बुधबार, भाद्र ३ गते २०८३

मुद्दती निक्षेपमा औसत दर ४.२७ प्रतिशत, असारमा पनि खुम्चियो ब्याजदर


आषाढ १, २०८३ सोमबार
मुद्दती निक्षेपमा औसत दर ४.२७ प्रतिशत, असारमा पनि खुम्चियो  ब्याजदर

 

काठमाडौं, वाणिज्य बैंकहरूले असार महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर थप घटाएसँगै व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.२७ प्रतिशतमा झरेको छ। नेपाल बैंकर्स संघका अनुसार यो दर जेठ महिनाको तुलनामा ०.०७ प्रतिशत बिन्दुले कम हो। जेठमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.३४ प्रतिशत रहेको थियो।

बैंकिङ प्रणालीमा तरलता सहज रहनु, कर्जाको माग अपेक्षाकृत कम हुनु तथा निक्षेप संकलनमा दबाब नदेखिनुले बैंकहरूलाई ब्याजदर घटाउने आधार दिएको देखिन्छ। तर यसले बचतकर्ताको प्रतिफल भने थप खुम्चिएको छ। मुद्रास्फीति र जीवनयापन खर्चको वृद्धिलाई तुलना गर्दा मुद्दती निक्षेपमा प्राप्त हुने प्रतिफल न्यून स्तरमा पुगेको भन्दै बचतकर्ताहरू चिन्तित हुन थालेका छन्।

असार महिनाका लागि २० वाणिज्य बैंकमध्ये सात बैंकले व्यक्तिगत तथा संस्थागत निक्षेपको ब्याजदर घटाएका छन्। कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंकले ब्याजदरमा कटौती गरेका हुन्। बाँकी १३ बैंकले भने जेठ महिनाकै दरलाई निरन्तरता दिएका छन्।

संस्थागत मुद्दती निक्षेपतर्फ पनि औसत ब्याजदर ०.०२ प्रतिशत बिन्दुले घटेर ३.१८ प्रतिशतमा सीमित भएको छ। अघिल्लो महिना यो दर ३.२० प्रतिशत रहेको थियो।

बैंकहरूको ब्याजदर निरन्तर ओरालो लागेसँगै मुद्दती निक्षेपमा आधारित आम बचतकर्ताको आम्दानी घट्दै गएको छ। पछिल्ला महिनाहरूमा बैंकिङ क्षेत्रको ब्याजदर चक्र न्यून विन्दुतर्फ उन्मुख भइरहेका बेला बचतकर्ताले वैकल्पिक लगानीका माध्यमतर्फ ध्यान दिनुपर्ने अवस्था देखिएको विश्लेषकहरू बताउँछन्।

बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीले निक्षेपकर्ताभन्दा ऋणीलाई राहत दिने संकेत गरेको छ। निक्षेपको लागत घटेसँगै आगामी दिनमा कर्जाको ब्याजदरमा पनि थप कमी आउन सक्ने अपेक्षा गरिएको छ।