Wednesday, 20 January, 2021    |    २०७७ माघ ७ गते , बुधवार

नेपालमा संसदीय लोकतन्त्रले निकास दिन सक्दैन


२०७७ पौष २० गते , सोमवार प्रकाशित

प्रधानमन्त्री केपी ओलीले संसद्मा बहुमत छँदा–छदै पनि संसद् विघटन गरेको तथा डबल नेकपाले समाजवाद स्थापना गर्ने भनेपनि स्थापना भएको दुईतिहाई बहुमतको सरकारले बुर्जुवाबादी लोकतन्त्रको कार्यशैलीबाट शासन सञ्चालन गर्न थालेपछि २ वर्षमा नै असफल भएकोले नेपालमा संसदीय लोकतन्त्रले मुलुकलाई अस्थिर बनाउन र जनताको जन–जीवनलाई रुपान्तरण गर्न सक्छ भन्ने विषय असफल भएको छ । नेपालको अहिले सत्तामा साझेदार नभएको बाहेक बाहिर रहेको चारवटा कम्युनिष्ट पार्टीहरुले नेपालमा नयाँ जनवादी गणतन्त्र स्थापनाको लागि आन्दोलन गर्ने निर्णय गरेको छन् । यसरी निर्णय गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, प्रतिबन्धित नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले रणनीतिक संयुक्त मोर्चा निर्माण गरी आन्दोलन सुरु गर्ने निर्णय गरेको छन् । यी चारै समूहहरुले पुँजीवादी संसदीय व्यवस्थालाई उन्मूलन गरी नयाँ खाले जनगणतन्त्र स्थापना गर्नका लागि अहिंसात्मक तथा हिंसात्मक आन्दोलन गर्ने निर्णय गरेको छन् । यो समूहले अहिले ओलीले गरेको संसद भंग गर्ने कार्यले गर्दा जनगणतन्त्र नेपालको लागि निर्विकल्प रहेको समेत ठहर गरेका छन् । चारै समूहले हस्ताक्षर गरी मोर्चाबन्दी गरी आन्दोलन सुरु गर्ने निर्णय गरेको छन् । 
लामो समयदेखि सरकारको राष्ट्रघाती एवं जनघाती कार्यको विरोध गर्दै राष्ट्र र जनताको पक्षमा संघर्षरत २२ राजनीतिक दलको कार्यगत एकताको संयुक्त संघर्ष विकसित हुने क्रममा चार समूहले रणनीतिक गठबन्धनगरी जनगणतन्त्रको आन्दोलनलाई तीव्रता दिने कार्यको थालनिलाई अर्थपूर्ण हेरिएको छ । यसले नेपालको राजनीतिलाई नै धुर्वीकृत गर्दै कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने कामले पनि तीव्रता पाउने अपेक्षा गरिएको छ । 

अमेरिकी संस्था एम.सी.सी सँग नेपाको विभिन्न सरकारद्वारा विभिन्न समयमा गरिएको राष्टघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्पियाधुरा, लिपुलेक, कालापनी, महेशपुर, सुस्ता आदि भूभागमाथि नेपाली स्वामित्व कायम गर्ने, कोभिड १९ को रोकथाम, नियन्त्रण,  निःशूल्क उपचार  बरोजगारी र विपन्न परिवारलाई खानालगायतको न्यूनतम सुविधा, रोजगारीको व्यवस्था, निःशूल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने आदि विषयको लागि संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरिएको छ । यो आन्दोलन गरी उत्रिएको हिजोको  माओवादीबाट बनेका तीन घटक र नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनवाद नै हो भन्ने उद्देश्य राखी संघर्ष गर्दै आइरहेको नेकपाले नेपालमा पुँजीवादी, संसदवादी परिवर्तनले नेपालको समस्या समाधान गर्न नसक्ने भएकाले समाजवादी जनगणतन्त्र स्थापना गर्ने सम्झौता गरेर सशस्त्र, निसशस्त्र संघर्ष अगाडि बढाउने निर्णय गरेकोले नेपालमा नयाँ राजनीतिक बामपन्थी ध्रुवीकरण प्रष्ट भएको देखिन्छ । माओवादीको एउटा पक्ष डबल नेकपा भएपछि विकसित स्थितिले गर्दा अब शान्तिपूर्ण र चुनावको माध्यमबाट हुने परिवर्तनले समाजवाद स्थापना गर्न र जनगणतन्त्र स्थापना गर्न सम्भव हुँदैन भन्ने पनि प्रष्ट भएको मानेर कम्युनिष्टहरुलाई मूल धारको रुपमा ल्याउनका लागि यी चारवटा पार्टीहरुले संयुक्त मोर्चा निर्माण गरेर कम्युनिष्ट आन्दोलनलाइृ नयाँ गति दिने प्रयास सुरु गरेको छन् । पहिला नै वैद्य माओवादी समूह तथा अन्य घटकहरुले सशस्त्र क्रान्त्रि गरी परिवर्तन गर्नुपर्छ भन्ने कुराले गर्दा तथा पुष्पकमल दाहालको धारबाट अलग भएपछि आ–आफ्नै तरिकाले समाजवादी आन्दोलन अघि बढाईरहेको अवस्थामा संयुक्त रुपमा क्रान्तिकारी आन्दोलन अघि बढाउने निर्णय गरेको देखिन्छ । यसले कम्युनिष्ट आन्दोलनले नयाँ क्रान्तिकारी स्वरुप ग्रहण गरी नेपालमा जनगणतन्त्रात्मक व्यवस्थाको स्थापना हुने तर्फ उन्मुख गरेको समेत देखिएको छ ।

यसमा इमान्दार कम्युनिष्टहरु सहितको संलग्नता विकसित भएर वैज्ञानिक समाजवादी आन्दोलनको दिशा लिने विश्वास गरिएको छ । वर्तमान समयसम्म कम्युनिष्ट परिवर्तन निर्वाचनबाट भएको देखिएको छैन, भएको समेत नाश भएर गएको छन् । भारतमा नै पनि निर्वाचनबाट पश्चिम बंगालमा २९ वर्षपछि कम्युनिष्ट पार्टीको सरकार पतन भई पुँजीवादी सरकार स्थापना भएको छ । प्रतिक्रान्तिकारी प्रतिगामी शक्तिहरको बर्चस्व कायम भएको छ । रुसमा मिखायल खुरुष्क्षेपको नवसंशोधनवादले सोभियत रुसको पतन भई कम्युनिष्ट आन्दोलनको समेत पतन भएको छ । खुरुष्क्षेपले शान्ति र विकास  तथा सह–अस्तित्वको नारा दिएका थिए । एमाले र माओवादी बीच एकता हुँदा एकता र समृद्धिको नारा लिएको थियो, जुन अहिले असफल भएको छ । यसले न त राष्ट्रवादलाई दृढताका साथ अघि बढाउन सकेको छ न त जनतन्त्रलाई विकास गरेको देखिन्छ । बरु जनताको समस्याहरु समेत सम्बोधन गर्न नसकी अन्त्यमा विभाजनमा पुगेको छ । यसैले गर्दा पनि अहिले कम्युनिष्ट आनदोलनलाई विकसित गर्नका लागि नयाँ सिद्धान्त र अवधारणाको आवश्यकता रहेकोले यसैको लागि चारवटा कम्युनिष्ट दलहरुले एकता कायम गरी जनगणतन्त्र नेपालको स्थापना गर्नका लागि सशक्त जनआन्दोलन र सशस्त्र आन्दोलनलाई अगाडि बढाउन नीति लिएका हुन् । नेकपा विप्लव माओवादी अहिलेपनि सशस्त्र युद्धको तयारीमा रहेको भए पनि जनसंघर्षको नीतिमा आएको देखिन्छ । उसले नेपालमो ३१ जिल्लाभन्दा बढीमा आफ्नो उपस्थिति बनाईसकेको छ र ७७ जिल्लाहरुमा नै आफ्नो प्रभाब बनाएको देखिन्छ । अहिले पूर्वी नेपालमा विप्लव शक्ति सक्रिय रहेको देखिन्छ ।

यस्तै, मोहन वैद्यले नेतृत्व गरेको माओवादी क्रान्तिकारीले समेत निर्वाचन उपयोगको नीति लिएकोमा यसलाई स्थतिग गरी जनसंघर्षको नीतिमा पुगेको छ । यसले देशब्यापी आन्दोलनहरु सञ्चालन गरी मुलुकमा आफ्नो प्रभाव बढाईरहेको देखिएको छ । ऋषि कटेल कम्युनिष्ट पार्टीले पनि निर्वाचन बहिष्कार गर्ने तथा देशव्यापी रुपमा आफ्नो संगठन बढाउने कार्य गरिरहेको अवस्थामा सशक्त जनसंघर्ष जनविद्रोह र जनयुद्धको माध्यमबाट जनगणतन्त्र नेपालको निर्माण गर्ने आफ्नो उद्देश्य सहित पार्टीहरुबीच एकता कायम गरेर संयुक्त रुपमा आन्दोलन बढाएकालाई महत्वको साथ हेरिएको छ र यसबाट स्खलित भएको कम्युनिष्ट आन्दोलने पुनर्गठन हुने तथा सच्चा कम्युनिष्टहरुको नेतृत्व गरी जनगणतन्त्र स्थापना गर्ने अभियानलाई अगाडि बढाउने विश्वास समेतलाई जगाएको देखिन्छ । यसबाट संशोधनवादी र छद्मबेसी कम्युनिष्टहरुको भण्डाफोर हुने समेत विश्वास गरिएको देखिन्छ ।

नेपालमा २००६ मा पाँचजना कामरेडहरुले स्थापना गरेको कम्युनिष्ट पार्टी विभिन्न उतार चढावमा गएको भएतापनि अहिले ७० वर्ष पुग्दा नेपालमा झन्नै ७० प्रतिशत जनताहरु कम्युनिष्टको पक्षधर रहेको छन् । यसलाई सही नीति र नेतृत्वको आभावले गर्दानै बारम्बार छिन्न–भिन्न हुने काम भएको छन् । पूर्वकोशी–मेचीमा २०२८ मा सशस्त्र किसान विद्रोह भएको तथा माओवादीको नेतृत्वमा दशवर्षीय जनयुद्ध समेत सम्पन्न भएको छ र यसैको आधारमा नेपालमा अहिले २ सय ५० वर्ष अघिदेखि रहेको राजतन्त्रको उन्मूलन भई गणतन्त्रको स्थापना भएको छ । तर, दश वर्षको जनयुद्धपछि विदेशीहरुको घुँसपैठले गर्दा संशस्त्र क्रान्तिलाई छाडेर शान्तिपूर्ण रुपमा अवतरण गरेपछि आएको विचलनले गर्दा कम्युनिष्ट आन्दोलन माथि नै ठूलो धक्का पुगेको अवस्था रहेको छ । यस अवस्थामा कम्युनिष्ट आन्दोलन सच्याएर कम्युनिष्ट क्रान्तिलाई सफल पार्न भईरहेको यस प्रयासलाई सम्पूर्ण न्यायप्रेमी देशभक्त र समाजवादी क्रान्तिमा विश्वास राख्नेहरुले चाँखपूर्ण रुपमा लिएका छन् । यो विकास गर्न लागेको आन्दोलन पनि खाली गफमा मात्र सीमित नहोस् र यसले मुर्त रुप लियोस् भनि सबै क्रान्तिकारीहरुले शुभकामना दिएको देखिन्छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif