Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

कोरोना भ्याक्सिन सम्वन्धि के गलत के सही जानीराखौं !


२०७८ बैशाख १३ गते , सोमवार प्रकाशित

uploads/media/


प्रश्न : के भ्याक्सिन लगाएपछि पनि माक्स लगाउनु पर्छ ?

अधुरो उत्तर : पर्छ ! (यति मात्र जवाफ अधुरो हुन्छ) 

सही उत्तर : भ्याक्सिन लगाउनु भनेको शरीरमा रोगप्रतिरोधि 'एन्टीबडि' निर्माण गर्नु हो । यो तुरुन्त हुन्न, केही समय लाग्दछ । त्यसैले शरीरमा 'एन्टिबडि' निर्माण नहुँदासम्मका लागि सुरक्षा गर्न माक्सले काम गर्ने भएकोले भ्याक्सिन लगाइसकेपछि पनि माक्स लगाउनु अनिवार्य हुन्छ । अर्को कुरो, आफूमा 'एन्टिबडि' विकास भई सुरक्षित भइसकेको भएपनि यदि आफूमा भाइरस प्रवेश भएको छ भने अरुको लागि नजानिदो रुपमा आफू भाइरस वाहक भइदिने खतरा हुन्छ । त्यसैले अरुलाई जोगाउनका लागि पनि माक्स लगाउनुपर्छ ।

प्रश्न : के भ्याक्सिन लगाईसकेपछि पनि मलाई कोभिड हुन्छ ?

गलत उत्तर : हुन्छ !

सही उत्तर : हुने सम्भावना ज्यादै न्यून हुन्छ । फरकफरक भ्याक्सिनको फरकफरक तहको प्रभावकारिता हुने भएअनुसार कुनैले ७०, कुनैले ९० त कुनैले ९५ प्रतिशत सुरक्षा गर्छ । यसको अर्थ भ्याक्सिन लगाएकाहरुमध्ये १०० जनामा ७०, ९० वा ९५ जनालाई शतप्रतिशत कोरोना लाग्दैन । तर, ३०, १० वा ५ जनालाई लाग्ने सम्भावना भने टार्न नसकिने हुन सक्छ । तर, तिनीहरुलाई कोरोना लागी हालेमा पनि मृत्युको मुखसम्मै पुग्नेहरुको सम्भावना भने ज्यादै न्यून हुन्छ ।

प्रश्न : के भ्याक्सिन लगाईसकेपछि मबाट अरूमा कोभिड सङक्रमण हुन रोकिन्छ ?

अधुरो उत्तर : रोकिंदैन

सही उत्तर : भ्याक्सिनले आफूलाई सुरक्षा गरे पनि आफूबाट अरुलाई कोविड सर्ने सम्भावना रहेकैले माक्स लगाउने गर्नुपर्ने हो ।

प्रश्न : भ्याक्सिन लगाई सकेको कति दिनसम्म यसले काम गर्छ ?

गलत उत्तर : कसैलाई जानकारी छैन ।

सही उत्तर : अमेरिकाबाट उत्पादित फाइजर र बेलायतको अक्सफोर्डबाट उत्पादित अस्ट्राजेनिका खोपको दोश्रो डोज लिएपछिको ७ देखि १४ दिनबाट शरीरमा कोविडबिरुध्दको 'एन्टिबडि' निर्माण हुने बताइएको छ । (हेर्नुहोस् : health.gov.au) । नेपालमा सुरुमा दिइएको भारतमा उत्पादित कोबिसिल्ड भ्याक्सिन पनि अस्ट्राजेनिक नै हो । त्यस्तै गरी पछिल्लो पटक १८ वर्षदेखि माथि र ६० वर्षभन्दा मुनिकालाई दिइएको चिनीया खोप 'भेरोसेल' ले पनि दोश्रो डोज दिइएको दुई हप्तापछि नै शरीरमा कोबिडबिरुध्दको एन्टिबडि निर्माण गरेको प्रयोगात्मक नतिजा प्राप्त भएको  US National Library of Medicine (clinicaltrails.gov) ले जनाएको छ ।


प्रश्न : भ्याक्सिन लगाईसकेपछि सोसल डिस्टेन्स राख्नुपर्छ कि पर्दैन ?

अपर्याप्त उत्तर : पर्छ । (यति मात्र भन्नु अपर्याप्त हुन्छ ।)

सही उत्तर : शरीरमा 'एन्टिबडि' हुनु आफ्नो लागि हो, अरुको लागि होइन । त्यसैले कोरोनाको 'चेन ब्रेक' गर्न अर्थात् स्वस्थ होस् या संक्रामक कोहीबाट पनि दोश्रो व्यक्तिलाई कोरोना नसरोस् भनेर हामीले ६ फिटको दूरी कायम गरी नै कारोवारहरु गर्नुपर्ने हुन्छ । संक्रामक रोगलाई नियन्त्रण गर्ने प्रभावकारी उपाय भनेको नै संक्रमणको साङ्ग्लो (infection chain) लाई चुँडाल्नु हो, जुन भौतिक (सामाजिक) दूरी कायम गरेर नै सम्भव हुन आउँछ ।

प्रश्न : के परिवार, साथीभाई सबैले भ्याक्सिन लगाई सकेपछि अङ्कमाल गर्न सकिन्छ ?

अपर्याप्त उत्तर : सकिंदैन ।

सही उत्तर : भाइरसले आफन्त भन्दैन । भ्याक्सिन लगाइसकेपछि कोहीमा थोरै दिनमा र कोहीमा तुलनात्मक धेरै दिनमा 'एन्टिबडि'को निर्माण हुने भएकोले निश्चित समयपछि सुरक्षित हुने भएपनि तत्कालका लागि अङ्कमाल नगर्दा नै सुरक्षित हुने निश्चितता रहेको हुन्छ । अनावश्यक जोखिम नलिने कोणबाट आफन्त नै भएपनि भ्याक्सिन लगाएको लगतै अङ्कमाल नगरौं भन्ने हो । रोग नियन्त्रणमा आइसकेपछि जति नै अङ्कमाल गर्दा त भइहाल्यो नि !

प्रश्न : भ्याक्सिनको फाइदा के हो ?

गलत उत्तर : कोभिडले मृत्यु नहुने अनुमान ।

सही उत्तर : ७० देखि ९५ प्रतिशतसम्मलाई शतप्रतिशत कोबिड हुनबाट जोगाउँछ । बाँकीलाई पनि कोबिड भइहाले पनि मृत्युको मुखसम्म नपुर्याउँने सम्भावना पर्याप्त हुन्छ ।

प्रश्न : के साँच्चै भ्याक्सिनेसनपछि कोभिडले मृत्यु वा कुनै रियाक्सन हुदैन ?

गलत उत्तर : कुनै ग्यारेन्टी छैन ।

सही उत्तर : भ्याक्सिनेसनपछि मृत्युको सम्भावना करिव सून्य नै हुन्छ । छिटपुट भएपनि त्यो गणनायोग्य भएको अहिलेसम्मको रेकर्ड छैन ।

प्रश्न : ९९% भाइरसले मृत्यु हुदैन । त्यसो भए फेरि भ्याक्सिन किन जरुरी छ ?

अपर्याप्त उत्तर : भविष्यमा सुरक्षित हुन ।

सही उत्तर :  प्रश्न नै गलत छ । अहिलेसम्मको नतिजा हेर्दा सुरुको भाइरसले संसारभर सालाखाला ३ देखि ४ प्रतिशतसम्म बिरामीहरुलाई मृत्युको मुखमा पुर्यायो । अहिलेको दोश्रो र तेश्रो उत्परिवर्तित (mutated) भाइरसले सोचेभन्दा ज्यादा बिरामीहरुलाई मृत्युको मुखमा पुर्याइरहेको घटना हामी ब्राजिल र भारतमा देखिरहेछौं । अर्को कुरा, बिरामीहरुको सङ्ख्या एकै समयमा अत्यधिक बन्दा मुलुकको स्वास्थ्य प्रणाली धरासायी बनेर बिरामीहरु उपचार नै नपाई मर्दछन्, जुन अहिले ती मुलुकहरुमा हामी देखिरहेछौं । त्यसैले भ्याक्सिन अनिवार्य छ ।

प्रश्न : भ्याक्सिनका कारण मेरो मृत्यु भएमा वा नोक्सान भएमा बनाउने कम्पनी यसको लागि जबाफदेयिता हुन्छ ?

अस्पष्ट उत्तर : बनाउने कम्पनी वा बितरण गर्ने सरकारको यसमा कुनै जबाफदेयिता हुंदैन।

सही उत्तर : कोबिडको भ्याक्सिन लगाएर नै मृत्यु भएको अहिलेसम्म पुष्टि हुने घटना रिपोर्टमा आएको छैन । केही युरोपेली देशहरुमा छिटपुट रुपमा भएको मृत्युका घटनाहरु भ्याक्सिनसँग नै सम्बन्धित भएको पुष्टि भएको छैन । त्यसको वैज्ञानिक अनुसन्धान भइरहेको छ । र, त्यस्तो घटना घटिनै हालेमा भ्याक्सिन उत्पादक कम्पनीले क्षतिपूर्ति दिन्न भनी वक्तव्य दिएको समाचार अहिलेसम्म बाहिर आएको देखिन्न । 

तसर्थ, कोही विद्वान नै सही अनाहकमा कसैद्वारा बाहिर प्रचारमा ल्याइएका अवैज्ञानिक एवं आधारहिन कुराबाट हामी कोही पनि भ्रमित हुनुहुन्न । कोहीको बिचार होइन, सत्यतथ्य, प्रमाण र विज्ञानको प्रयोग, परीक्षण र निष्कर्षमाथि भरोसा राख्नु नै सही हुन्छ ।

साभार

सम्बन्धित समाचार


Leave a Comment