Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

कोभिड र मानव दायित्व


२०७८ बैशाख १७ गते , शुक्रवार प्रकाशित

uploads/media/


इन्द्रनारायण सुबेदी


(पञ्चमार)

जताततै छ त्रासदी लुकेर पस्छ कोभिड
छिरेर गाउँ  गाउँमा ढुकेर डस्छ कोभिड  
 अकल्पनीय दुक्खको पहाड खस्छ झैँ भयो
अकाल कालचक्रमा अनेक जिन्दगी गयो।१।


जवान बाल वृद्ध वा वयस्क जोसुकै पनि
अमीर उच्च ओहदा हुने कुनै र निर्धनी
चिनेन झम्टिँदै छ यो रुँगेर मार्ग छेक्दछ
थला बसाउने गरी चढेर माथ टेक्दछ।२।


पसेर एकबाट यो अनेकभित्र सर्दछ
रहेर दूर दूरमा सतर्क बन्नुपर्दछ
फुकेर शङ्ख हैन यो खुसुक्क भेट्न आउँछ 
बनेर अग्नि धूपको सिधै लपेट्न आउँछ।३।


विदीर्ण वेदनासँगै पहाड बन्छ लासको
छ दृश्य रङ्गमञ्चमा असैह्य झन् हतासको
मरिन्छ को कहाँ भरे छ जिन्दगी अनिश्चित 
प्रकोपको प्रभावले छ विश्व नै सशङ्कित।४।


अलापले विलापले हुँदैन कष्ट सामना
विचार धारणासँगै बदल्नुपर्छ कामना
अभिन्न मित्रता रहोस् मनुष्य जातिमा अब
छिचोल्न युद्ध एकता भए रहन्छ सम्भव।५।


बनोस् मनुष्यले यहाँ मनुष्यको सहायक
विवेकशील होस् स्वयं र प्रेरणा प्रदायक
निराशबाट आसमा बदल्न जुट्नु पर्दछ
परास्त गर्न दुर्दशा मनुष्य उठ्नुपर्दछ।६।

२०७८ बैशाख १६ इलाम

सम्बन्धित समाचार


Leave a Comment