कोशी प्रदेशका उद्योगहरूको उत्पादन, क्षमता उपयोग र रोजगारीको अवस्था मिश्रित देखिएको छ। नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले उद्योग क्षेत्रमा अवसरसँगै चुनौती पनि रहेको औंल्याएको छ । प्रतिवेदनअनुसार समीक्षा अवधिमा प्रदेशका नमुना उद्योगहरूको औसत क्षमता उपयोग ४२.९ प्रतिशत मात्र रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उद्योगहरूको क्षमता उपयोग ४८.६ प्रतिशत रहेको थियो। यसले उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको देखाउँछ।
उत्पादनतर्फ भने केही उद्योगमा उल्लेखनीय सुधार देखिएको छ। भटमास तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९९.५ प्रतिशत पुगेको छ भने वनस्पति घ्यू तथा घरेलु धातुजन्य सामग्री उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.३ प्रतिशत रहेको छ। समीक्षा अवधिमा भटमास तेलको उत्पादन २०९.६ प्रतिशतले बढेको छ।
रोजगारीतर्फ सकारात्मक संकेत देखिएको छ। अध्ययनमा समेटिएका उद्योगहरूमा कुल १७ हजार ९५३ जनाले रोजगारी प्राप्त गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.४ प्रतिशत बढी हो। उद्योग क्षेत्रमा लगानीका हिसाबले पनि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको औद्योगिक कर्जा उल्लेखनीय रहेको प्रतिवेदनमा उल्लेख छ। समीक्षा अवधिमा उद्योग क्षेत्रमा प्रवाहित कर्जा करिब १ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ, जुन प्रदेशमा प्रवाहित कुल कर्जाको २६.८ प्रतिशत हो।
प्रतिवेदनले सुनसरी–मोरङ औद्योगिक करिडोरलाई नेपालको सबैभन्दा महत्वपूर्ण औद्योगिक क्षेत्रमध्ये एकका रूपमा उल्लेख गर्दै यहाँका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन गर्न सके उत्पादन वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा ठूलो योगदान पुग्ने सम्भावना रहेको जनाएको छ। यद्यपि उद्योग क्षेत्रले जलवायु परिवर्तन, पूर्वाधार अभाव, उत्पादन लागत वृद्धि र दक्ष जनशक्तिको अभावजस्ता चुनौती सामना गरिरहेको प्रतिवेदनले औंल्याएको छ। उद्योगहरूको क्षमता उपयोग घट्दै जानु र केही उत्पादन क्षेत्र कमजोर रहनु प्रदेशको औद्योगिक विकासका लागि चिन्ताको विषय बनेको छ।
नेपालपत्र संवाददाता