Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

सात सालको क्रान्तिको सम्झना र सही सन्देश


२०७७ फाल्गुन ७ गते , शुक्रवार प्रकाशित

uploads/media/


—लोकनारायण सुबेदी


आजभन्दा ७० बर्ष पहिला नेपाली जनताले संगठित र सचेतरुपमा एकतन्त्री जहाँनियाँ सामन्ती राणा शासनका बिरुद्ध संघर्ष गरेर बिजय प्राप्त गरेको ऐतिहासिक दिन हो आज फागुन  ७ गते । यसको पृष्ठभूमिमा महान आदि शहीद लखन थापादेखि १९९७ सालका चार अमरशहीदहरु गंगालाल, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्तहरुको उच्च र सचेत शहादको क्रान्तिकारी तथा उच्च उत्सर्ग र निर्भिक बलिदानको अबिस्मरणीय र स्वर्णाक्षरले लेखिएको अमिट इतिहास रहेको छ । यस क्रान्तिले सम्पूर्णरुपमा जनाधिकार र नागरिक स्वतन्त्रता प्राप्त गर्न नसके पनि नेपालमा  आधुनिक लोकतन्त्रको मार्ग प्रसस्त गर्न र त्यस  दिशामा हिडाउन आरम्भ अबश्य गरेको हो । सात सालको क्रान्ति पछिदेखि नै नेपालमा प्रजातन्त्रको बारेमा ब्यापक चर्चा परिचर्चा र बहस आरम्भ भएको पनि हामी देख्दछौं । त्यत्ति मात्र होइन, क्रान्तिलाई बिचमै आधा अधुरो छोड्दा कसरी देशी बिदेशी प्रतिकृयावादी शक्तिले खेल्दा रहेछन् र प्रतिगामी शक्तिले पुनः टाउको उठाएर सत्ता हत्याउदो रहेछ भन्ने कटु यथार्थ पनि त्यस क्रान्ति कालपछिको हाम्रो राजनीतिक इतिहासले एकदमै सटीक र  प्रष्टसँग औल्याएको हो । यद्यपि परिवर्तनकामी शक्तिहरुले त्यसलाई सहीरुपमा ग्रहण गर्न नसकेको र दरबारिया शक्तिबाट प्रभाबित भएको स्थिति देखिन्छ । तर पनि बिशेष गरेर त्यस बेला नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालले जनताले संघर्षबाट  प्राप्त गरेका राजनीतिक उपलब्धीको रक्षा गर्दै सामन्ती ब्यवस्थालाई राम्रोसँग परास्त गर्ने र जनताका हक अधिकारलाई स्पष्टरुपमा स्थापित र सुदृढ गर्ने आफ्नो राष्ट्रिय राजनीतिक दायित्व र कर्तब्यबाट संघर्षशील राजनीतिक दलहरु बिचलित हुनु हुदैन भन्ने जुन  कुरा पनि सात सालको क्रान्तिपछिदेखि नै बिशेषरुपमा उठ्दै आएका थिए त्यसमा ध्यान नदिइदा र यो बिचार पक्षको शक्ति कमजो हुँदा स्थिति बिग्रेर गयो । उहाँको बिचार र देशको आवश्यकतालाई  ठीकसँग बुझन र अँगाल्न अस्वीकार गर्दा २०१७ सालको प्रतिगामी कदम उठेको र १०४ बर्षको सामन्ती अधिनायकबादी मध्ययुगीन बर्बर राणा शासनबाट ठूलो बलिदान पछि केही हदसम्म  मुक्त भएका नेपाली जनताले पुनः शाही सामन्ती अधिनायकबादी ब्यवस्थालाई बेहोर्नु र लड्नु परेको हाम्रो लामो अुनभव र कटुतर इतिहास छ । वास्तवमा  त्यो के भने पटक पटक ‘तावाबाट भुँग्रोमा’ परेर नेपाली जनता  पुनः ब्यूझदै र लड्दै आएका छन् । सत्र सालको प्रतिगामी शाही काण्डबाट छुटकारा पाउन मात्रै पनि करीब तीन दशकसम्म परिवर्तनकामी राजनीतिक दल र शक्तिहरुले निरन्तर संर्घष, बलिदान, लामो समयसम्मको जेलनेल र प्रवासको पट्यारलाग्दो पीडा तथा कठोर भूमिगत जीवन बिताउनु परेको त्यो कालखण्डको संघर्षमय इतिहास रहेको छ ।

त्यस क्रममा २०४६ सालको परिवर्तनको संघषको पनि कम ठूलो ऐतिहासिक महत्व रहेको छैन । तर त्यसले जुन दिशातर्फ देश र जनतालाई अभिमुख गराएर अग्रगामी परिवर्तन र आर्थिक सामाजिक रुपान्तरणको ठोस धरातल निर्माण गर्ने योजनाकासाथ परिवर्तनका  पक्षधर शक्ति र दलहरुले लाग्नु पर्दथ्यो फेरि पनि त्यसो हुन सकेन । संकीर्ण कुर्सी–स्वार्थका कारण जस्तोसुकै अपबित्र गठबन्धन गर्न पनि तयार हुने र जस्तोसुकै अपसँस्कृति स्वीकार्न अलिकति पनि लाजशर्म नमान्ने प्रबृत्ति प्रबल र हावी बनेपछि प्रतिगामी शक्तिले त्यसमा खेल्ने प्रसस्त ठाउ पायो । परिणामस्वरुप पुनः जनताका हक अधिकार खोस्न र पछि फर्काउन सामन्ती अधिनायकबादी शाही शक्ति अग्रसर भयो । त्यसपछि बिकसित भएको अपूर्ब जन आन्दोलनले सन्दर्भहीन भइसकेको अधिनायकबादी शाही शक्तिलाई बिदा ग¥यो र ०७ सालकै जनक्रान्तिको बेलादेखि उठ्दै आएको संविधान सभाबाट जनताको संविधान बनाउने बाटोमा मुलुक अग्रसर भयो । तर यत्रो ठूलो परिवर्तन पछि पनि देशको राजनीतिमा कुर्सीमुखी संकीर्ण राजनीतिले उसैगरी प्रश्रय र प्रोत्साहन पाउन छाडेन । फलतः सात सालपछि र छयालिस साल पछिकै जस्तो सत्ता–कुर्सीको खेल राजनीतिको केन्द्रमा हाबी रह्यो र यसरी पहिलो संबिधान सभा असफल हुन पुग्यो । त्यसपछि फेरि तिनै असफल भएका दलहरु नै बिवादास्पद र सन्देहास्पद निर्वाचनका माध्यमबाट दोश्रो संविधान सभामा पुगे र  सत्ताको रडाको उसैगरी मच्चाउन छाडेनन् । उनीहरुले भागबण्डालाई नै राष्ट्रिय सहमति माने । राष्ट्रका जल्दाबल्दा गम्भीर समस्या समाधान गर्न सरोकारवाला सबै शक्ति, समूह, दल र समुदायसँगको ब्यापक राष्ट्रिय एकतालाई लत्याउने काम गरेर संकीर्ण घेराभित्रबाट जसैतसै संविधानको एउटा पोथा २०७२ असोज ३ गते जारी गरे । त्यसले एकातिर देशभित्रै ब्यापक असन्तुष्टी उत्पन्न ग¥यो भने अर्कोतिर देशी बिदेशी प्रतिगामी र प्रतिकृयावादी शक्तिले फेरि पनि नेपाली जनता  र राष्ट्रका बिरुद्ध खेल्ने ठाउँ पायो । आज हामी यसै पछिल्लो स्थितिबाट गुज्रिरहेका छौं ।

यो इतिहासले एकदमै प्रष्ट पार्दछ कि गन्तब्य स्पष्ट नहुँदा तथा  देश र जनताको हितमा राजनीतिलाई आदर्श, सिद्धान्त, निष्ठा र नैतिकताका आधारमा समर्पित गराउने उज्जल क्रान्तिकारी परम्परा कायम नगरिदा र निरन्तरता नदिइदा एक वा अर्को किसिमले पुरानै गलत र भ्रष्ट मान्यताहरुलाई नै अँगाल्ने प्रबृत्ति हावी हुन्छ । २०६२÷६३ सालको ठूलो राजनीतिक परिवर्तन पछि पनि जुन स्थिति हाम्रो देशमा देखाप¥यो र अहिले पनि परिरहेको छ यसले त्यही पथ बिचलित हुदै आएको गलत परम्परालाई नै एक वा अर्को किसिमले अँगाल्दै आएको प्रष्ट देखिन्छ । त्यसले गर्दा जनताले केवल पात्र फेरिएको तर प्रबृत्ति नफेरिएको यथार्थलाई अनुभूत गरिरहुन परेको छ । राष्ट्र, राष्ट्रियताका गम्भीर समस्याका साथै कहालीलाग्दो भ्रष्टाचार असुरक्षा र अनिश्चित भबिष्यको स्थितिबाट आज देश गुज्रिनुपरिरहको छ । सत्तामा पुरानै नबसामन्ती तथा दलाल नोकरशाही पूँजीवादी शक्तिको हालीमुहाली छ । त्यसले जनताका आधारभूत परिवर्तनका आकांक्षालाई कदापि पूरा हुन दिदैन । आज २००७ सालको क्रान्तिको सम्झना गरिरहँदा यो कटु वास्तविकतालाई आत्मसात गरिनु अत्यावश्यक छ ।

यस प्रकार बाहिरी बाहिरी रुपमा सिंगारिएको जस्तो ‘कस्मेटिक’ सुधार गरेर अब मुलुक अगाडि बढ्न र खडा भएका ज्वलन्त समस्या हल गर्न सक्तैन भन्ने कुरा एकदमै प्रष्ट भएको छ । त्यसैले अब देशका सच्चा लोकतान्त्रिक, बामपन्थी र कक्रान्तिकारी कम्युनिष्ट शक्तिहरुले आर्थिक सामाजिक रुपान्तरण सहीतको प्रष्ट खाकाकासाथ नयाँ बैकल्पिक शक्ति निर्माणको बाटो नहिडी सुख छैन । सत्ताको सेरोफेरोमा नाच्ने गाउनेहरु अब प्रतिगमन र ययास्थितिबादको मात्र पर्याय बनेको हामी देखिरहेका छौं  । जनताको  अग्रगामी परिवर्तनको आकांक्षा, जन आन्दोलनको जनादेश र मर्मलाई आत्मसात गर्ने सर्थक संविधान ती शक्तिहरुले दिन नसकेको आजको कटु वास्तविकता हो । त्यसले गर्दा यथास्थितिमा सही दिशामा  देश अघि बढ्ला भन्ने कुरामा बिश्वास गर्र्ने कुनै आधार छैन । सात सालको क्रान्तिदेखि अहिलेसम्मका राजनीति परिवर्तनपछिको स्थितिलाई र्हेदा र केलाउदा यही कटु वास्तविकता नै र्छलङ्ग देखा पर्दछ । सबै परिवर्तनकामी शक्तिहरुले गम्भीर, गहन र बस्तुगतरुपमा देश र जनताको अबस्थाको समीक्षा गरेर जागौं र सही बाटो लागौं । यसरी मात्र फेरि पनि राष्ट्रिय स्वाधीनता, शान्ति र समृद्धिको सही दिशामा देशलाई हिडाउन र अघि बढाउन सकिने सार्थक स्थिति बन्छ अरु कुनै अग्रगामी बाटो र बिकल्प छैन । सात सालको सम्झना गरिरहँदा यो यथार्थलाई आत्मसात गरिनु पर्दछ ।


लोकप्रिय