Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

सहकारीमार्फत विविध परियोजना: सदस्यको उत्थानदेखि राष्ट्रिय अर्थतन्त्रमा योगदान


२०७७ माघ २० गते , मंगलवार प्रकाशित

uploads/media/
  • माधव कुमार खड्का, झापा


सहकारीहरुलाई बचत ऋणको कारोबारमा मात्रै केन्द्रित भएको आरोप लागिरहेको बेला मोफसलमा रहेका कतिपय सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा उदाहरणीय काम गरेका छन् । 

नयाँ सहकारी ऐन २०७४ ले बहुउद्देश्यीय प्रकृतिका संस्थाहरुलाई कुल कारोबारको ७० प्रतिशत व्यवसायमूलक क्षेत्रमा लगानी गर्न बाध्यकारी बनाएको छ भने बचत तथा ऋण सहकारी संस्थालाई व्यवसायमूलक क्षेत्र लगानी गर्न बन्देज गरेको छ । 

ऐनले बहुउद्देश्यीय संस्थाहरुलाई विविध क्षेत्रमा लगानीका लागि बाध्यकारी बनाएपनि मुलुकका कतिपय कानुनहरु भने सहकारी संस्थालाई व्यवसायमूलक क्षेत्रमा जानका लागि बाधक बनेका छन् । ऐनको यो विरोधाभाषपूर्ण अवस्थाकाबीच कतिपय सहकारीहरुले जोखिम मोलेरै भएपनि विभिन्न परियोजना सञ्चालन गरिरहेका छन् ।

बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई ऐनले बहुआयामिक उद्देश्यमा लगानीका लागि बाटो खोलेको भएपनि बचत तथा ऋण सहकारी संस्थालाई त्यस्ता क्षेत्रमा प्रत्यक्ष लगानी गर्नका लागि ढोका बन्द गरिदिएको छ । बचत ऋणको कारोबार गर्ने प्रारम्भिक संस्थाले चाहेर पनि विभिन्न उद्यम र व्यवसायमा प्रत्यक्ष लगानी गर्न नपाएको गुनासो सहकारीकर्मीहरुले गरेका छन् । सहकारी क्षेत्रको पूँजीलाई परियोजनाहरुमा लगाउनका लागि ४७ भन्दा बढि कानुनी व्यवस्था बाधक रहेको औंल्याइएको छ । 

सहकारी ऐनलाई टेकेर मात्रै व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छैन । तर  सम्बन्धित ऐन नियम सहकारीमैत्री नहुँदानहुँदै पनि कतिपय सहकारी संस्थाहरुले आफ्नो श्रोत र साधनले भ्याएसम्म विभिन्न परियोजनामा लगानी गरी सदस्य, समुदाय र मुलुककै अर्थतन्त्रलाई सबल बनाउन लागिपरेका छन् ।  

झापाको मेचीनगर नगरपालिका, काँकडभिट्टामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था(एनएमसी)ले विभिन्न परियोजनामा लगानी गरेको छ । संस्थाले २०७२ सालबाट डेरी उद्योग सञ्चालनमा ल्याएको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद उप्रेतीले बताए । संस्थाले हाल दैनिक १२ देखि १५ हजार लिटर दुध संकलन गरी एनएमसी ब्राण्डको नाममा विभिन्न प्रकारका दुग्धजन्य वस्तु उत्पादन गरी विक्रीवितरण गर्दै आएको उनले जानकारी दिए । उक्त परियोजनामा ४ हजार कृषक सदस्य आवद्ध भएको उनले बताए । संस्थाको उत्पादन डिडिसीको भन्दा कम गुणस्तरीय नरहेको उनले दावी गरे । त्यसैगरी संस्थाले ११ करोड भन्दा बढिको लगानीमा दुवागढीमा १६ बिगाह जमीनमा एकिकृत नमूना कृषि फार्म, झापा जिल्लाका विभिन्न स्थानमा ९ वटा सहकारी पसल, डेढ करोडको लगानीमा सुरेन्द्र नगरमा चिया उद्योग जस्ता परियोजना सञ्चालन गरेको छ । 


संस्थाले शुरु गरेको सुपथ मूल्य पसलले बजार मूल्य नियन्त्रणमा सहयोग पु¥याएको र केहि समयभित्रै थप १५ वटा सहकारी पसल शुरु गर्ने योजना रहेको उप्रेतीले जनाए । संस्थाले आगामी पाँच वर्षभित्रमा २० वटा भन्दा बढि परियोजना सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । संस्थाले सञ्चालन गरेका परियोजनाबाट ७ सय ७६ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । 

सहकारी ऐन २०७४ ले ७० र ३० को सिलिङ लगाइदिएको भन्दै उनले ७० प्रतिशत रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सम्भव नभएको बताए । संस्थाको प्राथमिक पूँजी कोषको निश्चित प्रतिशत लगानी गर्ने र एउटा व्यवसायमा ५० प्रतिशतभन्दा बढि लगानी गर्न नपाउने व्यवस्था गरे बहुउद्देश्यीय संस्थाहरुलाई सहज हुने उनको धारणा छ । 

संस्थाले बचतऋणको कारोबारलाई कम गर्दै बहुआयामिक उद्देश्यलाई वृद्धि गर्दै लैजाने जनाएको छ । संस्थाले एनएमसी ब्राण्डको नाममा सबै परियोजनाहरु अगाडि बढाएको छ । 

त्यसैगरी झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसका प्रमुख कार्यकारी महेन्द्र कुमार गिरी सहकारी ऐनले बचत ऋण सहकारीलाई प्रत्यक्ष रुपमा परियोजनामा लगानी गर्न बन्देज लगाएको बताउँछन् । ऐनले विविध परियोजनामा लगानी गर्नका लागि बाटो खोलिदिए आफूहरुले धेरैवटा परियोजना सञ्चालन गर्न सक्ने सामथ्र्य राख्ने उनले बताए । 

तर पनि संस्थाले कृषि परियोजना र शिक्षा क्षेत्रमा लगानी गरेको उनले जनाए । संस्थाले कार्यक्षेत्रभित्र वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउने तथा लघु साना तथा मझौला कृषकहरुलाई कृषि मुल्य श्रृंखलाका माध्यमबाट जोड्न बचत ऋण कार्यक्रममार्फत वित्तीय पहुँच अभिवृद्धि गरी कृषि व्यवसायमा दिगोपन ल्याउन लागि परेको जानकारी दिए । 

विशेषगरी कृषिजन्य वस्तु उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि सदस्यहरुबीच सहकार्यको थालनी गरिएको, प्राविधिक जनशक्तिमार्फत कृषिसम्बन्धी प्राविधिक सेवा उपलब्ध गराउँदै आएको र सदस्यहरुमा व्यवसायिक सीप तथा क्षमता विकास गरी उत्पादन बढाउने रणनीति आफूहरुको रहेको गिरीले जनाए । 

संस्थाले कृषि तथा पशु व्यवसाय प्रवद्र्धन योजना अन्तर्गत कोसेली घर, टनेल भिलेज निर्माण, कृषि मुल्यश्रृंखला कार्यक्रम, मौरी उद्योग, कृषि श्रोत केन्द्र निर्माण र कृषि आय आर्जन कार्यक्रम जस्ता केहि परियोजना सञ्चालन गरिरहेको छ भने केहिका लागि तयारी गरिरहेको छ । 

त्यसैगरी सुनसरीको बराह क्षेत्र नगरपालिकामा रहेको चतरा बहुउद्देश्यीय सहकारी संस्थाले पशुपालन परियोजनामा लगानी गरेको छ । संस्थाका व्यवस्थापक राजाराम खत्रीका संस्थाले कृषि परियोजनामा करिब ३ करोड लगानी गरेको बताउँछन् । संस्थाकै लगानी १५० वटा गाईसहितको फार्म सञ्चालन गरिएको छ । त्यहाँबाट दैनिक १२ सय लिटर दुध उत्पादन हुने गरेको खत्रीले जानकारी दिए । 


त्यसैगरी संस्थाले सदस्यहरुले उत्पादन गरेको दूध डिपोहरुमार्फत संकलन गरी विक्री वितरण गर्दै आएको छ । संस्थाले विभिन्न प्रकारका मिठाइ र दूधका परिकार बनाउने मेशिन जडान गरी उत्पादन शुरु गर्ने तयारी गरेको छ भने बेसार उद्योग पनि निकट भविष्यमा नै सञ्चालनमा ल्याउने जनाएको छ । 

संस्थाले सदस्यहरुलाई उद्यमी बनाउन आफ्नै गोठबाट उत्पादन भएको गाई उपलब्ध गराउने र गाईको बाछी खरिद गर्न नसक्ने सदस्यहरुलाई जमानीमा गाई उपलब्ध गराई पछि दूधबाटै संस्थाको ऋण चुक्ता गर्दै जान सक्नेसम्मको व्यवस्था मिलाएको छ ।

झापाको गौरादहमा रहको महारानीझोडा कृषि सहकारी संस्थाले चक्लाबन्दी तथा सहकारी खेती सञ्चालनमा ल्याएको छ । संस्थाले सहकारीका माध्यमबाट सदस्यहरुसँग रहेको जमीनलाई सामुहिक प्रयोगमा ल्याई विगत ७ वर्षदेखि सहकारी खेती गरिरहेको सीइओ चिरञ्जीवी भण्डारीले जनाए । संस्थाले सोही नगरपालिकाको ४ र ७ नम्बर वडामा चक्लाबन्दी खेती शुरु गरेको छ ।


६४ कृषक परिवारको ८५ बिगाहा क्षेत्रफलमा उक्त खेती शुरु गरिएको भण्डारीले बताए । यसलाई क्रमशः वृद्धि गर्दै लैजाने संस्थाको योजना रहेको छ । त्यसैगरी संस्थाले सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्र, सहकारी पसल, दुग्ध संकलन केन्द्र, पशुधन सुरक्षण, एकिकृत कृषि भवन जस्ता परियोजनाहरु सञ्चालनमा ल्याई कृषि व्यवसायको प्रवद्र्धनमा लागिपरेको छ । संस्थाको मुख्य उद्देश्य कृषिमा व्यसायिकरण, आधुनिकीकरण र बजारीकरणमा सघाई सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउनु रहेको छ । 

ईलामको सूर्योदय नगरपालिकामा रहेको कन्याम चिया उत्पादक सहकारी संस्थाले त्यस क्षेत्रका चिया कृषकहरुलाई एकिकृत गरी चिया उद्योग सञ्चालनमा ल्याएको छ । १६३ जना कृषक सदस्यलाई समेटेर काम गर्दै आएको उक्त सहकारीले कारखाना निर्माण गरी मेशिनबाट सदस्यहरुद्वारा उत्पादित हरियो चियापत्ति प्रशोधन गर्दै आएको छ । शुरुवातमा कारखानाले दैनिक १००० केजी हरियो चियापत्ति प्रशोधन गर्ने गरेकोमा अहिले ४००० केजी प्रशोधन गर्दै आएको अध्यक्ष ख्यामराज प्रधानले जानकारी दिए । संस्थाबाट उत्पादित चिया स्वदेश तथा विदेशमा समेत खपत हुने गरेका छ । संस्थाले गत आ.व.मा १ लाख १० हजार केजी भन्दा बढि तयारी चिया निर्यात गरी ३ करोड ४८ लाख ४६ हजार बराबरको विदेशी मुद्रा आर्जन गरेको उनले बताए ।


त्यसैगरी झापाको दमक अवस्थित मेची सहकारीले पनि व्यवसायिक परियोजना अगाडि बढाएको छ । संस्थाले १ बिगाह १६ कठ्ठा क्षेत्रफलमा व्यवस्थित बस्ती विकास गरी सदस्यहरुलाई उपलब्ध गराउने संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए । पैसा नहुने सदस्यले पनि घरभाडा सरह मासिक किस्ताबन्दीमा घर खरिद गर्न सक्ने जानकारी उनले दिए । निम्न र मध्यम आय भएका सदस्यहरुको आफ्नै घर होस् भन्ने उद्देश्यका साथ यो परियोजना अगाडि बढाइएको उनको भनाई छ । “भाडामा बस्ने सदस्यको पनि आफ्नै घर होस् भन्ने संस्थाको चाहना हो, सोही अनुरुप १० धुर जग्गामा डेढ तल्ले घर बन्छ” उनले थपे “घरको मुल्य ४५ लाख राखिएको छ । ”

झापामा रहेको शिवासताक्षी मौरीपालन महिला सहकारी संस्थाले सदस्यहरुलाई समेटेर मौरीपालन व्यवसायमा लगाएको छ । संस्थामा आवद्ध ४६८ मध्ये ३२० जना सदस्य अहिले मौरीपालनमा लागेको संस्थाकी व्यस्थापक देवी दाहालले जानकारी दिइन् । 

२०६१/६२ सालबाट प्रतिसदस्य २ घार मौरीले शुरु गरिएको यो व्यवसायले अहिले ठूलो रुप लिएको उनले बताइन् । विपन्न र निम्न आय भएका महिलालाई समेटेर स्वरोजगार बनाउने उद्देश्यका साथ मौरी पालन व्यवसाय शुरु गरिएको उनले जनाइन् ।

संस्थाले प्रत्येक सदस्यलाई २ घार मौरी धरौटीमा दिने गरेको र दुई वर्ष पछि फिर्ता गर्नुपर्ने र त्यसपछि अर्को सदस्यलाई उपलब्ध गराउने गरेको छ । कोरोना महामारीभन्दा अघिको वर्षमा संस्थाले ६० टन मह उत्पादन गरी बेचविखन गरेको थियो भने महामारीका कारण मौरी चराउन चरणमा लैजान नसकेको र मौसमले समेत साथ नदिँदा ३० टन मात्र मह संकलन गर्न सकिएको अध्यक्ष दाहालले बताइन् । 

संस्थाले मौरीपालनका लागि लगानी गर्ने र सदस्यहरुबाट उत्पादित मह खरिद गरी प्रशोधन लेबलिङ र प्याकेजिङ गरी बजारमा ‘सताक्षी मह’ को नामबाट विक्री गर्दै आएको छ । 

ईलाम जिल्लाको सदरमुकाममा रहेको ईलाम दुग्ध उत्पादक सहकारी संस्थाले पनि सदस्यहरुबाट दूध संकलन गरी दूग्धजन्य परिकार उत्पादन गर्दै आएको छ । दूधबाट बनेका परिकारहरुमध्ये ललीपप, बम्बइसन, छुर्पी, घिउ, चीजले राम्रो बजार लिएको छ । 

प्रदेश नम्बर १ मा रहेका यी सहकारीहरुले बचत ऋणको मात्र कारोबार नगरी सदस्यको आर्थिकसामाजिक स्तर उकास्नुका साथै मुलुकको अर्थतन्त्रमा नै टेवा पुग्ने गरी काम गर्दै आएको देखिन्छ । राज्यको साथ सहयोग र सहकारीमैत्री ऐननियम भए अझै धेरै काम गर्न सकिने उनीहरुले बताए । 

लोकप्रिय