नेपालपत्रले यही बैशाख ५ गतेबाट ३५ बर्ष पूरा गरेर ३६औं बर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा यस प्रकाशनसँग सम्वद्ध प्रतिष्ठित एवं नवाेदित लेखक, पाठक, ग्राहक, बिज्ञापनदाता, सहयोगी, शुभचिन्तकका साथै प्रतिकूल परिस्थतिमा पनि अथकरुपमा क्रियाशील नेपालपत्रको ब्यवस्थापन, सम्पादन र बितरण समूहलाई उच्च सम्मानकासाथ हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना प्रकट गर्दछौं ।
यो पत्रिका साप्ताहिकरुपमा विधिवत् प्रकाशित हुन शुरु गरेपछि पनि अनेक उतारचढाव बेहोर्दै बेलाबेलामा स्थगन र सञ्चालन हुँदै आयाे। पछिल्लो समय अर्थात् २०६६ देखियता भने अर्थ–राजनीतिक पत्रिकाकाे रुपमा नेपालपत्र निरन्तर प्रकाशित भइरहेको हो । पछिल्लाे समय साप्ताहिकबाट मासिक म्यागाजिन र अनलाइन संस्करणमा नेपालपत्र न्यूज डटकमका रुपमा नियमित रहेको छ।
यसका लागि यस पत्रिकाका शुभ चिन्तक, सहयोगी, लेखक,पाठक, ग्राहक तथा बिज्ञापनदाताहरु एबं बितरकहरु सबैको उत्तिकै महत्वपूर्ण योगदान रहेको छ । यसको निरन्तरता र ३५ वर्ष–प्रवेशको यो सुखद् अबसरमा हामी उहाँहरु सबैप्रति हार्दिक आभारका साथ कृतज्ञता र सम्मान प्रकट गर्न चाहन्छौ । साथै यस पत्रिकामा कडा मेहनतकासाथ काम गर्ने सबै सञ्चारकर्मी मित्रहरु र बितरक सहयोगीहरुप्रति पनि हामी उत्तिकै आभारी छौ । वास्तवमा उहाँहरुकै अथक परिश्रमले यस पत्रिकाले निरन्तरता पाइरहेको छ।
विगतमा जस्तै आगामी दिनमा पनि हाम्रा सबै लेखक, पाठक शुभचिन्तक, ग्राहक, बिज्ञानपनदाता मित्रहरुको बिश्वास,भरोसा र सहयोग रहने र अझ बढ्नेछ भन्ने बिश्वास र अपेक्षा हामीले गरेकाछौं । सबैको सकारात्मक सुझाव र सल्लाहको हामी सदा र्सबदा सम्मान र कदर गर्ने बिश्वास पनि नयाँ बर्ष २०८३ प्रवेशको यस सुखद अबसरमा पुन दोहोर्याउन चाहन्छौं र सबैमा नब बर्षको हार्दिक मंगलमय शुभकामना तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभेच्छा पनि प्रकट गर्दछौं ।
अर्थ–राजनीतिक पत्रिकाकोरुपमा यसलाई सञ्चालनगर्न थालेपछि यसले देशको राजनीतिक उतार चढावमा खाशगरी परिवर्तनका पक्षधर आफुलाई परिबर्तनका पक्षधर र जिम्मेवावार ठान्ने बाम तथा लोकतान्त्रिक शक्तिहरुका गल्तीकमजोरीहरु औंल्याउने र तिनले परिवर्तनका उपलब्धीहरुलाई संस्थागत गर्न खेल्नुपर्ने र खेल्नसक्ने भूमिकाबाट बिचलित हुँदा त्यसको आलोचना गर्दै र निरन्तर सजग गराउने काम एकातिर गर्दै आएको छ ।
अर्कोतिर देशको आत्मनिर्भर अर्थतन्बत्रका लागि कृषि, सहकारी, उद्योग, ऊर्जा, ब्यापार, अर्थनीतिका बिबिध पक्षका साथै स्वास्थ्य,शिक्षा,कला सँस्कृति, ज्ञान बिज्ञान एबं अन्तर्राष्ट्रिय क्षेत्रका गतिबिधिहरुमा पनि बिभिन्न किसिमले निरन्तर आवाज उठाउदै आएको छ । यी याबत क्षेत्रहरुका बिभिन्न पक्षहरुको बिकासको गतिमा आएको मन्दता र कमजोरीहरुको उजागर र सकारात्मक पक्षलाई उल्लेख गर्दै ती क्षेत्रहरुलाई सबल बनाउन सरोकारवाला सबैले खेल्नु पर्ने सार्थक र सकारात्मक भूमिकाका बारेमा पनि अबिरल कुरा उठाउदै आएका छौं ।
यस क्रममा तिनका बिकृति र बिसंगतिहरुप्रति औंला ठड्याउँदै पनि आएको छौं । यसरी नेपालपत्रले सञ्चार क्षेत्रले सन्तुलित किसिमले सबै क्षेत्रलाई समेट्नु पर्दछ भन्ने मान्यतालाई अघि बढाइरहेकाे छ । यसमा रहेका कमी कमीकजोरीहरुलाई सकारात्मक किसिमले उजागर गरिदिएर हामीलाई देश र जनताप्रति अझ बढी जिम्मेवार र अझ बढी समर्पित बन्न सचेत पाठकहरु र शुभचिन्तकहरुले उत्प्रेरित गरिरहनु हुने नै छ भन्ने नेपालपत्रको निरन्तर अनन्त बिश्वास रहेको छ ।
हाम्रो राष्ट्र र विश्व समुदायको चौतर्फी विकास अझ बढी सचेतना र अझ बढी सही सूचना बिना सम्भव छैन । त्यसैले हामीले ’सचेतता र समुन्नतिका निमित्त सञ्चार’ भन्ने मान्यतालाई विकसित र बिस्तार गरिर्नुपर्दछ भन्ने कुरा लगातार उठाउँदै र अघि सार्दै आयौं । आज पनि यसको सान्दर्भिकता उसैगरी कायमै छ । अझ हामी ‘जिम्मेवार र प्रभावकारी सञ्चार, जनताको सही लोकतन्त्रको पूर्वाधार’ भन्ने मान्यतालाई सदा सर्बदा आत्मसात गर्दै हिड्ने प्रयत्नमा निरन्तर लागेका छौं ।
यसले यसले हाम्रो लोकतान्त्रिक मूल्य, मान्यता, पद्धति र बिचारहरु जनता र राष्ट्रको सर्बोपरी हितका लागि हुन् र हुनु पर्दछ भन्ने कुरालाई अनुभूत गरेको छ र गरिरहनेछ । अर्को थप यसको के पनि अर्थ हो भने सञ्चार जगतले जन सरोकार र आवश्यकताका हरेक ज्वलन्त राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वपूर्ण बिषय बस्तुहरुमा समेत ध्यान केन्द्रित गर्न सक्नु र गर्न सिक्नु पर्दछ । यस प्रकारको निरन्तर सजगता नै सच्चा लोकतन्त्र, नागरिक स्वतन्त्रता र जनअधिकारको निरन्तर शातत्यताको आधार हो भन्ने कुराप्रति पनि हाम्रो अखण्ड बिश्वास रहेको छ र रहिरहने छ ।
देशको आजको बस्तुगत राष्ट्रिय राजनीतिक स्थिति पनि अन्तर्राष्ट्रिय स्थिति पनि विश्वसनीय र भरपर्दो बन्न सकेको छैन । नेपालमा ६३ सालको परिवर्तन पछि जेनतेन संविधान बनेर दोश्रो आवधिक निर्वाचन पछिको चरणबाट देश गुज्रिरहेको भए पनि निर्णायक तहमा पटक पटक पुगेका दलहरुको बिगतदेखि अहिलेसम्म अनेक छल प्रपञ्चका गतिवधिबाट सिर्जित विकृति र विसंगतिहरूबाट जनता निराश र आक्रोशित बन्न पुगे । त्यस स्थितिबाट गुज्रिरहेको बेला गएको भदौ २३–२४मा उत्पन्न गरिएको बिस्फोट र बिथोलिएको स्थितिमा देश पछिल्लो फागुन २१ को निर्वाचनयता कसरी अघि बढ्ने हो अहिले पनि ठूलो सन्देह र प्रतिक्षाकै बिषय छ। किनभने उपरी ढाँचामा परिवर्तन आए पनि आधारमा संरचनागत तहमा परिवर्तन अहिलेसम्म आउन सक्ने स्थिति बिकसित भएको छैन । सतही परिवर्तनले समस्या समाधान गर्दैन भन्ने कुराको दशकौंको अनुभवले प्रष्ट पारेकाे नै छ ।
देशको सबैभन्दा ठूलो बिकास र अग्रगमनकोको ऊर्जा बन्न सक्ने हाम्रो यूवा जनशक्ति रोजगारीको खोजीमा विदेशिन बाध्य छ। खाशगरी यतिबेला मध्यपूर्वमा चलिरहेको लडाईंले उनीहरुको जीवन र रोजगारी दुबैमा ठूलो असुरक्षा र अनिश्चितताको भुँवरीमा परेर गुज्रिरहेको छ। यसप्रकारको राजनीतिक अनिश्चितता, सामाजिक र आर्थिक विकृति र विसंगतिहरुले नेपाली समाज आक्रान्त छ। एकातिर असुरक्षित र अनिश्चित भविष्य अनि अर्कोतिर बाह्य हस्तक्षेपका अबाञ्छित गतिविधि बढिरहेको स्थिति उत्पन्न भइरहेको छ। त्यसैले नेपाली जनताले चाहेको स्वाधीनता, शान्ति र सम्बृद्धि सुहाउँदो र अनुकूल स्थितितर्फ लैजान सचेत र ब्यापक राष्ट्रिय एकताको अहिले अझ बढी खाँचो छ । यसको लागि नेपाल र नेपाली जनताको सुरक्षित भाग्य र भबिष्य चाहने निष्ठावान क्रान्तिकारी, लोकतान्त्रिक एवं बामपन्थी शक्तिहरु विशेषतः सचेत यूवाहरु संवेदनशील र गम्भीरताकासाथ एकावद्ध हुनुको विकल्प छैन । यस दिशामा अग्रसर हुन सबैमा विवेक र सत्बुद्धि पलाओस् भन्ने ३६औं वर्ष प्रवेशको उपलक्षमा सबैमा सहृदय शुभकामना !