काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरूको व्यापार उल्लेख्य रूपमा बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चैत मसान्तसम्म १४ वटा निर्जीवन बीमकले ३६ अर्ब ५८ करोड २० लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । यस आधारमा चालु आवको चैतसम्म निर्जीवन बीमा कम्पनीहरूको व्यापार १३.८६ प्रतिशतले वृद्धि भएको देखिएको छ । प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा २२ लाख ९ हजार ९८६ वटा बीमालेख जारी भएका छन् । गत वर्ष सोही अवधिमा २१ लाख ३५ हजार २३३ वटा बीमालेख जारी भएका थिए।
व्यापारको आधारमा शिखर इन्स्योरेन्स सबैभन्दा ठूलो निर्जीवन बीमक बनेको छ। कम्पनीले चैतसम्म ४ अर्ब ८० करोड १२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यसअनुसार कम्पनीको व्यापार १०.४८ प्रतिशतले बढेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले ३ अर्ब ८३ करोड २३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको व्यापार २.४९ प्रतिशतले बढेको हो । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स तेस्रो ठूलो निर्जीवन बीमक बनेको छ । कम्पनीले चैतसम्म ३ अर्ब ७४ करोड ३० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार ३४.३७ प्रतिशतले बढेको छ।
अन्य प्रमुख कम्पनीमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १२ करोड ९ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब १० करोड ३३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३ अर्ब १ करोड ५ लाख रुपैयाँ तथा नेको इन्स्योरेन्सले २ अर्ब ७२ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । व्यापार वृद्धिदरका आधारमा भने एनएलजी इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । कम्पनीको व्यापार गत वर्षको तुलनामा ४१.०४ प्रतिशतले बढेको छ । यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको व्यापार ३८.२६ प्रतिशत तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३४.३७ प्रतिशतले वृद्धि भएको छ।
यस अवधिमा ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ४२ करोड ६८ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले २ अर्ब ८ करोड १९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ३६ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १४ करोड ९७ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ९८ करोड १२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।
नेपालपत्र संवाददाता