काठमाण्डाै। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको विप्रेषण (रेमिट्यान्स) चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दश महिनामा उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार वैशाखसम्म विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर १३.३ प्रतिशत मात्र रहेको थियो।
अमेरिकी डलरमा समेत रेमिट्यान्स ३३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यही अवधिमा डलरमा रेमिट्यान्स वृद्धि १०.६ प्रतिशत थियो। वैशाख महिनामा मात्र २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रिएको छ। गत वर्षको वैशाखमा यो रकम १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो।
विप्रेषण आप्रवाहमा आएको यो तीव्र वृद्धिसँगै मुलुकको बाह्य क्षेत्र पनि थप सबल बनेको छ। उच्च रेमिट्यान्सकै कारण चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा पुगेको छ। साथै विदेशी मुद्रा सञ्चिति पनि बढेर ३७ खर्ब ४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५१० पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३६४ रहेको छ। यसले विदेशमा नेपाली श्रमिकको उपस्थिति अझै बलियो रहेको र त्यसको प्रत्यक्ष प्रभाव विप्रेषण वृद्धिमा देखिएको विश्लेषण गरिएको छ।
नेपालपत्र संवाददाता