Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

भक्तपुरमा तरकारी भण्डारणका लागि २ वटा कोल्ड च्याम्बर बन्दै, कृषक लाभान्वित हुने


२०७७ चैत्र ३० गते , सोमवार प्रकाशित

uploads/media/

जिल्ला कृषि सहकारी संघ भक्तपुरले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संघले सदस्य संस्थाहरुसँग कोल्ड च्याम्बर निर्माण, लगानी तथा सञ्चालनसम्बन्धी विषयहरुमा अन्तरक्रिया गरेको हो । संघका अध्यक्ष शनिस लागेजुको सभापतित्व एवं जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

संघको पहलमा बागमती प्रदेश कृषि निर्देशनालयको अनुदान सहयोगमा भक्तपुरमा २ वटा कोल्ड च्याम्बर निर्माण हुने भएको छ । च्याम्बर निर्माणका लागि निर्देशनालयसँग सम्झौता भइसकेको छ । कृषि सहकारी संघको २४ लाख र निर्देशनालयको ५० लाख लगानीमा च्याम्बर निर्माण गर्न लागिएको अध्यक्ष लागेजुले बताए । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–१०, चित्तपोल र मध्यपुर थिमी नगरपालिका–७ नगदेशमा यसै आर्थिक वर्ष भित्र च्याम्बर निर्माण गरिसकिने उनले बताए । दुवै च्याम्बरको क्षमता २० मेट्रिक टनको रहेको छ । संघमा आवद्ध ३८ सदस्य संस्थाहरुलाई त्यसबारेमा जानकारी दिने र आवश्यक लगानी जुटाउने उद्देश्यकासाथ अन्तरक्रिया गरिएको हो । चेम्बर निर्माणमा प्रारम्भिक संस्थाहरुले लगानी गर्ने प्रतिवद्धता जनाएको उनले बताए । 

तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरमा ९२ वटा कृषि सहकारी संस्था दर्ता रहेका छन् । ती मध्ये कृषिसँग सम्बन्धित काम गरिरहेका संस्थाहरु संघमा आवद्ध छन् । एकाध संस्थाले बचत ऋणको कारोबार गर्दै आएको भएपनि अधिकांश संस्थाले कृषिको प्रवर्द्धनमा काम गर्दै आएको उनले बताए । 

संस्थाहरु स्वयंले धान र गहुँको बीउ उत्पादन गरी सदस्यहरुलाई उपलब्ध गराउँदै आएका छन् भने नर्सरीको काम गर्ने संस्था पनि रहेका छन् । त्यसैगरी सदस्यहरुलाई आवश्यक मलखाद, बीउबीजन प्रदान गर्नुका साथै कोप–सप एवं तरकारी बजार सञ्चालन गरी सदस्यहरुबाट उत्पादित कृषि उपजको विक्रीवितरणमा टेवा पुर्‍याउँदै आएका छन् । सिजनमा भक्तपुरमा अधिक उत्पादन हुने भएकाले कृषकले उचित मुल्य नपाउने अवस्था रहँदा कोल्ड च्याम्बर निर्माण गरी अफसिजनमा विक्री वितरण गर्न सकियोस् भन्ने उद्देश्य रहेको अध्यक्ष लागेजुको भनाई छ । 

भक्तपुरमा कृषिलाई संस्थागतरुपमा व्यवसायिक र आधुनिकीकरण गर्न आफुहरु लागिपरेको उनले बताए । गत वर्ष कोरोना भाइरस महामारीका कारण सरकारले गरेको लकडाउनका बेला कृषकले उत्पादन गरेको तरकारी उपभोक्ताको घरघरसम्म पुर्‍याएर संघले उदाहरणीय काम गरेको थियो । संघको पहलमा ८० दिनसम्म कृषकद्वारा उत्पादित तरकारीलाई टोलटोलमा लगेर विक्रीवितरण गर्ने काम संघले गरेकै कारण कोल्डस्टोर निर्माणमा सबैको ध्यान पुगेको उनले जनाए । 

संघले महामारीका बेलामा देखाएको सक्रियताका कारण राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र नेपाल कृषि केन्द्रिय सहकारी संघले च्याम्बर निर्माणका निम्ति सहयोगी भूमिका खेलेको उनले बताए । संघले अन्तरव्यवसाय कार्यक्रम समेत शुरु गरिसकेको छ । 

संघले एक जिल्लामा उत्पादन भएको कृषि उपज अर्को जिल्लामा लगेर विक्रीवितरण अन्तरव्यवसाय कार्यक्रम शुरु गरेको हो । यसका लागि झापा, मोरङ, धादिङ, मकवापुर र काभ्रेका सहकारीबीच समन्वय गरेर काम हुँदै आएको छ । 

संघको तथ्यांक अनुसार भक्तपुरमा २५ हजार व्यक्ति कृषि सहकारीहरुमा आवद्ध रहेका छन् । 



सम्बन्धित समाचार


Leave a Comment