Wednesday, 20 January, 2021    |    २०७७ माघ ७ गते , बुधवार

गीताबाट प्राप्त हुने के हो अमोघ ज्ञान ?


२०७७ पौष २९ गते , बुधवार प्रकाशित


 –लोकनारायण सुबेदी

भनिन्छ गीता बिश्वको बिद्वत समुदाय धेरैलाई थाहा छ र धेरै भाषाहरुमा यो अनुदित ग्रन्थ पनि हो  । अर्जुन नामका पात्रद्वारा सोधिएका महत्वपूर्ण प्रश्नहरुको कृष्ण नामका पात्रद्वारा दिइएका गम्भीर उत्तरहरुको एउटा महत्वपूर्ण संगालो हो – ‘गीता’ । अद्यापि यहाँ एउटा ठूलो प्रश्न के उठ्दै आएको छ भने त्यो गीता पाँच हजार साल पुरानो भनिन्छ, तर पनि मानिसहरुलाई नित्य नयाँ आजकै कुरा जस्तो किन लागिरहेको ? के भनिन्छ भने संसारमा एउटा मात्र यस्तो शायद अमोघ पुरानो ग्रन्थ देखिएको छ जसको सबैभन्दा बढी बिबेचना गरिएको छ । तर फेरि पनि गीतामा यस्ता धेरै ठाउँहरु छन् र त्यस्ता ठाउँहरु आउँदछन् जहाँ सर्सरी हेर्दा कुुनै अर्थ बोधसम्म पनि हुदैन । अनि यसको पनि समाधानको एउटा सरल उपाय छ । जो गीताको गहिराइमा जान चाहन्छ यदि उसले महाभारत पढेको रहेछ भने त उसलाई थाहा हुन्छ कि यो वास्तवमा एकले अर्कोलाई बुुझने बुुझाउने अन्तर सम्वाद जस्तो कुरा पो रहेछ । गीताका अनुुसार कृष्णको जीबन नै यस गीता शास्त्रको प्रधान टीकास्वरुप हो । गीतामा जुन शिक्षा छ तिनलाई कृष्णले आफ्नो आचरणमा प्रदर्शन गरेर बाचेका हुन् भनिदै आएकोछ । गीताको अध्ययन गर्नेहरुले कृष्णको जीवनको अनुसन्धान र पुनर्निर्माण अबश्य नै गर्नु पर्दछ नै । वास्तवमा मानव जीबनको कुरु क्षेत्रमा उदेश्य कसरी प्राप्त गर्न सकिन्छ यस बिषयको बिशेष समाधान गीताले गर्न मद्दत गर्दछ । 

वास्तवमा गीताको आरम्भ पनि अदभूूत किसिमको नै रहेको छ । दुुबै तर्फ युद्धका लागि तयारी गरिरहेको सेना खडा थियो । अर्जुनले कृष्णसँग आग्रह गरे कि ‘मेरो रथ सेनाका बिचमा लिएर हिड । म र्हेन के चाहन्छु भने को को मसँग युद्ध लड्न चाहँदा रहेछन’ । त्यतिबेलासम्म अर्जुन साहसले भरिएका थिए । उनलाई कुनै किसिमको मोेह र द्विविधा थिएन । रथ बीचमा पुुग्यो र अर्जुनले भीष्मादि अन्य आफ्ना मान्य र पूज्य आफन्त स्वजनहरुलाई देखे । अनि उनको मन धर्मरायो । मनको गति पनि बिचित्रको हुन्छ । एउटै समयमा अलग अलग भाव उठ्ने गर्दछन् मनमा । अर्जुनमा पनि त्यस्तै स्थिति उत्पन्न भएको थियो । आफन्तहरुलाई देखेर उनको मनमा मोह जागृत भयो । त्यस मोहका पछाडि प्रीति र पराजित हुने भीति या भय दुबै थियो । प्रीतिवाट मोह उत्पन्न हुन्छ र मोहवाट आउने दुर्वलताले मानिसलाई सत्य तथा कर्तव्य पथवाट भ्रष्ट गरिदिन्छ । युद्धभन्दा र्पूव जुन अर्जुन स्वार्थका लागि होइन सत्यका लागि खडा थिए, जुन अर्जुुन यो कुरा जान्दथे कि यदि युद्ध गरिएन भने अन्याय, अबिचार र अधर्मको समर्थन हुन जानेछ । तिनै अर्जुनलाई कुरुक्षेत्रमा मोहग्रस्त भएको देखेर कृष्णले कुरा बुझे । अर्जुनले भयलाई लुकाइरहेका छन् र जीवनको उदेश्यलाई भुुलिरहेका छन् । अर्जुनले के बुझिरहेका थिए भने युद्ध उनी अफ्ना हितको निम्ति लड्न गइरहेका छन् । वास्तवमा अर्जुनले बिर्सिसकेका थिए कि उनी त युद्ध सत्यका लागि, अरुहरुमाथि भएका अत्याचारको प्रतिकारका लागि, कर्तव्य पालनका लागि लड्न गइरहेका थिए । अर्जुको यस्तो असमञ्जसको स्थिति देखेर कृष्णले अर्जुनलाई पहिलो दुइटा श्लोकको बिशेष दीक्षा दिएका थिए । 


ती श्लोकहरुको सारतत्व के थियो भने ‘जुन कुराले मोह उत्पन्न हुन्छ, दुर्वला आउदछ त्यही नै महापाप हो’ । कृष्णले भनेका छन् ः अशोच्यानन्व शोचस्त्वं प्रज्ञावादांश्च भाषसे’ अर्थात् ‘‘तिमी पण्डितले जस्तै कुराकानी गर्दछौ तर पण्डितले जुन कुराको लागि शोक गर्ने गर्दैनन् तिमी त्यसैका लागि शोक गरिरहेका छौ्र’ । यो कुरा सुनेर अर्जुनका हृदयमा निकै चोट पुग्यो र गीताको उपदेश पनि आरम्भ भयो । कृष्णले यी शब्दमा समाजलाई दुइटा महत्वपूर्ण संकेत दिएका छन । पहिलो, मन मस्तिष्कमा कुनै पनि प्रकारको दुर्वलतालाई आउन दिइनुु हुदैन । आउन दिइयो भने उदेश्य सफल हुन एकदमै कठिन हुन्छ । दोश्रो, मन र वाणीलाई एक राख्नु पर्दछ । अर्थात बोली र ब्यवहारमा भिन्नता हुनुहुँदैन । अर्जुन र कृष्णका बीच यंो जुन सम्वाद गीता मार्फत भयो आजको परिप्रेक्षबाट र्हेदा त्यतिबेला त्यो संसारको सर्वश्रेष्ठ ‘अन्तर सञ्चार’ अर्थात ’इनर कम्युनिकेशन’ या ’साइकिक कम्युनिकेशन’ यो थियो भन्न सकिन्छ । गीताको सारलाई बुझनका लागि सवैभन्दा उपयोगी चरित्र हो गीताको केन्द्रिय पात्र ‘स्थित प्रज्ञ’ । यो गीताको आदर्श पुरुष बिशेष हो । जसको चर्चा गीताको दोश्रो अध्यायको अन्तिमका अठार श्लोकहरुमा गरिएको छ । ‘स्थितप्रज्ञ’ गीताको आफ्नै एकदमै मौलिक शब्द हो । गीता र्पूवका ग्रन्थहरुमा साहित्यमा यसको कतै कुनै चर्चा छैन, पाइदैन । तर गीता पछिको साहित्यमा यसको मजाले भरमार उल्लेख हुदै आएको छ । 


अरु पनि आदर्श पुुरुषहरु चर्चामा आएका छन् गीतामा । जस्तै सन्यासी, योगी पुरुष, जीवनमुक्त, योगारुढ, कर्मयोगी, भगवदभक्त, गुणातीत, ज्ञाननिष्ठ आदि । तर आध्यात्मिक जगतमा सर्वाधिक लोकप्रियता ‘स्थितप्रज्ञ’लाई नै प्राप्त भयो । वास्तवमा आजको युगको हाम्रो जीवन शैलीमा अग्रगामी सुधार र सही दिशाबोध गर्नका लागि यो ‘स्थितप्रज्ञ’ सवैभन्दा सशक्त र सुबिधाजनक चरित्र हो । रामचरित मानसका पात्र ‘हुनमान’ र गीताको यो चरित्र ‘स्थितप्रज्ञ’ समानरुपले सर्बगुणसम्पन्न भएर सर्वाधिक लोकप्रिय र स्वीकृत मानिएका छन् । दोश्रो अध्यायमा स्थितप्रज्ञको बर्णन गर्नुभन्दा पहिला कृष्ण जब कर्तब्य निश्चयको सन्दर्भमा ‘साँख्य बुद्धि’ र ‘योग बुद्धि’को चर्चा गरिरहेका थिए त्यसवेला अर्जुनको मनमा एकपछि अर्को प्रश्नहरु उठ्न थाले । अनि कृष्णका शब्दहरुलाई नै पक्रेर उनले प्रश्न गर्नथाले ‘यो स्थितप्रज्ञ के हुन्छ र कस्तो हुन्छ’ – ‘स्थितप्रज्ञस्य का भाषा समाधिस्थस्य केशव । स्थितिधीः किम प्रभाषेत किमासेत ब्रजेत किम’ ( अर्थात स्थितप्रज्ञका लक्षण के के हुन् ( त्यो कसरी बोल्दछ या बोलिन्छ, कसरी रहन्छ, कसरी घुमफिर गर्दछ आदि सबै मलाई बताइदिनुहोस् । तिनै प्रश्नहरुको उत्तरमा कृष्णले गीतामा स्थितप्रज्ञको बर्णन गरेका छन् ।
 

स्थितप्रज्ञको सोझो अर्थ हुुन्छ कि जसको प्रज्ञा स्थिर भइसकेको छ । जब बुद्धि बिकार रहीत हुनजान्छ तव त्यो स्थिर हुन्छ । ‘स्थित’ को अर्थ हो सिधा अटल भएर उभिन्छ, डगमगाउदैन, त्यसमा कुनै किसिमको कम्पन हुदैन । बुद्धिमा अलिकति पनि कम्पन डगमगाहट, हिच्किचाहट, झसक र अनिश्चय रहेको वा रहनुु हुदैन । त्यस बुद्धिले त्यतिवेला मात्रै काम दिन्छ र सही मानेमा त्यसलाई बुद्धि पनि भन्न सकिन्छ । स्थित शव्दको अर्को अर्थ हो ’सरल’ अर्थात् अलिकति पनि बाङ्गोटिङ्गो या बक्रता नभएको वा त्यस्तो अबस्था नभएको हुनु पर्दछ । जुुन बुुद्धिमा मानसिक कल्पनाहरुकोे, बिकारहरुकोे, मन पराउने वा मन नपराउने कुराको वा यस्ता बिकृतिहरुको रङ्ग चढ्दैन जसले केवल ज्ञानको काम गर्दछ त्यहीनै ‘प्रज्ञा’ हो र प्रज्ञा बस्तुनिष्ठ कतै नलागेको यस अर्थमा तटस्थ हुने गर्दछ । स्थिर प्रज्ञावाट योग प्राप्त हुन्छ । के बुुझनुु पर्दछ भने प्रज्ञा भनेको सामान्य बुुद्धि होइन । तर यस्तो बुुद्धि हो जसको झुकाव केवल निर्णयतर्फहुने गर्दछ । अर्र्जुुुनले यसै प्रश्नमा समाधिका बारेमा पनि जान्न खोजेका थिए । कृष्णको उत्तरमा समाधिको अर्थ ध्यान समाधि होइन । उनको अर्थ हो चिन्ताको समाधानको स्थिति अर्थात् समाधि । स्थितप्रज्ञ चरित्रको बिस्तारमा जीबनशैलीको लागि दिइएका संकेतहरुबाट हामीले आफ्ना समस्याहरुको समाधान प्राप्त गर्न सक्तछौ । यसैले गीताको मनन गर्नुपर्ने कुरा आएको हो । गीताको सार प्राप्त गर्नु छ भने स्थितप्रज्ञ चरित्रलाई अबश्य राम्रोसँग जान्नुु पर्दछ र त्यसलाई ब्यवहारमा उतार्नु पर्दछ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif