Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

सहकारी बन्यो महिलाहरूको आर्थिक सामाजिक रुपान्तरणको सारथी


२०७७ चैत्र २५ गते , बुधवार प्रकाशित

uploads/media/


माधव खड्का, काठमाण्डौ ।

आर्थिक तथा सामाजिक हिसाबले पछाडि परेका महिलाहरुको उत्थानमा सहकारीले सारथीको भूमिका खेल्दै आएको छ । नेपाली समाजमा महिलाहरुलाई दोश्रो दर्जामा राख्ने गरिएको परिप्रेक्ष्यमा सहकारीका माध्यमबाट उनीहरुको सशक्तिकरण हुनुकासाथै आर्थिक तथा सामाजिक स्तरमा ठूलो परिवर्तन आएको छ । 

कुनै समय घरभित्रको चुलोचौको र बालबच्चाको लालनपालनमा मात्र सीमित महिलाहरु सहकारीले दिएको शिक्षाका कारण नेतृत्व तहमा समेत पुगेर आफ्ना कुरा राख्न सक्ने भएका छन् । मुलुकमा खुलेका सहकारीहरुले महिलाको चेतनास्तर देखि आयस्तर उकास्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । त्यसैले सहकारीमा पुरुषको भन्दा महिलाको आकर्षण समेत बढेको तथ्यांकले देखाएको छ । नेपालमा खुलेका झण्डै ३० हजार सहकारीमा ७३ लाख सदस्य रहेकाको आँकडा सहकारी विभागको छ । त्यसमध्ये ५६ प्रतिशत महिला सदस्य रहेका छन् । जुन पुरुषको तुलनामा १२ प्रतिशतले अधिक हो । समाजमा पीछडिएका, आयआर्जनको कुनै श्रोत नभएका र वित्तीय पहुँचमा समेत नपुगेका महिलाहरुलाई सहकारीले समेटेको छ । उनीहरुमा वित्तीय पहुँच अभिवृद्धि गरी सहकारीले आय आर्जनको बाटो देखाइदिएको छ भने सीपविकास, उद्यमशीलता, वित्तीय सचेतना र समयसापेक्ष विभिन्न तालिम तथा प्रशिक्षण दिएर उनीहरुलाई सबल बनाउने बाटोमा सहकारीले डोर्‍याएको छ । 

महिला सदस्यहरुलाई सहकारीमा आकर्षित गर्नका निम्ति संस्थाहरुले फरकफरक योजनाहरु समेत अघि सारेका छन् । महिला बचत खाता, सुत्केरी भत्ता, महिला लक्षित स्वास्थ्य शिविर, लघुवित्त समुह जस्ता थुप्रै योजनाहरु संस्थाले ल्याएका छन् । 

समाजमा हरेक हिसाबले पछाडि पारिएका महिला समुदायलाई सहकारीमार्फत समानान्तर रुपले अघि बढाउन सहकारी संस्थाहरु क्रियाशील रहेका छन् । महिलाहरुलाई नै लक्षित गरेर खुलेका सहकारीहरुको संख्या पनि ४ हजारभन्दा  बढी छ । महिलाद्वारा महिलाकै लागि खोलिएका सहकारीहरु त झन् उनीहरुका लागि बरदान जस्तै भएको छ । संस्थाका सञ्चालकदेखि कर्मचारीसम्म महिला हुँदा आफ्ना समस्या र आवश्यकताका बारेमा बिना हिच्किचाहट खुलेर कुरा राख्न सक्छन् । महिलाद्वारा सञ्चालित सहकारीहरुको व्यवस्थापन पक्ष समेत अब्बल रहेका छन् भने सुशासन र पारदर्शिताको विषयलाई पनि उत्तिकै ख्याल गरेको उदाहरण प्रशस्त पाइन्छ । 

महिलाहरुलाई जागरुक बनाएको, चेतनाको स्तर वृद्धि गरेको र अलिअलि भएपनि पैसा देख्न र चिन्न सक्ने बनाउने काम सहकारीले गरेको सहकारी विभागका उपरजिष्ट्रार सुरेन्द्रराज पौडेल बताउँछन् । कुनै समय घर खर्च टार्न श्रीमानकै भर पर्ने महिलाहरु सहकारीमा आवद्ध भएर ससानो व्यापार व्यवसाय गर्न थालेपछि आत्मनिर्भर बन्नुका साथै खरखाँचो टार्न समेत सक्षम बनेको उनले बताए । सहकारीमा महिलाको सहभागिता बढ्दै गएको र नेतृत्व तहमा समेत उनीहरुको उपस्थिति बढाउन सबै पक्षले जोडबल गर्नुपर्ने उनको तर्क छ । महिलाहरुलाई आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा सबल बनाउन सहकारीले सघाएको पौडेलको ठम्याई छ । 

विभागले समेत महिलाद्वारा सञ्चालित सहकारीहरुलाई अनुदानमा प्राथमिकता दिँदै आएको छ भने एकिकरण गर्न समेत महिला सहकारीहरुलाई बाध्य बनाएको छैन । ‘कर्णाली प्रदेशका महिलाहरुको सशक्तिकरणका लागि विभागले काम गर्ने भन्दा पनि स्थानीय तह र प्रदेश सरकारको भूमिका मुख्य हुन्छ’, उनले भने ‘प्रदेशमा रहेका सरकारी निकाय र सहकारीहरुले सहकार्य गरेर महिलाको उत्थान गर्न सक्छन् ।’

ऐनमा नेतृत्व तहमा ३३ प्रतिशत सहभागिता हुनुपर्ने व्यवस्था भएपनि त्यसमा समस्या रहेको पौडेल स्वीकार गर्छन् । सहकारी महासंघमा नै ३३ प्रतिशत महिला सहभागिता छैन भने प्रारम्भिक संस्थामा त त्यो हुने नै भएन । उनले थपे ‘वित्तीय पहुँच, सशक्तिकरण, रोजगारी, उद्यमशीलता विकास र आत्मनिर्भर बनाउने कुरामा सहकारीको भूमिका राम्रो छ ।’

त्यसैगरी सहकारी विकास बोर्डका पूर्व सहअध्यक्ष सरोजकुमार शर्मा महिलाहरुको नेतृत्व विकास देखि बोल्ने क्षमता, आर्थिक सशक्तिकरण, उद्यमशीलता विकास र जागरणमा सहकारीले अग्रणी भूमिका निभाएको बताउँछन् । सहकारीकै कारण पहिलेको तुलनामा अहिले महिलाहरुको अवस्था माथि उठेको उनको दावी छ । उनले भने ‘राम्रोसँग बोल्न जान्ने, बचत परिचालन गर्न सक्ने र परिवारमा आर्थिक योगदान पु¥याउने कुरामा सहकारीले क्रान्ति नै गरेको छ । महिलाहरुलाई उद्यमशीलतामा जोडी आयात प्रतिष्थापन समेत गर्न सकिने शर्माले बताए । देशमा आधा जनसंख्या महिलाको छ । उनीहरुलाई निष्कृय बनाएर वा चुलाचौकामा मात्रै सीमित गरियो भने अर्थतन्त्र अगाडि बढ्न सक्दैन । शर्मा थप्छन् ‘हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा महिला दिदीबहिनीमा उद्यमशीलताको विकास गरी रोजगारका अवसर दिएर आर्थिक उपार्जनमा जोड्नु अझ आवश्यक छ । उनीहरुबाट उत्पादन गर्न सकिने पापड, भुजिया, अगरबत्ती, पोते, टिका जस्ता वस्तुहरु भारतबाट अर्बौं रुपैया तिरेर आयात भइरहेको छ । महिलाहरुलाई ती व्यवसायमा सहकारीमार्फत अग्रसर गराउन सके व्यापार घाटालाई न्यूनीकरण गर्दै जान सक्ने उनको धारणा छ । 

राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भट्टराई सहकारी महिलाका लागि सिक्ने पाठशाला बनेको बताउँछिन् । समाजमा महिला र पुरुषबीचको विभेद परापूर्वकालदेखि नै रहेको बताउँदै उनले त्यसलाई क्रमश घटाउँदै लैजान सहकारीको भूमिका महत्वपूर्ण रहेको बताइन् । महिलाहरुलाई कसरी अगाडी बढाउन सकिन्छ भन्नेमा धेरै संघ संस्थाले प्रयास गरेको भएपनि सहकारी ऐन २०४८ आएपछि घरभित्रै बसेका महिलाहरुलाई बाहिर ल्याउन ग्रामीण तहसम्म सहकारीले भूमिका खेलेको छ । घर गृहस्थी र खेतीपातीमा संलग्न बाहेक महिलाहरुको घरबाहिर निस्कने स्पेस नै थिएन उनले थपिन्, सहकारी नै उनीहरुका लागि स्पेस बन्यो । कम्तीमा महिनाको एकपटक सहकारीसम्म बचत गर्न जाने मौका उनीहरुले पाए ।’

महिलाहरुमा सहकारीले नेतृत्व विकास, बचतको अवधारणा, उद्यमशीलताको विकास जस्ता धेरै आयाममा परिवर्तन ल्याएको छ । ‘ससानो बचत गर्दै जाँदा उनीहरु आर्थिक रुपमा समेत सबल बन्दै गएका छन् भने व्यापार व्यवसाय गर्न चाहनेहरुका लागि ऋण सुविधा पाएका छन् ।  यसले त उनीहरुको आर्थिक, सामाजिक र साँस्कृतिक स्तरलाई नै परिवर्नत गरिदियो’ भट्टराईले थपिन, ‘सहकारीमा हरेक वर्ष साधारणसभा हुन्छ, सञ्चालक समिति, विभिन्न उपसमिति चयन गरिन्छ, शिक्षा तथा तालिम दिइन्छ । यसले नेतृत्व समेत विकास गरेको छ । ’

२० वर्ष पछि भएको स्थानीय तहको निर्वाचनमा महिला प्रतिनिधिहरुमध्ये अधिकांश सहकारीका सञ्चालक, विभिन्न उपसिमित सदस्य वा सहकारीका साधारण सदस्य रहेका नै बढि छन् । महिलाहरुको नेतृत्व विकासमा सहकारीले गाउँदेखि शहरसम्म क्रान्ति नै ल्याइदिएको उनको ठम्याई छ । 

सहकारीले महिलाहरुलाई घरपरिवार र टोलसमाजमा आत्मसम्मानका साथ बाँच्न सक्ने वातावारण सिर्जना गरिदिएको छ । उनले भनिन् ‘महिलाहरु आर्थिक रुपमा सबल बनेका छन्, सामाजिक प्रतिष्ठा बढेको छ । र उनीहरुको समग्र जीवनस्तरमा नै परिवर्तन आएको  छ । 

महिला शिक्षित हुँदा सिंगो परिवारमा नै प्रभाव पर्ने भएकाले बालबच्चाको शिक्षादिक्षादेखि भविष्यका लागि बचत गर्नेसम्मको काममा उनीहरुको भूमिका बढेको छ । बुबामा भन्दा आमामा बाल बच्चाका लागि बचत गर्नुपर्छ भन्ने भावना बढि भएको र सोही अनुसार आफ्ना बच्चाको भविष्यका लागि ससानो रकम बचत उनीहरुले गर्ने गरेको भट्टराई बताउँछिन् । 

सहकारी ऐन २०७४ले नेतृत्व तहमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था गरेको भएपनि प्रारम्भिक देखि केन्द्रिय तहसम्म १८ प्रतिशतको हाराहारीमा मात्र महिला नेतृत्व रहेको उनको भनाई छ । केन्द्रिय स्तरमा सहकारी बैंकले पहिलो पटक नेतृत्वमा ३३ प्रतिशत सहभागिता गराएको र नेफ्स्कुन र महासंघले पनि नेतृत्वमा महिलाको संख्या बढाउँदै लगेको उनले बताइन् । 

प्रारम्भिक संस्थाबाटै महिलालाई नेतृत्वमा सहभागी गराई जिल्ला, प्रदेश र केन्द्रसम्म पुग्न सक्ने वातावरण बनाउन सबैसँग उनको आग्रह छ । कुनै समय अरुमा निर्भर रहने महिलाहरु सहकारीमा आवद्ध भएर ससानो व्यवसाय गरी अहिले आर्थिक रुपमा समेत आफैं सबल बन्दै गएका छन् । भट्टराईले नेतृत्व गरेको महिला अभियान साकोसले समेत १२०० महिलाहरुलाई आवद्ध गराई बचत गर्ने, व्यवसाय गर्ने र आत्मनिर्भर बनाउने बाटोमा डोर्‍याएको छ । कुनै पनि क्षेत्रमा एकैपटक छलाङ्ग मार्न नसकिने तर सकारात्मकता भने देखिँदै गएको उनको बुझाई छ । सहकारीकै कारण महिलाहरुको सम्पत्तिमाथि समेत पहुँच अभिवृद्धि भएको छ । त्यसमा पनि महिला सहकारीहरु त उनीहरुका लागि धेरै कुरा सिक्ने थलो बनेको छ । महिला सहकारी संस्थाका सञ्चालक र सदस्यको भावना मिल्ने हुँदा उनीहरु आपसमा खुलेर कुरा राख्न सक्छन् । मुलुकमा खुलेका ४ हजार १ सय महिला सहकारी त उनीहरुका लागि झन् अन्यभन्दा प्रभावकारी बनेका छन् । सहकारी ऐनमा ३३ प्रतिशतको व्यवस्था भएपनि महिलाहरुको लागि अन्य विशेष कार्यक्रम आउन नसकेको उनले बताइन् । 

झापाको शिवसताक्षीमा रहेका महिलाहरु सामुहिक रुपमा मौरीपालन व्यवसायमा लागेपछि उनीहरुको जीवनमा ठूलो परिवर्तन आएको छ । २०५५ सालबाट समुहमा मासिक २० रुपैया बचत थालेका महिलाहरुले २०६३ सालमा त्यसलाई औपचारिक रुपमा सहकारीमा परिणत गरेर शिवसताक्षी मौरी पालन महिला सहकारी नाम राखे ।  अध्यक्ष धनमाया थापा र देवी कुमारी वलीले दुईदुई घारबाट मौरीपालन व्यवसाय शुरु गरे । दुई जना बाट शुरु गरेको मौरीपालन व्यवसायमा हालसम्म आइपुगदा ३२० महिला सहभागी भइसकेका छन् ।

‘संस्थामा आवद्ध प्रत्येक महिलाले न्यूनतम ५ देखि १० घार र अधिकतम २०० घारसम्म मौरी पालेका छन्,’ अध्यक्ष धनमायाले थपिन्, ‘थोरै मौरी पाल्नेले पनि वार्षिक १ लाख रुपैया कमाई गर्छन् । मौरी पालनमा लागेपछि महिलाहरु स्वावलम्बी बनेका र आफ्नो व्यक्तिगत आवश्यकता देखि घरायशी खरखाँचो समेत टार्न सक्ने बनेका छन् ।’ अहिले यहि व्यवसायबाट वार्षिक १५ देखि २० लाख आम्दानी हुने गरेको र खर्च कटाएर १०–१२ लाख आफू बचाउने गरेको धनमायाले बताइन् । त्यसैगरी संस्थाकी व्यवस्थापक देवी कुमारी वलीले पनि २०० घार मौरीपालनबाट वार्षिक ३० लाख भन्दामाथिको कारोबार गर्ने गरेकी छिन् ।  निम्न आय भएका विपन्न महिलाहरुलाई आयआर्जनमा जोड्नका लागि सहकारीमार्फत मौरीपालन शुरु गरेको उनले जानकारी दिइन् ।  

मकवानपुरको फाखेलमा रहेको सक्रिय महिला साकोसले संस्थाको कार्यक्षेत्रभित्र रहेका ३ हजार महिलालाई कसरी सक्षम बनाउन सकिन्छ भनेर काम गरिराखेको व्यवस्थापक सविना लामा बताउँछिन् । संस्थाले महिलाहरुलाई आत्मनिर्भर बनाउन, टेलरिङ, च्याउ खेती, मुडा बनाउने, डल, कुशन बनाउने जस्ता तालिमहरु दिँदै आएको छ । महिलाहरु बढि हिंसामा पर्ने भएकाले संस्थाले प्रभावित महिला सहायता कोष खडा गरेको छ । त्यस्ता प्रकारका विपद आइपर्दा त्यहि कोषबाट पीडितलाई सहयोग उपलब्ध गराउने र कानुनी प्रक्रियामा जान संस्थाले सघाउने गर्छ । 

सहकारीले चेतना र आर्थिक हिसाबले त्यस भेगका महिलाहरुमा ठूलो रुपान्तरण ल्याएको छ । शुरुमा महिलासँग एक रुपैया पैसा हुँदैन थियो । अहिले कम्तीमा ५०–६० हजार रुपैया प्रत्येक महिलाको खातामा छ । उनले थपिन् ‘श्रीमानले उनीहरुलाई हेरेनन् भनेपनि आफ्नो गर्जो आफैं टार्न सक्ने भएका छन् । संस्थाले आम्दानीका लागि व्यवसायिक तरकारी खेतीमा जोड दिएको छ । साथै आम्दानीका अन्य विकल्पहरु देखाइदिएको छ । 

त्यसैगरी बालाजुमा रहेको प्रगति महिला उत्थान साकोसले समुहमार्फत बचत संकलन र ऋण लगानी गर्दै आएको व्यस्थापक प्रतिमा तामाङले बताइन् । संस्थाले सदस्यहरुका लागि विभिन्न बचत योजना अघि सारेको र उनीहरुलाई समुहमार्फत नै बचत र ऋण सुविधा दिने गरेको उनले जनाइन् । संस्थाले ३३ वटा समुहमार्फत उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक रुपमा पीछडिएका महिलाहरुलाई संस्थाले ५ प्रतिशत व्याजदरमा १० देखि १५ हजार रुपैया घुम्ती पसल, नाङ्ले पसल, खुद्रा पसल सञ्चालनका लागि ऋण दिने गरेको छ । यसले उनीहरुको आर्थिक स्तरमा सुधार ल्याउन सघाएको छ । संस्थाले सदस्यहरुलाई सबल बनाउन कृषि, पशुपालन, व्यापार व्यवसायमा लगानी गरेको छ । जसका कारण उनीहरुमा देखिन सक्ने गरी परिवर्तन आएको व्यवस्थापक तामाङ बताउँछिन् । संस्थाले सदस्यहरु सुत्केरी हुँदा २ हजार रुपैया भत्ता दिनुका साथै मेरी स्टोप्ससँग सहकार्य गरेर टोलटोलमा गएर महिलासम्बन्धी रोगका बारेमा चेकजाँच र चेतना फैलाउने काम गर्दै आएको छ । महिला सशक्तिकरणका क्षेत्रमा ठूलो प्रभाव पारेको उनले जनाइन् ।  

सोही सहकारीमा १५ वर्ष अघि सदस्य बनेर बंगुरपालन गर्दै आएकी सुनिता सुनुवारको जीवनमा ठूलो परिवर्तन आएको छ । संस्थाबाट १० हजार रुपैया ऋण लिएर उनले व्यवसाय शुरु गरेकी हुन् । अहिले ४–५ लाखसम्म बिनाधितो ऋण पाउँदा व्यवसाय गर्न सजिलो भएको र बंगुरपालनबाट मासिक १ लाखसम्म आम्दानी गर्ने गरेको उनले बताइन् । व्यक्तिले हामीलाई ऋण पत्याउँदैनथे । उनले भनिन् ‘सहकारी नभएको भए हाम्रो अवस्था सुध्रिने थिएन । सहकारीकै कारण हाम्रो जिन्दगी बदलिएको छ ।’

लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment