Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

अधिक तरलता घटेसँगै बैंकिङ प्रणालीमा चाप, “आत्तिइहाल्नुपर्ने अवस्था भने होइन”


२०७७ चैत्र २ गते , सोमवार प्रकाशित

uploads/media/

" उत्पादनमूलक क्षेत्रमा लगानी बढेकाे देखिए राष्ट्र बैंकले तरलता व्यवस्थापनमा सघाउँछ "

 नारायण प्रसाद पौडेल, उपप्रवक्ता, नेपाल राष्ट्र बैंक


कोरोना भाइरसको प्रभाव कम हुँदै जाँदा मुलुकमा आर्थिक गतिविधि बढेसँगै बैंकहरुमा तरलताको चाप बढ्न थालेको छ । लामो समयको लकडाउनले सुस्त बनेको आर्थिक क्षेत्रका गतिविधिले गति लिएसँगै कर्जाको माग बढ्दा तरलतामा चाप देखा पर्न थालेको हो । 

विगत झण्डै एक वर्षसम्म भने बैंकहरुमा अधिक तरलताको स्थिति रहेको थियो । कोरोना भाइरस संक्रमण फैलिन नदिन गत वर्ष चैत्रमा देशव्यापी लकडाउन शुरु भएयता झण्डै २ खर्ब रुपैयाँको हाराहारीसम्म अधिक तरलता रहेको थियो ।

नेपाल राष्ट्रबैंकका उपप्रवक्ता नारायण प्रसाद पौडेल बैंकिङ प्रणालीमा अधिक तरलता घट्दै गएको बताउँछन् । ‘दुई महिना अगाडि २ सय अर्बको हाराहारी रहेको अधिक तरलता अहिले घटेर ६६ अर्बमा झरेको छ,’ उनले भने ‘एकातिर अधिक तरलता घटिरहेको छ भने अर्कोतर्फ भारित औसत ब्याजदर ३.१० प्रतिशत पुगेको छ । दुई महिना अगाडि यस्तो दर ०.२५ प्रतिशत मात्र थियो ।’ 

बैंकिङ प्रणालीमा अधिक तरलता घट्दै गएको छ भने अन्तर बैंक व्याजदर बढ्दै गएको छ । यसले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम कम हुन गई बढी व्याज तिरेर भएपनि बैंक सापटी चलाएको प्रष्ट पार्छ । 

अर्कोतर्फ बैंकहरुको लगानी निजी क्षेत्रतर्फ उल्लेख्य मात्रामा बढेको देखिन्छ । चालु आवको तेश्रो देखि पाँचौं महिनासम्म ११ देखि १२ प्रतिशतसम्म निजी क्षेत्रतर्फ कर्जा प्रवाह वृद्धि भएको पौडेलको भनाई छ । चालु आवको पुष मसान्तसम्म आइपुग्दा त्यस क्षेत्रतर्फ प्रवाह भएको कर्जा विस्तार १५ प्रतिशत पुगेको छ । निजी क्षेत्रतर्फ अधिक कर्जा वृद्धि र अधिक तरलता कम हुँदै आएकाले अन्तर बैंक ब्याजदर बढेको राष्ट्र बैंकले जनाएको छ । 

यसको प्रभाव निक्षेपकर्तालाई पर्ने देखिएको छ । बैंकहरुले बढी ब्याज दिएर निक्षेप संकलन गर्नुपर्ने हुन्छ । निक्षेपमा बढी ब्याज नदिई बैंकहरुले पैसा पाउँदैनन् । यस आ.व. का लागि राष्ट्र बैंकले २० प्रतिशतसम्म निजी क्षेत्रतर्फ कर्जा विस्तारको लक्ष्य लिएकाले अझै स्पेस बाँकी रहेको उपप्रवक्ता पौडेलले बताए । 

तरलता घटेको र अन्तरबैंक लगानीको ब्याजदर बढ्दा बैंकहरुको कष्ट अफ फण्ड बढ्न गएकाले कर्जा लगानीमा ऋणको ब्याजदर बढ्न सक्ने देखिएको छ । 

बैंकहरुले उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार गरिरहेका छन् भन्ने राष्ट्र बैंकलाई लाग्यो भने मौद्रिक नीतिको व्यवस्था अनुसार आवश्यक तरलता बैंकिङ प्रणालीमा उपलब्ध गराउँदै जान सक्ने संकेत उनले गरे । 

‘कर्जाको माग कताबाट बढी भएको छ ? ऋण लगानी गर्दा ब्याजदर कहाँ पुगेको छ ? उत्पादनमूलक क्षेत्रमा ऋण बढेको छ कि छैन ? भन्ने जस्ता सूचकलाई हेरेर राष्ट्रबैंकले तरलता व्यवस्थापन गर्दै जान्छ,’ उनले भने ‘अहिले तरलता घटेको छ भनेर आत्तिइहाल्नुपर्ने स्थिति छैन । मौद्रिक व्यवस्थापक भएको हुनाले हामी त्यसतर्फ सचेत रहँदै ऋणको प्रवाह कुन क्षेत्रमा बढेको छ भन्ने कुरालाई अध्ययन गर्दै बजारलाई आवश्यक पर्ने पुँजी उपलब्ध गराउँछौं । ’ 

उनका अनुसार कोरोनाको प्रभाव घटेसँगै आर्थिक गतिविधि बढ्दा तरलतामा चाप केहि बढेको हो । अहिले ऋणको माग बढेको छ भने व्यवसायीहरु उत्साहजनक रुपमा लगानी गर्न होमिएका छन् । यो अर्थतन्त्रका लागि सकारात्मक सन्देश पनि हो । 

कोभिडले थला परेको अर्थतन्लाई पहिलेकै लयमा फर्काउनले राष्ट्र बैंकले पुनकर्जाको सुविधा समेत दिएको छ । राष्ट्र बैंकले २ पटक सो कर्जाका लागि आवेदन आव्हान गरेको थियो । दुई पटक गरेर १ सय २५ अर्ब रकम त्यसतर्फ स्वीकृत भएको र व्यवसायीयहरुले प्राप्त समेत गर्न थालिसकेको राष्ट्र बैंकको भनाई छ ।  सस्तो ब्याजदरको रकम भएकाले लगानीकर्ताले ढिलोचाँडो यो रकम लिने र यसले पनि आर्थिक गतिविधिलाई अझ चलायमान बनाउने अपेक्षा गरिएको छ । त्यसैगरी सरकारले ५ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ । ४६ हजार ऋणीहरुले उक्त कर्जा उपभोग गरिराखेका छन् भने त्यस क्षेत्रको १ खर्ब कर्जा उठ्न बाँकी रहेको छ । 

कोभिडबाट थलिएको अर्थतन्त्रलाई पुनरोत्थान गर्न राष्ट्र बैंकले विभिन्न सुविधा दिँदै आएको छ । यसले अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने देखिन्छ । 

पछिल्लो समय ओभरड्राफ्ट ऋणको माग बढेको छ । ओभरड्राफ्ट मार्फत जाने ऋणको उद्देश्य स्पष्ट रुपमा नखुल्ने हुँदा कुन क्षेत्रतर्फ ऋण बढी गएको छ भन्ने आँकलन गर्न राष्ट्र बैंकलाई पनि चुनौति थपिएको छ ।  तथापि पर्यटन क्षेत्रमा केहि मात्रामा कर्जा विस्तार भएको छ । यस क्षेत्रमा लगानीको आकर्षण बढेको देखिएको छ । हाइड्रो क्षेत्रको ऋण स्याचुरेसनमा पुगेको देखिएको छ भने कृषिमा अनुदानसहितको ऋण भएकाले माग्ने क्रम बढ्ने क्रम जारी रहेको राष्ट्र बैंकको तथ्यांक छ । 

सम्बन्धित समाचार


Leave a Comment