हिमाली स्वच्छ हावा यो पहाडी मूलको पानी सधैँ चोखो सुधा जस्तो पिएकै हो मिठो मानी यिनै कान्ला करेसामा रमाई खेल्दथ्यौँ भैलो हरे के भो घरैपिच्छे नखुल्ने भो कुनै दैलो।१।
युवा हाम्रा हिँडे जम्मै विदेशी भूमिमा आज धरा आफ्नो बन्यो खोक्रो हरायो अस्मिता ताज अझै अस्तित्वमा शङ्का छ के होला गुमे माटो हडप्ने बाज छन् हेर्दै निसानाको गरो आँठो।२।
अनेपाली हुँदै जालान् सबै सन्तान ती हाम्रा हुने हुन् लोप बिस्तारै सबै संस्कार ती राम्रा त्यसैले मित्र हो आफ्नो धरा बिर्से जरा सुक्छ नजाऔँ है कतै टाढा उजाडी देश यो दुख्छ।३।
तिनै हुन् पाखुरा हाम्रा जता लायो उतै लाग्छन् गरे उद्योग नेपाली विदेशी झैँ यहीँ जाग्छन् फुटेका हातका ठेला बगेका स्वेदका धारा विदेशी भूमिमा को छन् दया गर्ने कठै प्यारा।४।
युवा आऊ यता आफ्नै धराले काँचुली फेर्छ मरे बाँचे त्यहाँ तिम्रो छ को आफन्त को हेर्छ पुरानो धर्मशाला झैँ हुने भो देशको काया घुमेका छन् यहाँ बैरी कुनै दायाँ कुनै बायाँ।५।
बुढापाकाहरू रुन्छन् यहीँको सम्झिँदै माटो बसेको छैन योद्धाको पुरानो घाउको खाटो भइन् बेवारिसे आमा सहाराहीन भै आज अनेपालीहरू गर्छन् यहाँ नेपालमा राज।६।
================================ (शीर्षक सापटी--मेची महाकाली साहित्य मञ्च)