Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

घरजग्गामा लगानी गर्दा पशुपति सेभिङ वित्तीय संकटमा, ८ हजार सदस्यको १ अर्ब ८३ करोड बचत जोखिममा


२०७७ फाल्गुन १९ गते , बुधवार प्रकाशित

uploads/media/

पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले सदस्यबाट संकलित बचत अनुत्पादक क्षेत्रमा लगानी गर्दा वित्तीय रुपमा संकटमा फसेको छ । सदस्यको बचत सदस्यहरुबीचमा नै परिचालन गर्नुपर्ने कानुनी व्यवस्था भएपनि संस्थाका सञ्चालकहरुले जथाभावी घरजग्गामा रकम लगानी गर्दा संस्था वित्तीय संकटमा परेको हो । संस्था संकट परेसँग सदस्यहरुले बचत फिर्ता पाउन सकेका छैनन् । 

संस्थामा एक लाख सम्म बचत गर्ने सदस्यको संख्या ४८५३ रहेको छ । उनीहरुको मात्रै १७ करोड २२ लाख १८ हजार रुपैया बचत रहेको छ । त्यसैगरी ५ लाख रुपैयासम्म बचत गर्ने सदस्य २१२६ जना रहेका छन् । उनीहरुको ४२ करोड ६६ लाख ७७ हजार रुपैया बचत रहेको छ । त्यसैगरी ठूला बचतकर्ता ११६७ सदस्य जनाको बचत १ अर्ब २३ करोड ५० लाख रहेको छ । सबैो गरी संस्थामा ८१४६ जना आवद्ध रहेको देखिन्छ । ती सबै सदस्यको बचत १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार २८३ रहको छ । 

संस्थाको फागुन पहिलो साता सम्पन्न विशेष साधारणसभाले एउटा व्यवस्थापन समिति गठन गरी घरजग्गा र नगद मिलाएर बचत फिर्ता गर्ने जानकारी सदस्यलाई गराएको थियो । संस्थाले विजेन्द्र पसाछेँको संयोजकत्वमा २ कर्मचारी र ३ जना शेयरसदस्य रहेको व्यवस्थापन समिति गठन गरिने जनाएको भएपनि हालसम्म त्यस विषयमा आधिकारिक जानकारी गराएको छैन । 

वित्तीय रुपमा संकटमा परेपछि दुई जना सञ्चालकले राजिनामा दिएपनि संस्था असहज परिस्थितिमा रहेको भन्दै उनीहरुको राजिनामा विशेष साधारणसभाले स्वीकृत गरेको छैन । 

संस्थाका एक सदस्यले लकडाउन अगाडि नै म्याद पूरा भएको मुद्दती बचतको रकम अहिलेसम्म फिर्ता नपाएको गुनासो गरे । संस्थाका व्यवस्थापन पक्षले पैसा फिर्ता माग्न जाँदा उल्टै थप बचत ल्याउन भनेको उनले सुनाए । संस्थाले नारायणघाट, धुलिखेल, चन्द्रनिगाहपुर, भैंसेपाटी, लामाटारलगायतका स्थान जग्गा किनेको र सदस्यहरुलाई बचतको साटो जग्गा लिन भनेपनि आफूहरुले मागेको ठाउँमा जग्गा नदिएको उनले जनाए । आफूले भैंसेपाटीको जग्गा चलनचल्तीको मुल्यमा लिन तयार भए पनि व्यवस्थापन पक्षले उपत्यका बाहिरको मात्र जग्गा दिने जनाएको उनको भनाई छ । 

संस्थाले विक्री गर्न लागेका प्लटहरु हेर्न जाने सदस्य र गैर सदस्यहरुलाई यातायातको व्यवस्था गर्ने जनाएको र नाम पनि रजिष्टर गराउन थालेको बुभिएको छ । संस्थाले भौतिक पूर्वाधार र स्थानको आधारमा न्यूनतम प्रति घडेरी १० लाख मुल्य राखेको छ । 

ललितपुरको मानभवनमा मुख्य कार्यालय रहेको संस्थाको, काठमाडौंको जमल, डिल्लीबजार, भक्तपुरको गठ्ठाघर र सूर्य विनायकमा सेवा केन्द्र रहेका छन् ।

सम्बन्धित समाचार


Leave a Comment