Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

आकाश


२०७७ चैत्र १९ गते , विहीवार प्रकाशित

uploads/media/


-इन्द्रनारायण सुबेदी

(शार्दूलविक्रीडित)
-----------------------------------------------------------------
पृथ्वीमाथि रही सधैँ क्षितिजमा यौटा कराही सरि
बिर्को लाग्छ दिँदै सुरक्षण जहाँ छोपेर घोप्टो परी
साथै चन्द्र र सूर्य छन् सँगसँगै नौ लाख तारागण
गर्ने गर्छ विशाल त्यो गगनले ब्रह्माण्ड संरक्षण ।१।
वर्षा वायु धुलो धुवाँ र कुहिरो कालो घना बादल
घुम्छन् नित्य फराकिलो उदरमा आकाश भन्दा तल
सीमा छैन विशालकाय नभको देख्छौँ सफा सुन्दर
जीवात्मा जड वृक्षको प्रकृतिको हो ओत लाग्ने घर।२।
यस्तो शून्य अनन्त उच्च नभ यो कस्तो कलाकारको
होला शिल्प सिपालु हात कसको के शस्त्र औजारको
यो निर्माण ठुलो विहङ्गम सँगै राखेर ताराहरू
छन् नक्षत्र ठुला सजावट दिने नौला सिताराहरू।३।

छन् तारा झलमल्ल दीप्त जहिल्यै बल्छन् यहाँ रातमा
तेजस्वी प्रतिविम्ब सूर्य दिनमा घुम्छन् सधैँ साथमा
उड्छन् यान विमान रातदिन ती यत्रो महाशून्यमा
बन्छन् मार्ग खुला सधैँ प्रकृतिको सन्न्यस्त सौजन्यमा ।४।
खेल्छन् पन्छीहरू यहीँ गगनमा सम्झेर आफ्नो भर
हुन् स्वाधीन र जन्मसिद्ध नभमा बन्छन् सधैँ निर्भर
प्राणी वृक्ष लता जलाशयहरू आकाशभन्दा तल
घुम्टोभित्र रहेर शान्त नभको बन्छन् सधैँ निर्मल।५।
यौटा अन्त्यविहीन पार नहुने आफैँ निराकार यो
धर्तीको जलवायुको जलधिको सम्पन्न आधार यो
घुम्छन् यो नभभित्र निर्भर भई ब्रह्माण्ड भूमण्डल
हो अस्तित्व अभिन्न कल्पतरु झैंँ आकाश यो निश्चल।६।
गङ्गाझैँ छ पवित्र भव्य गहिरो नीलो सफा सुन्दर
हो यो मर्त्य मनुष्यको गगन त्यो हो देवताको घर
देखिन्छन् खतरा प्रदूषित हुने सापेक्ष यो धाममा
मान्छे मित्र बनोस् सदाशय रहोस् आकाशको नाममा।७।

--------------------------------------------------
शीर्षक साभार : प्रतिभा निकुञ्ज
२०७७ चैत्र १९ गते

लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment