नेपाल बिमा प्राधिकरणले बिमा बजारमा अनुशासन कायम गर्न भन्दै दुई कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणले बिमाशुल्कमा अनधिकृत छुट दिएको आरोपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ भने स्वामित्व परिवर्तनसम्बन्धी व्यवस्था उल्लङ्घन गरेको भन्दै लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रालिलाई पाँच हजार रुपैयाँ जरिबाना गरेको हो।
प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बजार हिस्सा बढाउने प्रतिस्पर्धामा ग्राहक आकर्षित गर्न बिमाशुल्कमै छुट दिएको पाइएको थियो। बिमा ऐन, २०७९ तथा प्राधिकरणले जारी गरेका निर्देशनअनुसार बिमा कम्पनीले तोकिएको प्रिमियम दरभन्दा कममा सेवा दिन वा अनधिकृत छुट दिन पाउँदैनन्। यस्ता गतिविधिले अल्पकालीन रूपमा ग्राहक तान्न सहयोग गरे पनि दीर्घकालीन रूपमा बिमा कोषको स्थायित्व, जोखिम व्यवस्थापन र समग्र बजार अनुशासनमा नकारात्मक असर पार्न सक्ने प्राधिकरणको निष्कर्ष छ। सोही आधारमा कम्पनीलाई पहिलो पटकका लागि दुई लाख रुपैयाँ जरिबाना गरिएको हो।
त्यस्तै, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रालिले पुनर्बिमा दलालसम्बन्धी निर्देशिका, २०७८ मा उल्लेखित स्वामित्व परिवर्तनसम्बन्धी व्यवस्था पालना नगरेको पाइएपछि कारबाही गरिएको प्राधिकरणले जनाएको छ। निर्देशिकाअनुसार कम्पनीको स्वामित्व संरचना परिवर्तन गर्दा नियामक निकायलाई जानकारी गराउने तथा पूर्वस्वीकृति लिने व्यवस्था छ। कम्पनीले उक्त प्रक्रिया पूरा नगरेपछि पाँच हजार रुपैयाँ जरिबाना गरिएको हो।
पछिल्लो समय बिमा कम्पनीहरूबीच बजार हिस्सा विस्तार गर्ने प्रतिस्पर्धा तीव्र बन्दै जाँदा प्रिमियम दरमा अनधिकृत छुट दिने र नियामकीय व्यवस्था बेवास्ता गर्ने प्रवृत्ति देखिन थालेपछि यस्तो गतिविधि नियन्त्रण गर्न प्राधिकरणले बजार अनुगमन कडा बनाउँदै लगेकाे देखिन्छ ।
नेपालपत्र संवाददाता