नवलपरासी । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१औँ वार्षिक साधारणसभाअन्तर्गत दलदलेदेखि पश्चिम र पूर्व क्षेत्रका सदस्यलाई समेटेर दुई इकाई सभा सम्पन्न भएका छन्। असोज १७ गते कावासोती–१६, डण्डाबजारस्थित थारु राष्ट्रिय संग्रहालय तथा अनुसन्धान केन्द्रमा इकाई नं. १ र असोज १८ गते गैँडाकोटस्थित नारायणी रिसोर्टमा इकाई नं. २ को सभा सम्पन्न भएको हो।
दुवै इकाई सभामा संस्थाको गत आर्थिक वर्ष २०८२/८३ को प्रगति तथा वित्तीय प्रतिवेदन, चालु आव २०८३/८४ को नीति तथा कार्यक्रम र प्रस्तावित बजेट, आन्तरिक तथा स्वतन्त्र लेखापरीक्षण प्रतिवेदनलगायत १३ वटा कार्यसूचीमा छलफल गरी सर्वसम्मत निर्णय गरिएको संस्थाले जनाएको छ। सभामा सदस्यहरूले संस्थाप्रतिको अनुभव, अपेक्षा तथा विभिन्न सुझाव र जिज्ञासा राखेका थिए भने सञ्चालक समितिका तर्फबाट विषयगत रूपमा जवाफ दिइएको थियो।

संस्थाका पूर्वअध्यक्ष एवं सञ्चालक समिति सदस्य गोपालप्रसाद गौतमले सदस्यको बचत सुरक्षालाई प्राथमिकतामा राख्दै संस्था पारदर्शी र गतिशील रूपमा अघि बढिरहेको बताए। निवर्तमान अध्यक्ष एवं ऋण उपसमिति संयोजक श्रीहरि चालिसेले सदस्यलाई प्रभावकारी वित्तीय पहुँच उपलब्ध गराउँदै बचत तथा ऋण कारोबारका लागि किसान साकोसलाई भरपर्दो संस्था बनाइएको बताए। प्रमुख कार्यकारी अधिकृत सञ्जय राज तिमिल्सीनाले ‘समृद्ध सदस्य, दिगो साकोस’ को परिकल्पनाअनुसार संस्थाको वर्तमान अवस्था र आगामी रणनीतिबारे जानकारी गराए।
नियामकीय निर्देशनअनुसार अतिथि तथा औपचारिक कार्यक्रमलाई न्यून गर्दै सदस्यकेन्द्रित रूपमा सभा सञ्चालन गरिएको थियो। इकाई नं. १ मा ९१ वर्षीया डोलकुमारी अधिकारी र इकाई नं. २ मा ९३ वर्षीय यज्ञप्रसाद भट्टराईले दीप प्रज्ज्वलन गरी सभाको उद्घाटन गरेका थिए। सभाका क्रममा उत्कृष्ट बचतकर्ता, समूह, प्रविधि प्रयोगकर्ता तथा ऋणी सदस्यलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको थियो।
संस्थाका उपाध्यक्ष एवं साधारणसभा तयारी उपसमिति संयोजक चिन्तामणि कँडेलले सदस्यको योगदानप्रति आभार व्यक्त गरे। ३१औँ साधारणसभाका निर्णय प्रमाणीकरणका लागि इकाई प्रतिनिधिहरूको बैठक असोज २४ गते गैँडाकोटस्थित होटल द नारायणीमा आयोजना हुने संस्थाले जनाएको छ।
नेपालपत्र संवाददाता