरु नेपाली समाजको अग्रगामी आमूल सामाजिक परिवर्तनका निमित्त थियो भन्ने कुरा उहाँको अथक र अबिश्रान्त संघर्षले एकदमै प्रष्ट देखाउँदछ । सिध्दान्त सिध्दान्तको निमित्त होइन, यसलाई जनता र राष्ट्रको जीवनमा अग्रगामी परिवर्तन ल्याउने शक्तिशाली हतियारकोरुपमा कमरेड पुष्पलालले ग्रहण गर्नुभएको थियो र तदनुकूल आफ्नो राजनीतिक यात्रालाई अबिछिन्नरुपमा अघि बढाउनु भएको थियो । उहाँको जीवनभरको कर्मले यही कुरा दर्शाएको छ ।
वास्तवमा पुष्पलालले संयुक्त जन आन्दोलनको जुन नीति अख्तियार गर्नु भएको त्यो आफुले अंगीकार गरेको माक्र्सवादी लेनिनवादी सिद्धान्तलाई ब्यवहारमा उतार्ने, जनतालाई जगाउने र परिवर्तनको मूलबाटोमा अग्रसर गराउने एउटा अमोघ अस्त्र थियो र हो । बस्तुतः त्यो ठोस र सही नीतिको आधार तत्कालीन बस्तुस्थितिको आधारमा गरिएको बर्गीय बिश्लेषणको निचोड नै थियो । त्यसैले त उहाँ हमेशमा पर्टी प्रशिक्षण र पार्टी कक्षाहरुमा एकदमै प्रष्टसँग भन्ने गर्नु हुन्थ्यो – ‘राजनीति जालझेल होइन, बास्तविक बस्तुस्थितिको आधारमा बर्गीय बिश्लेषणको निचोड हो’ ।
यसरी एकदमै प्रष्टरुपमा  उहाँले अघि सारेको संयुक्त जन आन्दोलनको नीति केवल एउटा कोरा नीति मात्र थिएन, त्यो परिवर्तनको प्रभावकारी औजार थियो । जसले समाजमा राजनीतिक, आर्थिक, समाजिक तथा साँस्कृति परिवर्तन ल्याउन सबै परिवर्तनकामी शक्तिहरुलाई एक ठाउँमा खडा गर्ने रसायनको काम गर्दथ्यो । बस्तुतः उहाँले अघि सारेको यो नीति मार्क्सबाद, लेनिनवाद र माओ बिचारधारालाई ब्यवहारमा उतार्ने कार्यनीतिकै महत्वपूर्ण कडी, त्यसको अभिन्न अंश र आधार थियो । जुन बाटो नहिडीकन समाजलाई अग्र गति दिनै सकिदैनथ्यो । यो यथार्थ कुरा नेपालमा अहिलेसम्म सचेतरुपमा चलेका संयुक्त जन आन्दोलनहरुले प्रष्टसँग औंल्याइसकेका छन् र औंल्याइरहेका छन्  ।यस प्रकार पुष्पलालको यो नीति एकैचोटी बर्गीय मोर्चा र राजनीतिक मोर्चालाई एकै दिशातिर अभिमुख गराउने र हिडाउने सारभूत माध्यम पनि थियो र हो । जुन कुराको पुष्टी नेपालको २०१७ अघि ०८ सालतिर जातिय जनतान्त्रिक मोर्चा(त्यसबेला ‘राष्ट्रिय’ शब्दलाई ‘जातिय’ भनेर अभिब्यक्त गरिन्थ्यो) र ०१७ पछिका महत्वपूर्ण र मूख्य ऐतिहासिक आन्दोलनहरु – २०३६ सालको संयुक्त बिद्यार्थी आन्दोलन, २०४६ सालको संयुक्त जन आन्दोलन र २०६२÷६३ सालको ब्यापक र बृहत संयुक्त जन आन्दोलनहरुले एकपछि अर्को पुनर्पुष्टी गरिसकेका छन् र गरिरहेका छन् ।
त्यसैले, यी बस्तुगत यथार्थहरुले कमरेड पुष्पलालको ‘नेता होइन, नीति प्रधान’ हुन्छ भन्ने निचोडलाई पनि सत्य साबित गरेको छ । उहाँ ब्यक्तिवादको बिरुद्ध हुनुहुन्थ्यो र हमेशा पुष्पलाल भन्ने गर्नुहुन्थ्यो कि नेताहरु त मञ्चमा आउछन्, जान्छन् तर सही नीति हमेशा कायम रहन्छ । उहाँले यस्तो निचोड निकालेर नीतिको कुरा गर्दा बर्गीय नीतिको कुरा गरेको हुन्थ्यो कुनै निरपेक्ष नीतिको कुरा होइन । उदाहरण दिदै उहा भन्ने गर्नुहुन्थ्यो – बेद ब्यास छैनन् तर बेद छ । बुध्द छैनन् तर बुध्दको बिचार छ, रुसो छैनन् तर उनको ‘सामाजिक सम्झौताको सिद्धान्त’ छ । त्यसरी नै माक्र्सवादका प्रणेता– माक्र्स र एंगेल्स छैनन् तर अजेय माक्र्सवाद आज हामीसँग छ । नेताहरुको योगदान र भूमिकाको अबश्य महत्व छ र हुन्छ । उनीहरु हमेशा कायम रहन सक्तैनन् तर उनीहरुको बिचार कायम रहन्छ । त्यसकारण, कुनै नेताको पछि होइन सही बिचारको पछि लाग, सही बिचारले नै सही नेता जन्माउँदछ भन्ने उहाँको हरहमेशा जोड हुन्थ्यो ।
हुन पनि कमरेड पुष्पलालको एक मात्र ध्याउन्न देश र जनताको हितमा सही नीति प्रतिपादन गर्नु र त्यसलाई ब्यवहारमा खरो उतार्नु रहेको थियो । यसैका लागि नेपाली जन आन्दोलनका सबल र दुर्बल पक्ष केलाउन र सहीलाई अझ सम्बृद्ध तुल्याउन तथा गलतलाई घटाउन र हटाउन उहाले ‘नेपाली जन आन्दोलन ः एक समीक्षा’ नामक अत्यन्तै महत्वपूर्ण र पठनीय कृति लेख्नुभयो । जुन नेपाली जनआन्दोलनको बिकास र यसको भबिष्यलाई बुझ्न चाहने जो कसैका लागि आज पनि उत्तिकै महत्वपूण सन्दर्भ सामाग्री रहेको छ ।
यसै सन्दर्भमा  उहाँले नेपालको  राष्ट्रियता र जनवादको पनि एउटा नबीन र जनमुखी परिभाषा दिदै भन्नु भएको छ – ‘लाखौलाख झोपडीहरुको एकता नेपालको आजको सन्दर्भमा राष्ट्रियता हो भने ती झोपडीहरुको हक हित जनवाद’ हो । ती झोपडीहरुमा को बस्छन् एकदमै प्रष्ट छ – शोषित पीडित श्रमजीवी  जनता । बस्तुतः यो नेपाललाई सचेत र उन्नत किसिमले राजनीतिक एकीकरण गर्ने र सुदृढ बनाउने कुरा हो र थियो भन्ने प्रष्टसँग बुझ्न सकिन्छ । यो कुराले नेपाली जनता नै वास्तविक परिवर्तनका सम्वाहक हुन् र उनीहरुको सचेत, संगठित र सक्रिय भूमिकाबिना आमूल सामाजिक परिवर्तनको कुनै अर्थ छैन र हुदैन र राष्ट्रियता र जनबादको समस्या पनि हल हुँदैन भन्ने अर्थपूर्ण शिक्षा पनि दिन्छ । यसरी कमरेड पुष्पलालले जन चेतना निर्माणलाई ठूलो महत्व दिनु भयो र जनताका दैनिक जीवनका सवाललाई लिएर तलैदेखि उठेको आन्दोलनमा जोड दिनु भयो । त्यसले कुरालेभन्दा कामले जनतालाई बढी चाडो र सही किसिमले सचेत र सक्रिय तुल्याउँदछ भन्ने कुरामा उहाँ बढी बिश्वस्त हुनुुहुन्थ्यो । यस अर्थमा उहाँ जनतालाई जगाउन, उठाउन र अघि बढाउन दत्तचित्त हुनुहुन्थ्यो भन्ने प्रष्ट हुन्छ ।

Pl Purnakat.jpg
यसप्रकार पुष्पलाल केवल एउटा सिद्धान्तबादी निष्ठावान ब्यक्तित्व मात्र हुनुहुन्थेन । उहाँ त सिद्धान्तलाई ब्यबहारमा खरो उतार्ने र त्यस आधारमा संगठनलाई क्रियाशील र सबल बनाउने कार्यमा निरन्तर दत्तचित्त भएर लाग्ने ब्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले उहाँले ‘तीन ‘स’ को सिध्दान्त’ अर्थात् ‘संघर्ष, संगठन र सिध्दान्त’लाई एक अर्काका परिपुरकका रुपमा निरन्तर क्रियाशील तुल्यारहनु भयो । उहाँ हमेशा पार्टी क्लासहरुमा भन्ने गर्नु हुन्थ्यो कि सिध्दान्त बिनाको संगठन र संघर्ष अन्धो हुन्छ र सगठनबिनाको सिध्दान्त र संघर्ष पनि लङ्गडो हुन्छ । त्यसैगरी सिध्दान्त र संगठन बिना त संघर्षले सही दिशा र गति नै पाउनै सक्तैन । त्यसैले यी तीन ‘स’को आ–आफ्नै ठूलो महत्व छ र ती एक अर्काका परिपुरक हुन् । एक बिना अर्कोको अस्तित्वको कुनै अर्थ हुदैन, रहँदैन भन्ने उहाँको एकदमै प्रष्ट धारणा थियो ।
यस सन्दर्भमा सिध्दान्तको कुरा गरिरहँदा कमरेड पुष्पलालले माक्र्सबाद–लेनिनवाद र माओ बिचारधारालाई एउटा जडसुत्रबादी रटना जपनाको रुपमा नलिएर त्यो सैद्धान्तिक बिचारधारालाई एउटा गतिशील र मार्गदर्शन गर्ने प्रकाश स्तम्भकोरुपमा बुझाउनु भयो र ब्यवहारलाई अर्थात परिवर्तनलाई बाटो देखाउने औजारकोरुपमा बुझ्न बुझाउन अथक प्रयन्त गर्नु भयो र जोड दिनु भयो ।बिचारधारात्मक संघर्षको कुरा गर्दा उहाँ हरहमेशा ‘बादे बादे, बिबादे च जायते तत्व बोध’ भन्ने सँस्कृत वाक्यलाई दोहो¥याउने गर्नु हुन्थ्यो र कुनै पनि बिषयमा तर्क–प्रतितर्कले नै सही निष्कर्शमा पुग्न मद्दत पुग्ने द्वन्दात्मक नियम प्रयुक्त गर्नुहुन्थ्यो । प्रकृति र समाजका अधिशासित नियम(Governing law of nature and society)को  बारम्बार उहाँले उल्लेख गर्ने गर्नुहुन्थ्यो । जुन माक्र्सबादको आधारभूत महत्वपूर्ण कुरा हो ।
पुष्पलालको एउटा अर्को सबैभन्दा महत्वपूर्ण पक्ष उहाको निरन्तर अध्ययनशीलता हो । समकालीन नेपाली राजनीतिमा तुलनात्मकरुपमा उहाँको जत्तिको नेपाली समाजको गहिरो अध्ययन अरु कमैले मात्र गरेका थिए होलान् । उहाँको अध्ययनको मूल बिषय नै नेपाली जनताको गाँस, बास, कपासको समस्या थियो । जनताले आफ्नो आजीवीवको समस्या कसरी हल गरिरहेका छन् र उनीहरु बिकासको कुन चरणबाट गुज्रिरहेका छन् भन्ने कुरामै उहाँको सम्पूर्ण राजनीतिक अध्ययन केन्द्रित थियो र हुन्थ्यो । त्यसैले उहाँले नेपालका एक बिशिष्ट आर्थिक  इतिहासकार महेशचन्द्र रेग्मीका Land Tenure and Taxation in Nepal, Thatched Huts & Stucco Palaces, Peasants and Landlords in 19th Century Nepal, The State and Economic Surplus, Kings and Political Leaders of the Gorkhali Empire  र अन्य यस्तै महत्वका नेपाली समाजको तत्कालीन स्थिति जान्न र समाजमा परिबर्तन खोज्न महत्वपूर्ण र सहायक हुने उपयोगी कितावहरु पढ्न र सामुहीक छलफल गरेर निष्कर्श निकाल्न बिशेष जोड दिने गर्नु  हुन्थ्यो भन्ने कुरा मेरो स्मृतिमा अहिले पनि ताजै छ ।
नेपाली धरातलीय यथार्थका आधारमा माक्र्सबाद लेनिनवाद र माओ बिचारधारालाई प्रयुक्त  के कसरी सकिन्छ यही नै उहाँको अध्ययनको मूल बिषय र ध्याउन्न हुन्थ्यो र बिद्यमान यथास्थितिलाई फेरेर समाजलाई अग्रगति प्रदान गर्ने दिशाबोध गर्नु उहाँको अध्ययनको मूल प्रयोजन थियो । त्यसैले अलिकति समय पायो कि उहाँ कहिले कलकत्ताको ‘नेशनल लाइब्रेरी’ मा गम्भीर अध्ययनमा लागेको पाइनु हुन्थ्यो कि दिल्लीको ‘सप्रू हाउस’ या बनासरकै स्थानीय पुस्तकालय जहाँ बिश्व र नेपालका लागि पनि पठनीय पुस्तक र पाठ्य सामाग्री पाइने गर्दथे  समय पायो कि उहाँ ती ठाउँहरूमा गएर अध्ययनरत रहने गर्नुहुन्थ्यो। उहाले नेपालमा पनि कार्यकर्ताहरुलाई मदन स्मारक पुस्तकालय पाटनढोका र राष्ट्रिय पुस्तकालय तथा बिश्वबिद्यालयका पुस्तकालयहरु र बृटिश, भारतीय र अमेरिकी पुस्तकालयहरूमा  गएर अध्ययन गर्न सुझाव दिनुहुन्थ्यो ।जसले नेपालको इतिहास, सँस्कृति र भूगोल पढेको र बुझेको हुदैन, नेपाली जनताको आजिबीका कसरी चलेको छ त्यसको गहिरो अध्ययन गरेको हुदैन उसले नेपालको आमूल अर्थ–राजनीतिक परिवर्तनमा कसरी योगदान दिन सक्तछ र ? भन्ने गम्भीर प्रश्न उठाउदै सबै कार्यकर्ताहरुलाई अध्ययन गर्न प्रेरित गर्नु हुन्थ्यो । खासगरी उहाले नेपालमा किसान बर्गको समस्या हल नगरी नेपालको राष्ट्रिय मूख्य मुद्दा नै हल हुदैन भन्ने कुरामा सर्बाधिक ध्यान केन्द्रित गर्दै नेपाली समाजका समस्या हल गर्न संघर्ष, संगठन र सिध्दान्तका कुराहरूको गहिरो अध्ययन,चिन्तन र मनन गर्न बिशेष जोड दिनुहुन्थ्यो
यस प्रकार समग्रमा यसरी कमरेड पुष्पलालको क्रान्तिकारी जीवन सबैका लागि एउटा प्रेरणास्पद र बिश्वासिलो तथा भरपर्दो जीवन यात्रा त छँदैथियो नै त्यो भन्दा बढी आमूल सामाजिक परिवर्तनको दिशामा अत्यन्तै हुटहुटिएर केन्द्रित भएको र त्यस प्रयोजनका लागि आजीवन सक्रिय रहेको साच्चै नै अनुकरणीय प्रेरणापुञ्ज बनेको जीवन थियो । त्यसैले नै उहाँका अनुयायीले भन्दा पनि आज उहाँको छिचरो र अनर्गल किसिमले बिरोध गर्ने तथाकथित कम्युनिष्ट नामधारीहरुले नै उहाँको मूर्ति र फोटो पूजाआज गरेर आफुलाई पुष्पलालको असली उत्तराधिकारी भएको भ्रम छर्ने गरिरहेका छन् । त्यो हिजो २००८ सालदेखि २०३५ सम्म पनि स्वार्थबश गरिएको बिरोध र प्रताडना थियो भने आजको पूजा पनि स्वार्थबश गरिएको यथार्थ खुलस्त भइसकेको र भइरहेको छ ।  कमरेड पुष्पलालको अबिश्रान्त क्रान्तिकारी जीवनको सारतत्वलाई समाप्त पारेर आवरणको पूजाआजा गर्ने औसरबादी र बिसर्जनबादीहरुको बिगबिगीलाई नचिरेसम्म नेपालको कम्युनिष्ट आन्दोलनले भ्रमबाट मुक्ति पाउन सक्ने छैन । अनि नेपाल र नेपाली जनताका समस्या पनि हल हुने छैनन् बरु अझ जटील भएर जानेछन् । यो कुरा आजको झनपछि झन  बिग्रदो राष्ट्रिय तथा अन्तराष्ट्रिय जटील स्थितिले पनि प्रष्ट दर्शाइरहेको छ । 
यसैल,े यतिबेला हामीले कमरेड पुष्पलाललाई पुनर्अध्ययन, पुनर्समीक्षा, पुनर्मनन गर्नु अति आबश्यक छ ता कि नेपाली जनताको आमूल परिबर्तनको  राष्ट्रिय भाबनालाई मूर्तरुप प्रदान गर्न सकौं र त्यसको लागि राष्ट्रिय  एकता कायम गर्न सकौ  र त्यसको पूर्ब शर्तकोरुपमा सच्चा सिद्धान्तनिष्ठ क्रान्तिकारी कम्युनिष्टहरुका बीच सुदृढ र सार्थक एकता कामय गर्न सकौ यीनै राष्ट्रिय भावनाकासाथ कमरेड पुष्पलालको १०२औं जन्म जयन्तिका अवसरमा उहाप्रति उच्च सम्मानपूर्ण अभिबादान !