Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

श्रीपञ्चमी र सरस्वती पूजा : सिर्जना र ज्ञानको मर्म


२०७७ फाल्गुन ३ गते , सोमवार प्रकाशित

uploads/media/




    बसन्त पञ्चमी या श्रीपञ्चमी नेपाल, भारत, पश्चिमोत्तर बंगलादेश लगायत बिभिन्न देशहरुमा मनाइने एउटा पारम्परिक साँस्कृतिक पर्व हो । प्राचीन समयदेखि नै नेपाल र भारतमा पूरै साललाई ६ ऋतुमा बिभाजन गरेर हेर्ने चलन रहेको छ । त्यसमा बसन्त ऋतुलाई सबै ऋतुहरुभन्दा उत्तम मानिदै आएको छ । यतिबेला खेतबारीमा तोरी फुलेर पहेलै हुन्छ भने गहु बाली पनि पाक्ने बेला हुन्छ । आँपका बोटहरुमा पनि फूल पुल्न थाल्छ भने चारैतिर रंगीबिरंगी पुतलीहरु नाचिरहेका हुन्छन् । कोइली चरीले पनि कुहुकुहु लगाइरहेको हुन्छ । वातावरण निकै रमाइलो र उत्साहजनक बनिरहेको हुन्छ । यतिबेलै हलोको पूजा गर्ने मकै बाली लगाउन शुभारम्भ गर्ने चलन पनि रहँदै आएको छ ।


पौराणिक कथा अनुसार सृष्टिको प्रारम्भिक कालमा भगवान बिष्णुको आज्ञाले ब्रह्माले जीव जगत खाशगरी मानिस योनीको रचना गरे । आफ्नो यो सिर्जनासँग उनी सन्तुष्ट थिएनन् । कतै न कतै कमी रहेको महसुश गरिरहेका थिए । यसरी चारैतिर मौनता छाएको बेला बिष्णुको आज्ञा लिएर ब्रह्माले आफ्नो कमण्डलुको जल चारैतिर र्छिर्कने काम गरे। पृथ्वीमा जल पर्ने बित्तिकै त्यसमा कम्पन उत्पन्न भयो । त्यसै क्रममा बृक्षहरुका बीचमा एउटा अद्भूत शक्तिको अभ्युदय भयो । त्यो शक्ति चतुर्भुजी सुन्दर नारीकोरुपमा प्रकटीकरण भएको थियो । जसको एक हातमा बिणा र अर्को हात बर मुद्रामा रहेको थियो । अरु दुइ हातमा पुस्तक र माला थिए । ब्रह्माले देवीसँग बिणा बजाउन अनुरोध गरे । जब देबीले बिणाको मधुर झन्कार निकालिन् त्यस निनादबाट संसारका सबै जीव जन्तुले बाणी पाए । जलधारमा पनि कलकलको आवाज उत्पन्न भयो । हावा पनि सर्सर चल्न थाल्यो । त्यसबेला देखिनै ब्रह्माले ती बाणीकी देवीलाई सरस्वती भन्ने संज्ञा दिए । सरस्वतीलाई बागेश्वरी, भारती, शारदा, बिणाबादिनी, हंसवाहिनी, जगत्माता, चन्द्रघण्टा, भुवनेश्वरी, कौमारी, बरदायिनी, ब्रह्मचारिणी र बाग्देवी आदि बिभिन्न नामले चिनिन्छ । उनलाई बिद्या र बुद्धी दाताको रुपमा पूजा अर्चना गरिन्छ । संगीत उत्पत्तिकी देवी मानेर पनि पूजा गरिन्छ । बसन्त पञ्चमी कै दिन सरस्वतीको जन्म जयन्ति मनाइन्छ ।


     प्राचीन ऋग्बेदमा सरस्वतीको बर्णन गर्दै भनिएको छ ( ’प्रणो देवी सरस्वती बाजेभिबर्जिनीवती धीनामणित्रयबतु’ अर्थात यो परम चेतना हो । सरस्वतीको रुपमा यी हाम्रो बुद्धि, प्रज्ञा तथा मनोबृत्तिहरुको संरक्षिका हुन् । हामीमा जुन आचार र मेधा छ त्यसको आधार सरस्वती नै हुन् । यिनको स्वरुप तथा बैभव अद्भूत छ । पुराणमा भनिए अनुसार श्रीकृष्णले सरस्वतीसँग खुशी भएर उनलाई बरदान दिएको थियो कि बसन्त पञ्चमीका दिन उनको पूजा आरधान गरिनेछ । त्यतिबेलैदेखि यो क्रम अहिलेसम्म पनि जारी रहेको किम्बदन्ती छ । यसै दिनदेखि चंगा उडाउने क्रम पनि चीनमा शुरु भयो र त्यो चलन कोरिया, जापान हुदै दक्षिण एशियामा पनि प्रवेश ग¥यो ।


     बसन्तु ऋतु आउने बित्तिकै प्रकृतिको कण कण जागृत भएको अनुभूति हुन्छ । मनिसको त कुरै के बसन्त ऋतुको बेला पशु पंक्षीहरुमा पनि उल्लास भरिएको देखिन्छ । प्रत्येक दिन नयाँ उमंग लिएर सूर्योदय भएको भान हुन्छ र त्यसले नयाँ चेतना प्रदान गरेर जाने र आउने गरेको जस्तो लाग्दछ । यही महिनाको माघ शुक्ल पञ्चमी अर्थात बसन्त पञ्चमीका दिन बढी ज्ञानबान हुनका लागि सरस्वतीको प्रार्थना र पूजा अर्चना गरिन्छ । शिक्षक, प्राध्यापक, रचनाकाररु सबैले र खाशगरी कलाकारहरुले पनि आफ्ना बाजागाजालाई सरस्वतीकै बरदान मानेर पुज्ने गर्दछन् । गायन, नृत्य,नाटक मञ्चन सबैको प्रारम्भ यस दिनबाट गर्ने प्रचलन छ । अन्य पर्वोत्सवका कारणले समेत माघको पूरा महिना नै उत्साहदायक महिना मानिन्छ ।


    वास्तवमा ज्ञान बिज्ञानको चरमोत्कर्षतिर लम्किरहेको आजको बिश्वमा सरस्वतीको पूजा अचर्ना गर्नुको अर्थ हुन्छ संसारलाई अझ सुन्दर, शान्त, समुन्नत र सुसँस्कृत तुल्याउन सबै किमिसले अग्रसर हुनु र राजनीतिक, आर्थिक, समाजिक तथा साँस्कृतिक किसिमले असुन्दर पक्षलाई ज्ञान, चेतना र कर्मले मेटाउन अग्रसर हुनु हो । यो केवल सिर्जना र ज्ञानको आरम्भका लागि मात्र होइन तिनलाई अझ गहिराईसम्म पु¥याउने र त्यसको मर्म र उदेश्यलाई आत्मसात गर्ने तथा प्रकृति–मैत्री बिकास र प्रगतिको बाटो पक्रिने कुरा हो । बसन्त पञ्चमी र सरस्वती पूजाले यो दिशामा लाग्न सबैलाई प्रेरणा देओस् !


लोकप्रिय