शनिबार, आश्विन १७ गते २०८३

चिया निर्यात समस्या समाधान गर्न कूटनीतिक पहलको आग्रह

आषाढ ५, २०८३ शुक्रबार
चिया निर्यात समस्या समाधान गर्न कूटनीतिक पहलको आग्रह

 

काठमाडौं । नेपाली चियाको भारत निर्यातमा देखिएका अवरोध हटाउन नेपाल उद्योग वाणिज्य महासंघले परराष्ट्रमन्त्री शिशिर खनालसँग पहल गर्न आग्रह गरेको छ। महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा गएको टोलीले बिहीबार परराष्ट्र मन्त्रालयमा भेट गरी भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योगले समस्या भोग्नुपरेको जानकारी गराएको हो।

परराष्ट्रमन्त्री खनालले चिया निर्यातमा देखिएको समस्याप्रति सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको र समस्या समाधानका लागि ठोस पहल अगाडि बढाइएको जानकारी दिए। भारतीय पक्षबाट पनि छिट्टै समाधान निस्कने संकेत आएको उनले बताए ।

अध्यक्ष श्रेष्ठले चिया क्षेत्रको वार्षिक कारोबार १२ देखि १४ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै यस क्षेत्रमा समस्या हुँदा अर्थतन्त्र र लाखौं नागरिकको जीविकोपार्जन प्रभावित हुने भएकाले दीर्घकालीन समाधानका लागि नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिए । 

भेटमा सांसद गणेश पराजुली र उद्योग तथा वाणिज्य समितिका सभापति रहबर अन्सारीले समस्याको तत्काल र दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा राखेका थिए । वाणिज्य सचिव कृष्णबहादुर राउतले पनि प्रक्रियागत सहजीकरणका लागि मन्त्रालयले पहल गरिरहेको र सकारात्मक परिणाम आउनेमा आशावादी रहेको जनाए । 

महासंघका पदाधिकारी तथा चिया व्यवसायीहरूले भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर (एसओपी) का कारण नेपाली चिया निर्यात थप जटिल बनेको बताएका छन्। उनीहरूले नेपाली चियाको गुणस्तरमा कुनै समस्या नरहेको भन्दै यो विषयलाई द्विपक्षीय व्यापार वार्तामा प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन्।