मार्क्सबादी साँस्कृतिक मोर्चा प्रतिगमन बिरुद्ध सडकमा पनि मोर्चाबद्ध
काठमाडौं। मार्क्सवादी सांस्कृतिक मोर्चाले हिजो राजनीतिक प्रतिगमका विरुद्ध प्रतिरोध सांस्कृतिक अभियानको आरम्भ गरेको छ। यस मोर्चाले माइतिघर मण्डलाबाट उक्त अभियान सुरु गरेको हो। ‘राजनीतिक प्रतिगमका विरुद्ध अग्रगमनका पक्षमा प्रतिरोध सांस्कृतिक अभियान’ नाम दिइएको उक्त अभियानमा लेखक, कवि, कलाकारको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भङ्ग गरी मध्यावधी निर्वाचनको घोषणा गरेपछि कवि, कलाकार र नागरिक समाज प्रतिगमनका विरुद्धमा सङ्घर्षमा छन्। यही मेलोमा भर्खरै गठन भएको ‘मार्क्सवादी सांस्कृतिक मोर्चा’ पनि सडकमा निस्किएको हो ।
केही दिन पहिले वैज्ञानिक समाजवादी यथार्थवाद र सांस्कृतिक क्रान्ति पक्षधर संस्कृतिकर्मीको साझा मञ्च ‘मार्क्सवादी सांस्कृतिक मोर्चा’ निर्माण गरिएको वक्तव्य सार्वजनिक भएको थियो । मण्डलाको विरोध कार्यक्रममा विमल निभा, भुपाल राई जगदीशचन्द्र भण्डारी, विष्णु भण्डारी, शकुन्तला जोशी, बलराम तिमिल्सिना, मित्रलाल पंज्ञानी, वसन्त वोगटी, कृष्णहरि भट्ट, महावीर विश्वकर्मा, राजु स्याङ्तान, गौरी दाहाल, सुनिता बुढाथोकी लगायतले कविता वाचन गरेका थिए।
कार्यक्रममा वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईंले मन्तव्य राखेका थिए। बोल्ने क्रममा उनले ‘संघीयता विरोधी, समानुपातिक प्रतिनिधित्व र गणतन्त्र विरोधी देशी विदेशी शक्तिहरूको साँठगाठको परणिाम आजको प्रतिगमन हो’ भन्ने कुरा औंल्याएका थिए ।
उनले अगाडि थपे, ‘यो धेरै गम्भीर विषय हो। जबसम्म शासकहरूको बिचमा साँठगाठ हुने, देशी विदेशी शक्तिहरूले देशलाई शोषण गर्ने र शासन गर्ने षड्यन्त्र गरिरहन्छ त्यतिखेरसम्म हामीले यी कुराहरू बारम्बार भोग्नुपर्ने स्थिति हुनसक्छ। त्यसकारण पनि हामी बहुमतले अल्पमतमाथि शासन गर्ने दिनहरू ल्याउन, जनगन्त्रणका दिनहरू ल्याउन सङ्घर्षमा जान, अग्रगमनमा पक्षमा रहन आवश्यक छ।’
संयोजक इस्मालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन कवि विष्णु भण्डारीले गरेका थिए। इस्मालीले मोर्चाको प्रेस वक्तव्य वाचन गरेका थिए। प्रेश वक्तव्यमा नेपाली समाजको आजको अन्तर्विरोध तथा नेपाली जनताले भोगिरहेका आजका समस्याको समाधान यस व्यवस्थाबाट हुन सक्दैन भनिएको छ।
वक्तव्यमा अगाडि भनिएको छ, ‘वर्तमान फासीवादी चरित्रको पुँजीवादी संसदीय व्यवस्थाको विकल्पका रूपमा सङ्घीय जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणबाट मात्र यो सम्भव छ।’
मोर्चाले राजनीतिक प्रतिगमनको विरोध गर्दै जनवादी(वैज्ञानिक समाजवादी विकल्प निर्माणको यात्रामा मोर्चावद्ध हुन प्रगतिशील, लोकतान्त्रिक र अग्रगमनका पक्षधर संस्कृतिकर्मीहरूलाई एकतवद्ध हुन आह्वान समेत गरेको छ।