Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

सहकारी संस्थाहरुले स्रोत परिचालन कसरी गर्ने


२०७७ चैत्र १८ गते , बुधवार प्रकाशित

uploads/media/


विभिन्न माध्यमबाट संगठनको पूर्व निर्धारित लक्ष्य उद्देश्य पूरा गर्न आवश्यक स्रोत साधन जुटाउने र उपयोग गर्ने प्रक्रिया स्रोत परिचालन हो । लागतको हिसाबले प्रभावकारी ढंगबाट उपयुक्त स्रोतबाट उपयुक्त समयमा उपयुक्त लागतमा स्रोत संकलन गरी स्रोतसाधन जुटाउने बारेमा स्रोत परिचालनले समय र त्यसको महत्तम सदुपयोग गर्ने कुराको वकालत गर्दछ । संगठनको सेवा प्रवाहलाई निरन्तरता दिन तथा प्रभावकारी बनाई संगठनलाई दिगो बनाउनका लागि स्रोत परिचालन अपरिहार्य तत्वको रुपमा रहेको छ । स्रोत परिचालन संगठनको भौतिक, वित्तीय र मानवीय स्रोतको प्राप्ति र उपयोगसँग सम्बन्धित रहे तापनि यस आलेखमा सहकारी संस्थाको वित्तीय स्रोत परिचालनका विषयमा चर्चा गर्ने कोशिस गरिएको छ ।  


सहकारी व्यवसायको प्रकृति र स्रोत परिचालन  

सहकार्यको माध्यमबाट आफ्ना आर्थिक, सामाजिक र सांसकृतिक आवशयकताहरुको परिपूर्तिका लागि सर्वसाधारण आफैं नै व्यवसायमा संलग्न हुने क्रममा सहकारी व्यवसायको सृजना हुन्छ । सहकारी सदस्य केन्द्रित  व्यवसायको रुपमा रहेर सामाजिक जिम्मेवारी र मानवीय मूल्यलाई प्राथमिकता दिई सञ्चालन हुने भएकाले यसलाई व्यवसायको एउटा विशेष विधिको रुपमा चिनिन्छ । विशेष प्रकतिको व्यवसायको रुपमा यसको वित्तीय स्रोत परिचालनका पनि आफ्नै मान्यताहरु रहेका छन् । निम्नलिखित विषयहरुलाई सहकारी संस्थाको वित्तीय स्रोत परिचालनका पूर्वशर्तको रुपमा लिइन्छ ः 

  • सहकारी संस्थाको पुँजी सदस्यहरुले नै जम्मा पारेको हुनुपर्दछ ।
  • पुँजीमा योगदान सदस्यताको शर्तको रुपमा रहनु पर्दछ ।
  • पुँजीको उपयोगका साथै प्रतिफलको वितरणमा सदस्यहरुको लोकातान्त्रिक नियन्त्रण कायम राख्नुपर्दछ ।
  • पुँजीमा अधिक प्रतिफल (स्पेकुलेटिभ रिटर्न) होइन, सीमित मात्रामा क्षतिपूर्ति मात्र दिनुपर्दछ ।
  • उबार/बचतको वितरण देहाय बमोजिम गर्नुपर्दछ:
     – अविभाज्य जगेडा कोष खडा गर्न,
     – सदस्यहरुलाई कारोबारको आधारमा फिर्ता गर्न र अन्य उपयुक्त क्रियाकलापमा सहयोग गर्न ।

 सहकारी स्रोत परिचालनको कुरा गर्दा सहकारी व्यवसायको प्रकृतिको बारेमा समेत स्पष्ट हुन आवश्यक हुन्छ । सहकारी संस्थाहरु आफ्ना सदस्यहरुको आर्थिक तथा सामाजिक हितमा केन्द्रित भएका हुन्छन् । आर्थिक तथा समाजिक विकासका लागि सहकारी संस्थाहरुले व्यवसायिक उद्देश्यलाई आफ्नो मूल उद्देश्यको रुपमा लिएका हुन्छन् । ती उद्देश्यमा सदस्यहरुको उच्चतम् आर्थिक जीवनको आकांक्षा प्रतिविम्बित भएको हुन्छ भने पूरक उद्देश्यको रुपमा विकास उद्देश्य रहन्छ जुन सदस्यहरुको सामाजिक जीवनसँग जोडिएको हुन्छ । अथवा सदस्य समुदायको सामाजिक जीवनस्तर माथि उठाउने कुरासँग सम्बन्धित हुन्छ । त्यसैगरी सामाजिक उद्देश्यलाई सहकारीको अतिरिक्त उद्देश्यको रुपमा लिइन्छ जस अन्तर्गत सहकारीले सामाजिक तथा सामुदायिक क्रियाकलापहरुको माध्यमबाट गैरसदस्य समुदायमा आफ्नो छवि प्रक्षेपण गर्दछ ।   

सहकारी संस्थाहरु कल्याणकारी संगठन होइनन् तथा नाफामुखी संगठन पनि होइनन् । सहकारी व्यवसाय आफ्ना सदस्यहरुबीचको स्वावलम्बन र पारस्परिकतामा आधारित रहन्छन् । विशेषतः सदस्यहरुको सेवामा केन्द्रित भएर कारोबार गर्दछन् । आफ्नो सेवा उपयोग गर्नसक्ने समाजका सबैलाई बिना भेदभाव सदस्यता खुला गर्दछन् र मूलतः खुलापनकै कारण यी संस्थाहरुले सामाजिक स्वरुप ग्रहण गरेका हुन्छन् । नाफा नखाने गुणको कुरा गर्दा कल्याणकारी काम गर्ने उद्देश्यले खडा भएका संगठनहरुले स्वभावतः नाफाको अपेक्षा गर्दैनन् भने सहकारी व्यवसायमा नाफामा सहभागी नहुने मान्यता राखिन्छ । सहकारी संस्थाको व्यावसायिक सेवाका ग्राहक खासमा आफ्नै सदस्य (मालिक) नै हुने भएकाले संस्थाले उनीहरुसँग नाफा खानु अथवा सेवा वापत अधिक पैसा असुल्नुको कुनै अर्थ रहँदैन । सदस्यहरुमा स्वावलम्बन तथा उद्यमशीलताको विकास गरी सदस्यहरुलाई व्यवसायी बनाई उनीहरुको व्यवसायिक क्रियाकलापमा (विशेष गरी उत्पादन र बजारीकरणमा) सेवा र टेवा पुर्याई सदस्यहरुलाई आम्दानी गराइदिने सोही आम्दानीको हिस्साबाट संस्था सञ्चालनका लागि निश्चित शूल्क लिने र बचत आर्जनको प्रयोग संस्थागत पुँजी निर्माणमा, कारोबारको आधारमा सदस्यहरुमा वितरण गर्नमा तथा विविध सामाजिक तथा सामुदायिक क्रियाकलापमा गरेमा सहकारीको आर्थिक तथा सामाजिक उद्देश्य पूरा हुनजान्छ र सहकारी स्रोत परिचालनले सार्थकता पाउँछ ।

सहकारी संस्थाको व्यवसायिक संभावनाको आँकलन गर्दा संस्थाको व्यवसायिक क्रियाकलापबाट सदस्यले पाउने सक्ने फाइदाबाट सो व्यवसाय सञ्चालन गर्दा लाग्ने संस्थाको खर्च कटाउंदा सदस्यहरुलाई लाभ हुने अवस्था देखियो भने त्यस्तो व्यवसाय सञ्चालन गर्नुपर्दछ । अर्थात् संस्थाको व्यवसायिक संभावनाको विचार गर्दा संस्थाको आम्दानी खर्चको हिसाब नगरी सदस्यको फाइदाबाट संस्थाको खर्च कटाउनुपर्दछ । किनभने सहकारी संस्था सदस्यको फाइदाका लागि गठन भएको हो । सदस्यहरुलाई व्यवसायिक सेवा उपलव्ध गराउने क्रममा संस्थाले घाटा खाएतापनि सदस्यहरुले संस्थाको व्यवसायका कारण नाफा गरेका रहेछन् भने थप शेयर किनी पुनर्पुंजीकरण गर्न सक्दछन् । बरु संस्था अहिले नाफामा नै छ भने पनि सदस्यहरु अपेक्षित रुपमा घाटामा छन् भने सदस्यहरुमा निराशा उत्पन्न हुने र घाटामा गएको अवस्थामा थप पुँजी जुटाउन सदस्य अघि नसर्ने संभावना हुन्छ । यसबाट के निष्कर्शमा पुग्न सकिन्छ भने सहकारी संस्था कल्याणकारी संस्था होइन, नाफामुखी संस्था पनि होइन यो त सदस्यहरुलाई सेवा गर्ने संस्था हो । 

सहकारी व्यवसायको आधारभूत विशेषता भनेको स्वायत्तता र आत्मनिर्भरता हो । स्वायत्तताले सदस्यहरुको निर्णयबाट संस्थाकोे स्रोतसाधन विनियोजन गर्ने अधिकार प्रदान गरेको छ । संस्थामा जति आन्तरिक स्रोतको बाहुल्यता छ अथवा स्रोतका हिसाबले संस्था जति आत्मनिर्भर छ संस्थाले सो को विनियोजन स्वतन्त्रतापूर्वक गर्न सक्दछ तर बाह्य पुँजी तथा शर्त सहितको पुँजीको बाहुल्यता बढी छ भने संस्थाले स्वतन्त्रतापूर्वक विनियोजन गर्न सक्दैन । संस्थाको स्रोतमा सदस्यको योगदान नगन्य भएमा बाहिरी पुँजीको बाहुल्यता हुने र यसबाट संस्थाको स्वायत्ततामा प्रत्यक्ष वा परोक्ष रुपमा आँच आउने संभावना हुन्छ । सरकारी तथा अन्य निकायहरुको सहायतामा सहकारी निर्भर रहेमा अनावश्यक रुपमा संस्था दातामुखी भई स्वावलम्बनको भावना मर्ने डर समेत रहन्छ । तसर्थ सहकारी संस्थामा प्रभावकारी स्रोत परिचलानका लागि विनियोजनको अधिकार र वित्तीय दवाव बीच उचित सन्तुलन मिलाउन आवश्यक हुन्छ, जसमा विनियोजनको अधिकारले सदस्यहरुको आवश्यकता र चाहना बमोजिम स्रोत साधनको महत्तम उपयोगको कुरा गर्दछ भने वित्तीय दवाबले संस्थामा संकलित स्रोतको प्रकृति अथवा यसको शर्त बमोजिम सो स्रोतलाई के कसरी विनियोजन गर्ने भन्ने कुरालाई निर्देशित गर्दछ ।  

सहकारी संस्थाका वित्तीय स्रोतहरु र वित्तीय दवाव

सहकारी संस्थाको वित्तीय स्रोतका सम्वन्धमा सहकारी ऐन, नियम तथा सहकारी संस्था स्वयंको विनियममा स्पष्ट व्यवस्था गरिएको छ, जसअनुसार सहकारी संस्थाले निम्न अनुसार आर्थिक स्रोत संकलन गर्न सक्दछ ः 

  • सदस्यहरुबाट संकलित अंशधन (शेयर)
  • संस्थागत पुँजीको रुपमा रहने जगेडा कोष र अन्य कोषहरु
  • सदस्यहरुबाट संकलित बचत रकम
  • अन्य स्रोतः बीउपुँजी, अनुदान, ऋण, आदि । 

प्रचलित कानूनी व्यवस्था र संस्थाको स्वीकृत विनियमको परिधिमा रहेर उल्लेखित स्रोतहरुबाट पुँजी संकलन गरी संस्थाको उद्देश्य अनुसार सदस्यको आवश्यकता र चाहना बमोजिम सदस्यहरुबाट स्वीकृत नीति बमोजिम सहकारी संस्थाहरुले त्यसको उपयोग गर्दछन् । यो नै स्वायत्त संगठनको रुपमा सहकारी संस्थामा उपलब्ध विनियोजनको अधिकार हो । स्रोत विनियोजन गर्ने क्रममा स्रोतको प्रकृति र शर्त अनुसार सहकारी संस्थालाई वित्तीय दवावको सृजना हुन जान्छ जसलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ:

  • अंशधन (शेयर पुँजी ): सदस्यहरुबाट संकलित शेयर पुँजी सदस्यहरले संस्थाको स्वामित्व प्राप्त गर्न लगानी गरेको रकम हो । शेयर पुँजी वापतको रकममा संस्थाले कारोबारबाट बचत आर्जन गरेमा तोकिएको सीमासम्म सदस्यले लाभांश पाउँछ भने नोक्सानी भएमा सो को क्षतिपूर्ति यसै पुँजीबाट गर्नुपर्ने हुन्छ । शेयर पुँजीको रकम सामान्यतः संस्था सदस्य नरहेका अवस्थामा मात्र फिर्ता गरिन्छ । यस हिसाबले हेर्दा शेयर पुँजी संस्थाको क्षमता हो, दीर्घकालीन स्रोत हो र सदस्यले स्वतन्त्रतापूर्वक विनियोजन गर्नसक्ने कम वित्तीय दवाव भएको स्रोत हो । 
  • जगेडा कोष र अन्य कोषहरु: सहकारी संस्थाले आर्थिक कारोबारबाट गरेको बचतको एक हिस्सा जगेडा कोषमा राख्नुपर्ने व्यवस्था अनुसार संस्थामा जगेडा कोष खडा गरिएको हुन्छ, जसमा संस्थाको बचत रकमको कम्तिमा एक चौथाई रकम जम्मा गर्नुपर्ने हुन्छ । जगेडा कोष सामाजिक पुँजीको रुपमा रहन्छ, यसलाई वितरण गर्न तथा खर्च गर्न नपाई पुँजीको रुपमा परिचालन गर्न मात्र पाइन्छ । विनियोजनको स्वतन्त्रताको हिसाबले कुरा गर्दा जगेडा कोष परिचालनका पनि केही शर्तहरु रहने हुँदा अंशधनमा भन्दा यसमा अलि बढी वित्तीय दवाव रहन्छ । सहकारी संस्थामा सदस्यहरु हकवाला नभएर जिम्मावाल हुन्छन् । तसर्थ सदस्यले जगेडा कोषबाट आफ्नो हिस्सा खोज्ने होइन कि सामाजिक पुँजीको रुपमा यसको संरक्षण गरेर भावी पुस्तामा हस्तान्तरण गर्नुपर्दछ । 

 जगेडा कोष बाहेक संस्थामा अन्य कोषहरु पनि रहने व्यवस्था छ जसमा मूलतः शेयर लाभांश कोष, संरक्षित पुँजीकोष, कर्मचारी बोनस कोष, सहकारी शिक्षा कोष, सहकारी विकास कोष, घाटापूर्ति कोष र जोखिम व्यहोर्ने कोषहरु पर्दछन् । यी कोषहरुको आ–आफ्नै विशेष प्रयोजन हुने र सो अनुसार उपयोग हुने हुँदा नियन्त्रित पुँजीको रुपमा रहन्छन् र यिनमा बढी वित्तीय दवाव रहन्छ । संस्था नियमित रुपमा बचतमा रहेको अवस्था छ भने घाटापूर्ति कोषलाई भने स्वतन्त्र स्रोतको रुपमा प्रयोग गर्न सकिने अवस्था रहन्छ । 

  • सदस्यको बचत: सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुबाट संकलन गर्ने बचत एउटा महत्वपूर्ण आर्थिक स्रोत हो । बचत संकलनको माध्यमबाट सदस्यहरुमा व्यक्तिगत बचत गर्ने बानीको विकास हुने तथा व्यक्तिगत सम्पत्तिमा वृद्धि हुंदै जाने र सबै सदस्यहरुको बचत एकिकृत गरेपछि संस्थाको पुँजी निर्माण भई सहकारी संस्था स्रोतमा आत्मनिर्भर रहने अवस्था हुन्छ । विनियोजनमा स्वतन्त्रता अथवा वित्तीय दवावको हिसाबले भन्नुपर्दा सदस्य बचत निश्चित व्याज सहित स्वीकार गरिने तथा शर्त बमोजिम फिर्ता गनुृपर्ने भएको हुँदा विनियोजनमा स्वन्त्रता कम रहन्छ । 

  • बीउपुँजी: सहकारी संस्थालाई बाह्य स्रोतबाट प्राप्त हुने निशर्त अनुदानलाई बीउपुँजीको रुपमा उल्लेख गरिएको हो । यस्तो अनुदानमा संस्थाको लागत शून्य पर्ने तथा संस्थाको निर्णयबाट यसको विनियोजन गर्न सकिने अधिकार रहने हुँदा यसमा कम वित्तीय दवाव पर्दछ ।

  • शर्त सहितको अनुदान: सहकारी संस्थालाई बाह्य स्रोतबाट प्राप्त हुने तर निश्चित परियोजना अथवा उद्देश्यमा प्रयोग गर्नैपर्ने शर्त सहितको अनुदानलाई यसमा उल्लेख गरिएको हो । उपयोगमा शर्त निश्चित गरिएको हुँदा यस्तो अनुदानमा विनियोजनको अधिकार कम र वित्तीय दवाव बढी हुन्छ ।

  • ऋण: सहकारी संस्थालाई बाह्य स्रोतबाट प्राप्त हुने निश्चित अवधिपछि व्याज सहित फिर्ता गर्नुृपर्ने रकम ऋण हो । सरकारी निकाय, बैंक तथा अन्य संस्थाहरुबाट निश्चित कार्यक्रम अनुसार सहुलियत दरमा प्राप्त हुने ऋणलाई विकास ऋण तथा बैंक तथा वित्तीय संस्थाहरुबाट लिइने नियमित प्रकृतिको ऋणलाई वाणिज्य ऋण भनेर वर्गीकरण गर्न सकिन्छ । ऋणको लागतको हिसाबले विकास ऋण ग्रहणयोग्य हुनसक्दछ । ऋण लागत सहितको दायित्व हो, यसबाट संस्थाको रकम व्याजको रुपमा सदस्यभन्दा बाहिर जान्छ तथा निश्चित अवधिमा यो फिर्ता गर्नुपर्ने भएकाले सदस्य हित तथा वित्तीय दवावको हिसाबले अन्तिम विकल्पको रुपमा प्रयोग गरिने स्रोतको रुपमा यसलाई बुझ्नु पर्दछ । 

नेपालमा सहकारी स्रोत परिचालनमा हाल देखिएका समस्याहरु

  • सहकारी संस्थाहरुले सदस्य केन्द्रित र कार्यक्षेत्र केन्द्रित भएर स्रोत परिचालन नगर्ने परिपाटी 
  • सहकारी क्षेत्रको व्यवसायिक क्षमता अपेक्षाकृत रुपमा कमजोर हुनु प्रतिस्पर्धात्मक क्षमता कम हुनु, तथा सदस्य सेवामुखी भन्दा पनि नाफामुखी भएर सञ्चालन हुने परिपाटी ।
  • संस्थाभित्रको आन्तरिक नियन्त्रण प्रणाली कमजोर, पारदर्शिता र जवाफदेहितामा कमी भएबाट संस्थागत निर्णय भन्दा पनि व्यक्ति हावी हुने परिपाटी
  • सबै विषयका सहकारी संस्थाहरु बचत संकलनमा मात्र आकर्षित हुनु, आकर्षक व्याजको प्रलोभन देखाई बचत आकर्षित गर्ने तथा कमिशन एजेन्टबाट समेत बचत संकलन गर्ने परिपाटी जसबाट कोषको मूल्य (कस्ट अफ फण्ड) बढी हुनु ।
  • संकलित बचत रकम ऋण लगानी भन्दा पनि अन्य अनुत्पादक क्षेत्रमा लगानीगर्न खोज्नु 
  • ऋण मुल्यांकन एवं लगानी प्रक्रिया र अभिलेख प्रणाली कमजोर हुन,ु बिना सुरक्षण कर्जा प्रवाह, जोखिम व्यहोर्ने कोषको व्यवस्था तथा जोखिम न्यूनिकरणका उपायहरु प्रति सजग नहुने प्रवृत्ति
  • खर्च प्रणाली अपारदर्शी तथा साधारण सभाको निर्णय बिना खर्च गर्ने, संरक्षित पुँजी फिर्ता कोष वितरण भन्दा पनि शेयर लाभांश वितरणमा आकर्षण हुनु तथा खूद बचत गणना अघि नै शेयर लाभांश वितरण गर्नु ।
  • बचत संकलन र ऋण लगानीलाई पुँजीकोषसँग सामञ्जस्य कायम गरी कारोबार नगर्नु ।


प्रभावकारी स्रोत परिचालनका लागि

  • सहकारी संस्थाले स्रोत परिचालन गर्ने क्रममा आवश्यकताअनुसार सबै स्रोतहरुलाई परिचालन गर्नुपर्ने भएकाले माथि उल्लेखित स्रोतहरुलाई विनियोजन अधिकार, सदस्य हित तथा वित्तीय दवावको हिसाबले निम्न अनुसार प्राथमिकता क्रममा राखेर परिचालन गर्नु उपयुक्त हुने देखिन्छ:

    १. अंशधन   २. जगेडा कोष  र घाटापूर्ति कोष   ३. बीउ पुँजी    ४. अनुदान   ५. सदस्यको बचत   ६. विकास ऋण   ७. वाणिज्य ऋण

  • अंशधन (शेयर पुँजी) सहकारी संस्थाको सर्वोत्तम वित्तीय स्रोत हो । यसको प्रभावकारी परिचालबाट सहकारी सस्थाले दिगो रुपमा पुँजी निर्माण र परिचालन गर्न सक्दछ । अंशधनको प्रभावकारी परिचालनका लागि निम्न उपायहरु अवलम्बन गर्न सकिन्छ: 

        १. सेवा उपयोगको अनुपातमा थप अंश शेयर खरिद गर्न सदस्यहरुलाई प्रोत्साहित गर्ने, जस्तै: प्रत्येक थप रोपनी चिया खेतीको एक अंश, प्रत्येक २ घार मौरीको एक अंश 

        २. न्यूनतम परिमाण माथिको सेवामा थप अंश शेयर खरिद गर्न लगाउने, जस्तै: रु ३० हजार माथिको ऋण लिन थप अंश 

        ३. क्षमता अनुसार अंशधन खरिदका लागि सदस्यहरुलाई स्वैच्छिक प्रोत्साहन गर्ने, जस्तै: नसक्नेले एक, सक्नेले बढी

        ४. खास सदस्य समूहको योजनामा लगानी गर्न त्यही सदस्य समूहको थप अंश संकलन गर्ने नीति बनाउने, जस्तै: वडा संकलन (सेवा) केन्द्र, तोफू उत्पादन समूह

        ५.अंशधनको पारदर्शी अभिलेख राख्ने 


यसरी अंशधन परिचालन गर्दा सदस्यतामा कृत्रिम छेकबार नहुने कुरामा विशेष सतर्कता अपनाउनु पर्दछ । 

  • जगेडा कोष संस्थाको थप पुँजी परिचालनको आधार तथा अनिश्तिताको जोहो हो । यो सहकारी संस्थाको संस्थागत पुँजी तथा निशुल्क दायित्व पनि हो । तसर्थ जगेडा कोषको उचित परिचालन पनि सहकारी स्रोत परिचालनको महत्वपूर्ण पक्ष हो । बचत (उबार) रकमबाट हाल सारिने एक चौथाई रकमभन्दा बढी रकम सार्ने नीति बनाएर जगेडा कोषमा वृद्धि गर्न सकिन्छ । 
  • सदस्यको बचत सदस्यलाई नै ऋण दिने बाहेक अन्य कुनै प्रयोजनमा उपयोग गर्नमा वैधानिक रोक लगाइएको छ । यसबाट सहकारी संस्थामा सर्वमान्य वित्तीय अनुशासन कायम गर्न सकिन्छ । तरलता बढी भए केन्द्रिय बैंकको ट्रेजरी बिल र सरकारको विकास ऋणपत्र खरिद जस्ता सुरक्षित लगानीका क्षेत्रमा उपयोग गर्न बाधा पर्दैन । सदस्यको बचत सहकारी संस्थाको संवेदनशील स्रोत भएकाले यसलाई निम्न अनुसार परिचालन गर्नुपर्दछ: 

        १.  बचत रकम सदस्यको पैसा भएकाले सदस्यमै ऋण लगानी गर्नुपर्दछ जसबाट ऋण असूलीमा सामाजिक दवाव पर्दछ र बचत सुरक्षित हुन्छ ।

        २. बचत रकम धेरैजना सदस्यबाट संकलन गरिने र धेरैजना सदस्यहरमा नै ऋण लगानी गरियो भने डुब्दा पिन सबै रकम डुब्दैन र सबैजना बेइमान पनि नहुने भएकाले बचत सुरक्षित हुन्छ ।

        ३. बचत रकमको फिर्ता गर्ने निश्चित अवधि हुने र अल्पअवधिका लागि ऋण लगानी गरिने हँुदा बचत संकलन, ऋण लगानी, ऋण असुली तथा बचत फिर्ताको चक्र निरन्तर रुपमा चलिरहन्छ ।  

        ४. बचत रकमको ऋण लगानी सदस्यको आयमूलक कामका लागि गरियो भने सदस्यमा स्वरोजगारी सृजना हुने र आय आर्जन गर्न सकिने र सोही आर्जनबाट संस्थालाई ब्याज समेत प्राप्त हुने हुँदा संस्था र सदस्य दुवैको हित हुन्छ । 

निष्कर्श

  • सदस्यहरुको आवश्यकता र चाहना बमोजिम सहकारी व्यवसाय सञ्चालनका लागि सदस्यहरमा नै विनियोजनको अधिकार महत्वपूर्ण शर्तको रुपमा रहन्छ । लक्षित समुहको प्राथमिकीकरण नै ठीक हुने स्रोत परिचालनको मान्यता अनुसार सदस्यहरुबाट अनुभव गरिएको आवश्यकको आधारमा कामको प्राथमिकीकरण गरी प्रथमिकताको क्रममा स्रोत बाँडफाँड गर्ने अवस्था विनियोजनको अधिकारमा रहने हुँदा यसबाट स्रोत साधनको महत्तम उपयोग हुन्छ भने सदस्यहरुमा स्रोत परिचालनका सम्बन्धमा चिन्तन गर्ने, लेखाजोखा गर्ने, छनोट गर्ने तथा परिणामको आधारमा प्रभावकारी विनियोजनका लागि सिकाइ समेत हुने भएकाले सदस्यहरुमा सशक्तिकरण हुँदै जाने अवस्था रहन्छ । 
  • स्वतन्त्र र प्रभावकारी स्रोत विनियोजनका लागि कम वित्तीय दवाव अर्को अपरिहार्य तत्व हो । आफनो धन आफ्नो मन भने झैं जति कम वित्तीय दवाव भयो त्यति नै स्वतन्त्र भई सृजनात्मक ढंगले स्रोत परिचालन गर्न सकिन्छ । 

सहकारी संस्थाको वित्तीय स्रोतलाई मूल रुपमा दुई भागमा विभाजन गर्न सकिन्छ: स्वतन्त्र स्रोत (अंशधन, जगेडा कोष र घाटापूर्ति कोष) र नियन्त्रित स्रोत (सदस्यको बचत, अनुदान तथा ऋण) । स्वतन्त्र स्रोत संस्थाले स्वतन्त्र रुपमा परिचालन गर्न सक्दछ भने नियन्त्रित स्रोतलाई शर्तले नियन्त्रण गरेको हुन्छ । स्वतन्त्र स्रोत र नियन्त्रित स्रोतलाई एउटा निश्चित अनुपातमा कायम राखेर कारोबार गरेमा सहकारी संस्थाको पुँजी परिचालन प्रभावकारी हुन्छ जसको फलस्वरुप संस्थाको आन्तरिक पुँजी पनि बढ्दै जाने, सदस्यमा बचत गर्ने बानीको विकास हुँदै जाने र आवश्यकता अनुसार बाह्य पुँजी समेत जुटाई अघि बढ्न सकिन्छ । तसर्थ स्वतन्त्र स्रोत र नियन्त्रित स्रोतको अनुपातको एउटा महत्तम सूत्र निर्धारण गर्नुपर्ने आवश्यकता देखिन्छ । निम्न सूत्र उपयुक्त हुन्छ कि छलफल गरौं ।   

स्वतन्त्र स्रोत  :  नियन्त्रित स्रोत 

                १      ≤      ५


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment