शनिबार, आश्विन १७ गते २०८३

आगामी बजेटमा नछुटुन् : राष्ट्रिय रणनीतिक पूर्वाधार प्राथमिकताहरू


जेठ ६, २०८३ बुधबार
आगामी बजेटमा नछुटुन् : राष्ट्रिय रणनीतिक पूर्वाधार प्राथमिकताहरू
 
आगामी बजेटले केवल योजना घोषणा गर्ने होइन, स्पष्ट कार्यान्वयन तालिका, पर्याप्त बजेट र गुणस्तरीय निर्माणको प्रतिबद्धता प्रस्तुत गर्नुपर्छ। नेपाललाई अवसरमा बदल्ने युग अब शुरु हुनुपर्छ।
6a0bc715a310d68600fdbd53.jpeg_w642
*डा.रञ्जनकुमार दाहाल
 
१. दाङको टरिगाउँ एरपोर्टको स्तर उन्नति
पश्चिम नेपालको हवाई पहुँच सुदृढ गर्न टरिगाउँ एरपोर्टलाई क्षेत्रीय हबको रूपमा विकास गर्नुपर्छ। रनवे विस्तार, आधुनिक टर्मिनल, रात्रीकालीन उडान सुविधा र सुरक्षित नेभिगेशन प्रणाली निर्माणले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको आर्थिक गतिविधि तीव्र बनाउनेछ।
२. कान्तिराजपथलाई फाष्ट ट्रयाकको सहयोगी मार्गका रूपमा मर्मत तथा सुदृढीकरण
काठमाडौं–तराई वैकल्पिक रणनीतिक मार्गका रूपमा कान्तिराजपथको सडक भित्ता संरक्षण, पहिरो नियन्त्रण, ड्रेनेज सुधार र सुरक्षित यातायात संरचना निर्माण गर्नुपर्छ। फाष्ट ट्रयाक अवरुद्ध हुँदा राष्ट्रिय यातायात सञ्चालन गर्न सक्ने भरपर्दो विकल्प तयार राख्नु आवश्यक छ।
३. मध्य पहाडी राजमार्गका सबै सेक्सन कालोपत्रे तथा पुल निर्माण
अधुरा खण्डहरू तत्काल सम्पन्न गरी सम्पूर्ण मार्गलाई गुणस्तरीय कालोपत्रे सडकमा रूपान्तरण गर्नुपर्छ। पुल, ढल निकास र सुरक्षित सडक संरचनाले पहाडी अर्थतन्त्र, कृषि बजार, पर्यटन र बसोबासलाई नयाँ जीवन दिनेछ।
४. काठमाडौं एरपोर्टको नयाँ टर्मिनल भवन निर्माण प्रारम्भ
अन्तर्राष्ट्रिय यात्रु चाप व्यवस्थापन गर्न आधुनिक, प्रविधिमैत्री र फराकिलो नयाँ टर्मिनल भवन निर्माण तत्काल शुरु गर्नुपर्छ। यसले नेपालको अन्तर्राष्ट्रिय छवि, पर्यटन सेवा र हवाई व्यवस्थापनलाई गुणात्मक सुधार गर्नेछ।
५. नाम्चेबजारसम्म डबल लेन सडक निर्माणका लागि डिजाईन
सगरमाथा क्षेत्रसम्म सुरक्षित र व्यवस्थित पहुँच विस्तार गर्न डबल लेन सडकको सम्भाव्यता अध्ययन र विस्तृत डिजाईन कार्य शुरु गर्नुपर्छ। यसले पर्यटन, स्थानीय व्यापार, उद्धार सेवा र हिमाली विकासलाई गति दिनेछ।
६. नेपालगन्ज–रारा ताल सडकको स्तर उन्नति
कर्णाली प्रदेशको पर्यटन र आर्थिक सम्भावना विस्तार गर्न नेपालगन्ज–रारा सडकलाई सुरक्षित, स्तरीय र वर्षभरि सञ्चालनयोग्य बनाउनुपर्छ। रारालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको मुख्य गन्तव्य बनाउने आधार यही सडक हो।
७. बेनी–कोरला सडकको सम्पूर्ण निर्माण समापन
नेपाल–चीन व्यापार, हिमाली पर्यटन र मुस्ताङ क्षेत्रको आर्थिक विकासका लागि बेनी–कोरला सडक शीघ्र सम्पन्न गर्नुपर्छ। यो मार्गले हिमाली अर्थतन्त्रलाई नयाँ दिशा दिनेछ।
८. तमोर कोरिडर निर्माण सम्पन्न
पूर्वी नेपालको जलविद्युत, कृषि, पर्यटन र सीमापार व्यापारको सम्भावना उजागर गर्न तमोर कोरिडर निर्माणलाई तीव्रता दिनुपर्छ। यो परियोजना पूर्वी पहाडको आर्थिक रूपान्तरणसँग प्रत्यक्ष जोडिएको छ।
९. सगरमाथा क्षेत्रमा २ किमी रनवे युक्त अन्तराष्ट्रिय एरपोर्ट सम्भाव्यता अध्ययन तथा डिजाईन
हिमाली उद्धार, उच्चस्तरीय पर्यटन, अनुसन्धान तथा आपतकालीन व्यवस्थापनलाई ध्यानमा राख्दै सगरमाथा क्षेत्रमा २ किलोमिटरसम्म रनवे बन्न सक्ने सम्भावित क्षेत्रको पहिचान र प्रारम्भिक डिजाईन अध्ययन शुरु गर्नुपर्छ। यो दीर्घकालीन हिमाली पूर्वाधार रणनीतिको महत्वपूर्ण कदम हुनेछ। सल्लेरी को पूर्व पट्टीको डाँडा यसको लागि उपयुक्त हुन सक्छ!
आगामी बजेटले केवल योजना घोषणा गर्ने होइन, स्पष्ट कार्यान्वयन तालिका, पर्याप्त बजेट र गुणस्तरीय निर्माणको प्रतिबद्धता प्रस्तुत गर्नुपर्छ। नेपालकोलाई अवसरमा बदल्ने युग अब शुरु हुनुपर्छ।
*डा.दाहाल भू-गर्भ इञ्जिनीयर तथा त्रिभुवन बिश्वबिद्यालयकाे प्राध्याक हुनुहुन्छ