सिंहदरबारस्थित रक्षा मन्त्रालयमा मंगलबार बिहान सुरक्षा परिषदको बैठक बसेकाे छ । सुरक्षा परिषदको सचिवालयमा बसेको बैठकमा मुलुकको वर्तमान सुरक्षा स्थितिमाथि छलफल भएको जनाइएकाे छ ।
बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको गतिविधिको समीक्षा गर्नुका साथै उक्त समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको हुनसक्ने आँकलन गरिएको छ ।
यसअघि सरकार र विप्लव समूहका प्रतिनिधिबीच अनौपचारिक वार्ता हुँदै आएका छन् । केहि दिन अघ ने.क.पा. विप्लव समूहको तर्फबाट जारी विज्ञप्तिप्रति सरकार सकारात्मक रहेको संकेत परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएका थिए ।
सरकारले २०७५ फागुन २८ गते विप्लवका गतिविधि हिंसात्मक भएको भन्दै उनी नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएको थियो ।
त्यसयता दुवै पक्षले एकअर्कालाई गलाउने गर्दै वार्तामा ल्याउन अनेक अनौपचारिक प्रयास जारी राख्दै आएका थिए।