Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

प्रतिगमन विरोधी आन्दोलनका प्रथम शहीद देवीलालको परम्परा


२०७७ चैत्र २४ गते , मंगलवार प्रकाशित

uploads/media/



हामीकहाँ प्रजातन्त्र आए पनि गणतन्त्र आए पनि  हरेक कुरा निरंकुश शासनमा जस्तै सनक र हचुवाको भरमा गर्ने गलत परम्परा कायमै छ । एउटा दलको बहुमत भए पछि या दलहरु मिलेर बहुमत पुग्ने भए पनि तथ्य, तर्क, बिबेक र बैज्ञानिकता सबै कुरालाई तिलाञ्जली दिएर निर्णय गर्ने गरिन्छ । यस सन्दर्भमा कतिपय दलहरुले आफुलाई अजम्मरी र शाश्वत  नै पनि ठान्ने गरेका छन् । उनीहरुको चुरीफुरी, गतिबिधि  र ताल हेर्दा आफुलाई उनीहरुले कुनै बंशानुगत राजा महाराजा भन्दा कम मान्दैनन् । उनीहरुले दलहरु हिजो थिएनन् एउटा कालखण्डमा ती जन्मिन्छन् तिनको पनि समय क्रममा अबसान हुन्छ भन्ने कुराको पनि हेक्का राख्दैनन् । त्यति मात्रै होइन, शोषण अन्याय, थिचोमिचो अरुले गरेको मात्र बिरोध गर्ने हो आफु र आफ्नो दलले त्यस्तै र तिनै  कुरा अर्थात् देश र जनतको हित बिपरीत या गलत र भ्रष्ट काम गरेमा पनि त्यसको बिरोध या आलोचना हुुुनु हुदैन भन्ने मान्यताले तिनमा घर गरेको देखिदै आएको छ । यो प्रबृत्ति र चरित्र आजको सीमित पूँजीवादी लोकतान्त्रिक मूल्य मान्यताका आधारभूत मान्यताका पनि बिरुद्ध छ ।

त्यसमा पनि हाम्रो देशमा आज ‘बिदा कटौति’को नाममा शहीद दिवस, गणतन्त्र दिवस, लोकतन्त्र दिवसलाई  अरु सामुदायिक साँस्कृतिक चाड पर्वका बिदा जस्तै कटौति गरिएको छ र नेपाली जनताको सामुहीक र साझा संघर्ष र राष्ट्रिय एकताको भावनाको  प्रतीक ती दिवसहरुलाई अबमूल्यन गर्ने र उपेक्षा गर्ने गतिबिधि भइरहेको छ । बास्तवमा यो कम गम्भीर अपचलनको कुरा होइन । निश्चय पनि अनावश्यक बिदा बढाएर मुलुकलाई श्रमबिहीन, अनुत्पादक, निरर्थक स्थितिमा राखिनु हुदैन । बिदालाई पनि रचनात्मक किसिमले फलदायी बनाउन के के गर्न सकिन्छ त्यतातिर खाश कार्यबिधि अपनाएर चल्न पनि सकिन्छ । अरु अरु देशहरु त्यसरी रचनात्मक किसिमले चलेका र बिदाको समयबाट पनि अपेक्षित र सकारात्मक परिणाम पनि प्राप्त गरेका अनेक उदाहरणहरु छन् । तर हामीकहाँ कुन दिवसको महत्व के हो, प्राथमिकता के हो भन्ने कुरा कै कुनै ठेगान छैन । यस्तो प्रबृत्तिले वस्तुतः जनताकै अपमान गर्दछ । उनीहरुको लामो संघर्षले सिर्जना गरेका महत्वपूर्ण दिनहरुलाई महत्वहीन तुल्याइदिन्छ । 

यस सन्दर्भमा जहाँसम्म शहीद दिवसको कुरा छ हामीले सतर्ककासाथ धेरैवटा शहीद दिवसहरुलाई एकीकृत गरी एउटा राष्ट्रिय महत्वको दिनकोरुपमा अबलम्बन गरेर सबैलाई त्यसमा समेट्न पनि सकिन्छ । यस्तो परम्परा बिगतमा रहेको पनि हो । त्यसै गरेर पजातन्त्र दिवस, लोकतन्त्र दिवस र गणतन्त्र दिवसलाई पनि पनि एउटा महत्वपूर्ण दिनकोरुपमा प्रजातन्त्र, लोकतन्त्रको उत्कर्ष नै गणतन्त्र हो भन्ने मान्यताका आधारमा राष्ट्रिय गणतन्त्रकोरु दिबसकोपमा ग्रहण गर्न र मनाउन नसकिने कुरा छैन । यस सम्वन्धमा अरु पनि सार्थक, सम्मानजनक र सही बिकल्पहरु पहिल्याउन सक्तछ । तर एकाएक के के न महत्वपूर्ण निर्णय गरे जस्तो गरेर बिगतमा ती राष्ट्रिय महत्वका दिवसहरुलाई हचुवा र सनकी तरीकाले कटौति गर्नु आफ्नै देशको जन आन्दोलनको इतिहास र जनताको संघर्षलाई अपहेलना गर्नु र इतिहासकै अपमान गर्न सीवाय  अरु केही हुदैन । यसो गर्नु अनुचित र असभ्य पनि ठहरिने कुरा निश्चित छ ।

यस्तो परिप्रेक्षमा त्यो पनि २०६२÷६३ सलको बृहत राष्ट्रिय संयुक्त जन आन्दोलनको जस्तो पृष्ठभूमि थियो र त्यसलाई जसरी चर्को मूल्य तिरेर  सफलताको दिशा दिनपर्ने स्थिति सिर्जना भयो त्यसपछिको स्थितिमा आफ्नो अमूल्य जीवन देश र जनताका निमित्त अर्पण गर्ने महान शहीदहरुको सन्दर्भ अझ महत्वको राष्ट्रिय पर्व हुनुपर्ने हो । तर त्यसयता पनि शहीद दिवसहरु कर्मकाण्डीय र केवल औपचारिकता निभाउने बार्षिक दिन जस्तो मात्रै बनाइएका थिए नै । त्यसमा पनि त्यस्ता दिबसहरुको समेत बिदा कटौतिले तिनको राष्ट्रिय महत्वमा अझ ह«ास ल्याएको छ । आजको यस परिप्रेक्षमा हामी एक यूवा–बिद्यार्थी शहीद देबीलाललाई सम्झिरहेका छौं ।


त्यतिबेला  मुलुकमा निरंकुश राजतन्त्रले एक पछि अर्को प्रतिगामी कदम चाल्दै गएको थियो । अनि त्यसले उत्पन्न गरेका राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक बिकृति र बिसंगति बिरुद्ध जुध्दै र राजतन्त्र बिरुद्धको ब्यापक जनमतलाई सुसंगठित पार्दै आन्दोलनमा अघि बढ्ने क्रममा २०५९ चैत्र २५ गते बुटबल क्याम्पस प्रांगणमा बिद्यार्थी नेता देवीलाल पौडेलले सहादत प्राप्त गरेका थिए । वास्तवमा त्यति बेला निरंकुश राजाको प्रतिगामी सरकारले जनताका बिरुद्ध थोपरेको चर्को मूल्य बृद्धि त्यसमा पनि खाशगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धिले चौतर्फीरुपमा पारेको असर बिरुद्ध देशब्यापी बिद्यार्थी आन्दोलन चर्किदै गएको थियो ।  त्यसै क्रममा बुटवल दुइ घण्टा चक्काजामको पूर्व घोषित कार्यक्रम निर्धारित थियो । त्यसलाई सफल पार्न देवीलाल जस्ता लडाकु बिद्यार्थी योद्धा पछि पर्ने कुरै थिएन । बुटबल सडकको चौराहमा आयोजित चक्काजाम पूर्ण सफलताकासथ टुंग्याएर सम्पूर्ण बिद्यार्थीकासाथ उनी बुटबल क्याम्पस प्रांगणमा फर्किसकेपछि राजाको दमनकारी प्रहरी संयन्त्रले देबीलालमाथि ताकेरै  गोली चलाउदा उनी बुटबल क्याम्पसमा ढले र अमरत्व प्राप्त गरे । यसरी उनले नेपाली जनताको प्रतिगमन बिरोधी आन्दोलनको पहिलो शहीदको उच्च सम्मान पाए । बास्तवमा यो सर्बथा स्वाभाविक र सम्पूर्ण नेपाली जन आन्दोलनकारी शक्ति त्यसमा पनि खाशगरी बिद्यार्थी समुदायका लागि साच्चै नै उच्च गर्वानुभूति गर्दै राजतन्त्रका बिरुद्ध गणतन्त्रका निमित्त संघर्षमा अझ सचेत, अझ संगठित, अझ अनुशासित र अझ संघर्षशील भएर अघि बढ्ने प्रेरणा दिने ऐतिहासिक घटना पनि थियो । अनि भयो पनि त्यस्तै, देबीलालको शहादत पछि जन समुदायका बिभिन्न तह र तप्कासहीत बिद्यार्थी समुदाय पनि राजतन्त्रका बिरुद्ध आन्दोलनमा अझ ब्यापकताकासाथ होमियो ।      

अन्ततः देवीलाल जस्तै  सयौं शहीदहरुको बलिदान, त्याग र संघर्षले गर्दा देशमा गणतन्त्रको आरम्भ भयो । २४० बर्षको राजतन्त्र इतिहासको पानामा सीमित हुन गयो । तर आज फेरि इतिहास उसै गरी गलत दिशामा धकेलिदै छ र सात साल र छयालिस साल पछि जसरी सत्ताको गन्दा खेलमा राजनीतिलाई सीमित तुल्याइएको थियो अहिले पनि त्यसै प्रबृत्तिको पुनराबृत्ति हुँदैछ र अहुने खतरा बढिरहेको छ । राजतन्त्रको समाप्ति पछि  देश र जनताले जसरी सुशासन, सुरक्षा र शान्तिको अपेक्षा गरेका थिए त्यसो गर्न सत्तामा पुगेका सबै दलहरु असफल भए पछि जनतामा निराश र हतासयुक्त अन्यौलको स्थिति कायमै छ । हालै अदालतले रिहाई गरेका नेकपा बिप्लब समूहका ५ जना कार्यकता प्रहरीले पक्रेर बेपत्ता पारेको भन्ने समाचार र यसमा नेपाल मानबाधिकार आयोगले देखाएको सरोकारले पनि स्थिति कतातर्पm जाँदैछ भन्ने कुरा प्रष्ट पार्दछ ।

अनि जनताको सुनिश्चित र सुन्दर भबिष्यको कुरै छोडौ  दैनिक जीवन गुजारा गर्न पनि अत्यन्तै कठिन र सन्त्रासको बातावरण सिर्जना भएको छ । अर्कोतर्फ कालोबजारी, तस्करी, अभाव र चर्को महंगीले जनजीवन हिजोकै जस्तो अस्तब्यस्त बनेको छ । अरु त अरु भूकम्प पीडित र बाढी पहिरो पीडित जनताले पनि आधारभूत राहत र सुरक्षा नपाएर बिचल्लीको अबस्थाबाट गुज्रिएका छन् । यस स्थितिको फाइदा उठाउँदै देशी बिदेशी प्रतिगामी एवं प्रतिकृयावादी शक्ति बिभिन्न कुनावाट गणतन्त्रात्मक लोकतन्त्रमाथि हमला गर्न उद्यत देखिदै आएका छन् । यस स्थितिलाई चिर्न अग्रगामी बिचार, दृष्टिकोण र चिन्तन बोकेका बिद्यार्थी समुदाय लगायत देशका सबै जागरुप बर्ग,समुदाय र देश र जनताप्रति जिम्मेवार राजनीतिक दलहरु आप्mना गल्ती कमजोरीहरुलाइ तिलाञ्जली दिई एक ढिक्का भएर  इमानदारीकासाथ अगाडि बढ्नुपर्ने राष्ट्रिय आवश्यकता भए पनि त्यसो हुन सकेको छैन  । बरु सत्ताका लागि अपबित्र साँठगाँठ, मोलतोल र छल–प्रपञ्च नै आजको राजनीतिको पर्याय बनेको छ । यस प्रबृत्तिले राजनीतिक परिवर्तनको प्रतिनिधित्व गर्न सक्तैन र वस्तुतः यसले यथास्थितिमा अल्मल्याउन  र प्रतिगमनको खिचडी पकाउन नै मद्दत पु¥याउँदछ । यस प्रकारको अबाञ्छित र अस्वीकार्य राजनीतिक मनोबृत्ति र प्रबृत्तिले  देवीलाल लगायत देशका महान शहीदहरु सहादत र नेपाली जनताको संयुक्त जन आन्दोलनकै अपमान गर्दछ । देश र जनतालाई कमजोर र अन्ततः असफल तुल्याउदै अध्यारो दिशामा धकेल्न नै योगदान दिन्छ । त्यसैले यस्तो गलत प्रबृत्तिका बिरुद्ध क्रान्तिकारी शक्तिहरुको ऐक्यबद्धता र ध्रुबीकरण फेरि पनि राष्ट्रिय आवश्यकता बन्न गएको छ ।

आज पनि नेपाली समाजमा अग्रगामी परिवर्तनका सम्वाहक सबै तह र तप्काका जन समुदायले शहीद देबीलालले जस्तै नेपाली समाजको आमूल र अग्रगामी परिवर्तनका निमित्त अध्ययनशील, लगनशील र संघर्षशील तथा सिद्धान्तनिष्ठ, इमानदार र नैतिक आचरणयुक्त भएर अघि बढ्ने सही र  क्रान्तिकारी बाटो लिनु पर्दछ । त्यसका लागि सबै प्रकारका प्रतिकृयावादी, अबसरवादी तथा बिचलनकारी चिन्तन, चरित्र र ब्यवहारका बिरुद्ध अबिराम संघर्ष गर्दै  नेपाली जनता र राष्ट्रको शतत सेवा गर्ने उच्च भावना र जोश जाँगरकासाथ लाग्ने प्रण गर्नु परेको छ । वास्तवमा आज क्रान्तिकारी आन्दोलनलाई सिद्धान्तच्यूत तुल्याएर उपभोक्ताबादको दुष्चक्रमा फँसाउने जुन मिहीन षडयन्त्र चलाइएको छ त्यसलाई चिरेर अघि बढ्ने सशक्त यूवा–बिद्यार्थी शक्तिको निर्माण गर्नु आवश्यक छ । यसो गर्न सकेमा मात्र वास्तवमा क.पुष्पलालका अनुयायी देबीलाल जस्ता बीर अमर शहीदहरुको उच्च सम्मान र सही अनुशीलन हुन सक्तछ ।  


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment