–इन्द्रनारायण सुबेदी
गर्दै स्थापित मान्यता रहरका आकाश चुम्नेहरू
हामी स्वर्ग बनाउछौँ मुलुक यो सम्झेर घुम्नेहरू
आगो सल्किरहेछ आज घरमा बल्दै गयो दन्दन
छौ कोही दरबारमा सडकमा देखाउँदै क्रन्दन।१।
सिङ्गै देश र मानचित्र यसको बन्दैछ बिस्थापित
सोझा सज्जन देशभक्त जहिल्यै पारेर आतङ्कित
आफ्नो तुच्छ अभीष्ट खातिर मिठो बोल्नेहरू हो सुन
आफ्नै दुस्मनका निमित्त अखडा खोल्नेहरू हो सुन।२।
नेपालै नरहे रहन्छ अब के गर्छौ कहाँ शासन
भत्काएर उखेलिँदैछ जब यो सत्ता र सिंहासन
टेकौला कुन ठाउँमा र कसरी स्वाधीन बन्छौ अब
सस्तो माल बनी बिकेपछि अझै खोज्छौ कहाँ गौरव।३।
सिङ्गो देश छियाछिया दलहरू आफैँ बन्यौ खण्डित
ब्यर्थैमा जनता विना कसुरमा बन्दै गए दण्डित
जिम्मेवार हुने महामहिमको सप्रन्छ कैले मति
छैनन् न्याय निसाफ झन् पहुँचमा बढ्दै छ यो दुर्गति।४।
खोटो चित्त विवेकहीन मनका षड्यन्त्रका नायक
सत्ताका धमिरा कठोर दिलका जल्लाद नालायक
बेपर्वाह लुटेर देश दुनियाँ आगो लगायौ घर
यो भन्दा अझ नीचता भुवनमा अर्को कहाँ के छ र।५।
हुन् यी नाटक अर्थहीन झगडा जुट्ने र फुट्ने कुरा
यौटै अर्जुन दृष्टि यो मुलुकको सर्वस्व लुट्ने कुरा
भित्रै मात्र छ चाहना हृदयमा फिर्दैन कैल्यै मति
यस्ता ताण्डव नृत्यले मुलुकमा खै हुन्छ के उन्नति।६।
के भन्छौ अब फेरि गाउँघरमा मागेर हिँड्छौ मत
छन् आक्रान्त अधैर्य आज जनता देखेर तिम्रो खत
यो अक्षम्य कठोर घात ननिको बोकेर छाती भरी
सोझो उत्तरका निमित्त तिनले कुर्छन् तयारी गरी।७।
बन्ने छाँट रहेन यो मुलुकको सौभाग्य यो चालले
यस्ता निर्मम लूटपाट जहिल्यै थेग्दैन नेपालले
मान्छेको अनुहार मात्र छ सधैँ छौ कर्मले दानव
मेटिन्नन् इतिहासका कलुषता धोएर कैल्यै अब।८।
द्यौता हुन्न कदापि राक्षस कुनै मारेर मान्छेहरू
आफैँ घोषित देवतुल्य बलले सत्ता चढेकाहरू
तिम्रा कर्तुतको पहाड बनियो दुष्कर्मको खाडल
छन् दुर्गन्धित चेत चिन्तनहरू सिद्धान्त थोत्रा ढल।९।
=================================
२०७७ पुस १८ इलाम