Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

चन्द्रमणिले बुझेका चन्द्र सम्शेर


२०७८ बैशाख १६ गते , विहीवार प्रकाशित

uploads/media/


-चन्द्रमणि गाैतम

मेरा अग्रजहरूले भेडाबाख्रा माझ सल्तनत चलाए, मैले साँडेहरू उपर चलाएँ, अब मेरा छोरा भाई–भैयादहरूले सिंहमाथि शासन चलाउनन् : चन्द्र सम्शेर

चन्द्र शम्शेर (वि.सं.१९२०–१९८६) पहिलो विश्वयुद्धकालमा सत्तारुढ भएका, राणा प्रधानमन्त्रीमध्ये पाचौँ र नेपालका तेह्रौँ प्रधानमन्त्री (वि.स.१९५८–१९८६) थिए । जङ्गबहादुरका कान्छा भाई धीर शम्शेरका सत्रभाई छोरामध्ये यिनी छैठौँ र आफ्नी थापापुत्री आमातिरका साईँलो छोरा थिए । सुधारवादी प्रधानमन्त्री दाजु देव शम्शेरलाई अल्पअवधिमै सत्ताच्यूत गरेर सत्ता हत्याएका यिनले नावाबालक राजा त्रिभुवनका हातमा रहेको बचेखुचेको अधिकार पनि खोसेर शाहवंशलाई यिनकै पालादेखि पूरै हैसियतहिन नाममात्रको राजा बनाईएको थियो ।

यिनका केही विशेषता थिए, जस्तै सात महिनामै जन्मेका, टीबीका बिमारी, राणाहरूमध्ये मेट्रिक पास गर्ने पहिलो, सितिमिति हाँस्दै नहास्ने हाँसे भने केही न केही गर्ने भएकोले ‘चन्द्रे हाँस्यो कि नास्यो’ र ‘भित्ताको पनि कान हुन्छ’ भन्ने आख्यान नै प्रचलित रहेको आदि थिए । जन्मिदैका निकै च्याँसे भएको र जंगबहादुरले यिनलाई ‘फिस्टे’ भन्ने गरेकोले लोकोक्तिमा ‘फिस्टे महाराज’ कहलिएका । स्वभावमा अति धुर्त र क्रुर पनि । राणाहरूमा सबभन्दा धनाड्य ।

यिनका पालामा केही सुधारका काम पनि भए । कमारा–कमारी (दासप्रथा) को अन्त्य (वि.स.१९८२), सतीप्रथाको अन्त्य (वि.स.१९७७), केही अस्पताल, सप्तरीको चन्द्रनहर, चन्द्रनिगाहपुर बस्ती स्थापना, वीरगंज र जनकपुर–जयनगर रेलवे, नेपालको पहिलो विद्युत उत्पादन (फर्पिङ्) आदि । सन् १९२३ (वि.स.१९८० पुस ६) मा भएको नेपाल–बेलायत मैत्री सन्धी,जसले नेपाललाई सार्वभौम स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिएको, नेपालको लागि महत्वपूर्ण उपलब्धी हो । राष्ट्रसंघमा नेपालले सदस्यताका लागि आवेदनका साथ स्वतन्त्र मुलुकको प्रमाणका रुपमा यो सन्धी पनि पेश गरेको थियो । वास्तबमा नेपाल र तिब्बतका बीच भएको थापाथली सन्धी (१९१२ चैत १८) लाई यिनले बेलायतको पक्षमा मिचेर तिब्बतमा चढाई गरेको योङ् हज्बेन्ड मिसनलाई सैनिक समर्थन गरेपछि बेलायत खुशी भई उक्त सन्धी गर्नुका साथै यिनलाई बेलायत भ्रमण गराएको थियो ।

उनको शासनकालमा भारतीय उपमहाद्विपमा राजनीतिक परिवर्तनको चहलपहल बढ्दैजान थालेको थियो । पहिलो विश्वयुद्धमा डेढलाख बढी नेपाली लाहुरेहरू विश्वका विभिन्न भागमा पुगेर फर्केपछि तिनले आफ्ना गाउँघरमा बाहिरी विश्वमा देखे–भोगेको ज्ञानगुन र चमत्कारका कुरा सुनाउन थाले । बेलायतबिरुद्ध भारतमा स्वतन्त्रता संग्राम र ‘गान्धी युग’ व्याप्त भईसकेको थियो । यो अवस्थामा नेपाली विद्यार्थीलाई पढाइका लागि भारत पठाउँदा त्यहाँको चेतनाबाट दीक्षित भएका युवा विद्यार्थीले यता आफ्नो जहानिया शासनमा घातक प्रभाव पार्न सक्ने भएपछि धूर्त चन्द्र शमशेरले नेपालमै उच्चशिक्षा दिने अठोट गरेपछि त्रिचन्द्र कलेज (वि.स.१९७५) को स्थापना भएको हो । माथिको भनाई उनले यही सिलसिलामा भनेको भनी छोरा मोहन शम्शेरले बताएको कुरा इतिहासकार ज्ञानमणि नेपाललाई सोध्दा उहाँले पनि ‘त्यस्तै सुनेको हुँ’ भन्नुभयो ।

...

२८ वर्ष प्रधानमन्त्री भएका, यिनकै पालामा एशियाको सबभन्दा ठूलो दरबारको रुपमा, १७ सयवटा कोठा भएको सिंहदरबार सन् १९०३ मा बन्न सुरू भएर एकवर्षमै पूरा भयो, जो फ्रान्सको भर्साइल दरबारको डिजाईन कलाबाट प्रभावित थियो । उनले बनाएको दरबार २०३० साल असार २५ मा जलेर मटियामेट भयो।

सिंहदरबार परिसरको ३५० रोपनी जग्गा प्रतिरोपनी ९० रुपैयाँको दरले किनिएको थियो । उनले यो दरबार बनाउन राज्यकोषको ५० लाख रुपैयाँ खर्च गरे । सिकर्मी, डकर्मीको सबैजसो काम सेना, प्रहरी, पिपा तथा कैदीहरुद्वारा ‘नून–ढिँढो खर्च’मा गराईयो । सेनाकै सिकर्मी–डकर्मी खटाईयो । थोरैलाई मात्र दैनिक ४ देखि ६ पैसा ज्यालादारीमा काम लगाईयो । तयारी माल भारतबाट झिकाउँदा भन्सार पूरै मिनाह गरिएको थियो । यसरी बनाईएको यो दरबारलाई उनले सरकारलाई रू. २ करोडमा बेचे, जुन रकम जंगबहादुरले वि.स. १९२५ मा ११ करोड रुपैयाँ राखी खडा गरेको आजको कौषीतोशा खानाबाट झिकेका थिए । यसबाट उनलाई चोखो डेढकरोड नाफा भयो ।

(मूख्य स्रोत : नेपालको इतिहास, विकिपिडिया, आफ्नै नोट र स्व. हजुरबाबाट सुनेका केही ऐतिहासिक विवरण)

सम्बन्धित समाचार


Leave a Comment